नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब ८१ प्रतिशत योगदान गर्ने निजी क्षेत्र भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि गहिरो संकटमा फसेको छ । आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र अवरोधले उत्पादनमूलक क्षेत्र ठप्प हुँदा हजारौँ कामदार रोजगारी गुमाउन बाध्य भएका छन् ।
आन्दोलनको प्रत्यक्ष असरले नयाँ लगानी भित्रिने ढोका बन्द भएका छन् । बाह्य लगानीकर्ता नेपालप्रति थप सशंकित बन्दै गएका छन् भने स्वदेशी लगानीकर्ता पनि पूँजी पलायनतर्फ उन्मुख हुने खतरा बढ्दै गएको छ ।
उद्योग व्यवसाय तथा उत्पादनमूलक क्षेत्रको बिक्री चाप ६५ देखि ७० प्रतिशतसम्म घटेको उद्योग वाणिज्य महासंघका उपाध्यक्ष वैद्यले बताए । बिक्री घटेसँगै उद्योगी–व्यवसायीलाई कर्मचारीको पारिश्रमिक दिन र बैंकको किस्ता तिर्न समेत धौधौ पर्ने अवस्था आएको छ । उनले बाध्य भएर कर्मचारी कटौती गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै हाल करिब १० प्रतिशत उद्योग–व्यवसाय मात्र पूर्ण रूपमा सञ्चालनमा रहेको जानकारी दिए ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रमा ५६ खर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् । तर उद्योग–व्यवसाय सुस्त हुँदा यो ठूलो लगानी जोखिममा पर्ने चिन्ता बढेको छ ।
बिग्रँदो अर्थतन्त्रलाई पुनः लयमा फर्काउन र निजी क्षेत्रको खस्कँदो मनोबल उकास्न राजनीतिक निकास अनिवार्य भइसकेको अर्थविद् अधिकारीको बुझाइ छ । उनले अस्थिरता, अनिश्चितता र डरको वातावरण हट्न नसकेसम्म उत्पादन, व्यापार र लगानी पुनः चलायमान हुन नसक्ने बताए ।
उद्योग–व्यवसायलाई गतिशील बनाउँदै उत्पादन तथा प्रशोधन कार्यलाई निरन्तरता दिन निर्वाचन नै हालको एकमात्र विकल्प भएको उद्योग वाणिज्य महासंघका उपाध्यक्ष वैद्यको दाबी छ । राजनीतिक स्थायित्व र भरोसाको वातावरण बने मात्र निजी क्षेत्रले पुनः अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने उनीहरूको निष्कर्ष छ ।


