नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि पाँचवर्षे पर्यटन बजारीकरण रणनीति बनाउने भएको छ । मूलतः धेरै खर्च गर्ने (हाई इन्ड) विदेशी पर्यटक नेपाल भित्र्याउन कुन बजारमा कसरी नेपालको पर्यटनको बजारीकरण गर्ने भन्ने विषयमा रणनीति केन्द्रित रहने बोर्डका अधिकारी बताउँछन् । समग्र रूपमा विदेशी पर्यटक बढाउन कस्ता ‘पर्यटन प्रडक्ट्स’ कसरी प्रचार प्रसार गर्ने भन्ने विषयमा उक्त रणनीतिमा उल्लेख हुनेछ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले ‘हाई इन्ड’ पर्यटक कसरी नेपालमा ल्याउने भन्ने मुख्य लक्ष्य रणनीतिले लिने बताए । ‘कुन कुन स्रोत बजारबाट यस्ता पर्यटक ल्याउन सकिन्छ भन्ने विषयलाई पनि वर्गीकरण गरेर रणनीति तय गरिनेछ,’ उनले भने ।
बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) नेपालको सहलगानीमा अहिले बोर्डमार्फत दिगो पर्यटन परियोजना कार्यक्रम सञ्चालन भइरहेको छ । यो रणनीति पनि युएनडिपीसँगको सहकार्यमा बनाउन लागिएको हो ।
बोर्डले पर्यटन क्षेत्रको प्रवर्द्धन, प्रचारप्रसार र बजारीकरणका विगतमा दशवर्षे समग्र रणनीति (२००५–२०१५) र (२०१६–२०२५) बनाएर कार्यान्वयन गरेको थियो । यसबाहेक बोर्डले वार्षिक नीति तथा कार्यक्रमअनुसार पर्यटन क्षेत्रको प्रचारप्रसार र बजारीकरणमा काम गर्दै आएको छ । अहिले बजारीकरणलाई मात्र लक्षित गरेर पाँचवर्षे रणनीति बनाउन लागिएको जोशीले बताए । ‘नेपालको पर्यटन क्षेत्र हिमाल मात्र नभएर अन्य धेरै छन्, स्रोत बजारमा पर्यटकको रुचि पनि बदलिएको छ, त्यसलाई लक्षित गरेर रणनीति बनाइन्छ,’ उनले भने । बोर्डले पर्यटन क्षेत्रको परिवर्तित प्रवृत्तिअनुसार लक्षित बजार तथा वर्ग पहिचान गरेर कार्यक्रम सञ्चालन, नयाँ नयाँ उपकरण र प्लेटफर्मको प्रयोग गर्ने योजनाअनुसार रणनीति बन्दैछ ।
परियोजनाले अपि, कञ्चनजंघा र मनास्लुलाई राष्ट्रिय ट्रेल मानेर पर्यटन क्षेत्रका अन्य विधामा पनि काम गर्दै आएको छ । बोर्डको मुख्य काम नेपालको पर्यटकीय क्षेत्रको वैश्विक प्रचारप्रसार गर्नु हो । यद्यपि बोर्डको आफ्नै बजारीकरण रणनीति भने बनाएको छैन ।
सरकारको १६औं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६)ले योजनाको अन्तिम वर्ष आर्थिक वर्ष २०८५/८६ मा नेपालमा २५ लाख पर्यटन भित्र्याउने लक्ष्य राखेको छ । उक्त योजनाले पर्यटकको औसत बसाइ १३ दशमलव १ दिनबाट १५ दिन र पर्यटकको प्रतिदिन खर्च ४० दशमलव ४ बाट ८५ अमेरिकी डलर पुग्ने लक्ष्य राखेको छ । १६औं योजनाअनुसार कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान २ दशमलव शून्य प्रतिशत छ भने यस क्षेत्रमा करीब २ लाख व्यक्ति प्रत्यक्ष रोजगार छन् । यद्यपि यो तथ्यांक वास्तविक नभएको पर्यटन व्यवसायीले बताउँदै आएका छन् ।


