Banijya News

सिटिजन्स सन्तुलित योजनाको इकाईमा आवेदन दिने म्याद थप

1
1.2K Shares

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत चौथो बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’ को इकाईमा आवेदन दिने म्याद थप भएको छ। म्याद थप भएसंगै अब यस निष्काशनमा पुस १८ गतेसम्म आवेदन दिन सकिने भएको छ। यद्यपि सो अगावै पर्याप्त आवेदन परेमा सो अगावै नै सार्वजनिक सूचना जारी गरेर बिक्री बन्द गर्ने क्यापिटलले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक र सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एक अर्ब रुपैयाँ आकारको यस योजनालाई नेपाल धितोपत्र बोर्डले सञ्चालन अनुमति दिएको हो। सिटिजन्स सन्तुलित योजनाले शेयर तथा डिबेन्चरमा लगानी गरी नाफा र जोखिमबीच सन्तुलन कायम गर्ने लक्ष्य लिएको छ।

हाल नेप्से परिसूचक तल्लो तहमा रहेकाले दीर्घकालीन लगानीकर्ताले यस योजनाबाट राम्रो प्रतिफल प्राप्त गर्न सक्ने सम्भावना रहेको क्यापिटलले जनाएको छ। वित्तीय प्रक्षेपण अनुसार योजनाको औसत वार्षिक प्रतिफल करिब १४ प्रतिशत रहने अनुमान गरिएको छ।

यस योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ । प्रति इकाई १० रुपैयाँका दरले कुल १० करोड इकाई निष्काशन गरिएको छ। तीमध्ये १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंकलाई छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि उपलब्ध हुनेछ ।

यस योजनामा आवेदन दिँदा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन गर्न सकिने व्यवस्था गरिएको छ । प्रति इकाई १० रुपैयाँका दरले न्यूनतम लगानी रकम १ हजार रुपैयाँ र अधिकतम १० करोड रुपैयाँसम्म लगानी गर्न सकिने व्यवस्था गरिएको छ।

लगानीकर्ताले ‘मेरो शेयर’ खाता मार्फत वा सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्।

सिटिजन्स क्यापिटल लिमिटेडले यसअघि पनि राम्रो प्रतिफल दिन सफल म्युचुअल फण्ड व्यवस्थापन गर्दै आएको बताउँदै व्यक्तिगत लगानीकर्तालाई १ हजारदेखि २ लाख इकाईसम्म आवेदन दिन सुझाव दिएको छ भने संस्थागत लगानीकर्तालाई सम्भव भएसम्म बढी इकाईका लागि आवेदन दिन आग्रह गरेको छ।

1

Scroll to Top