Banijya News

कोरोनापछि संकटमा पोल्ट्री उद्योग, आधाभन्दा बढी घटे ह्याचरी उद्योग

1
1.2K Shares

कोरोना महामारीपछि नेपालको पोल्ट्री उद्योग गम्भीर संकटमा परेको छ । महामारीअघि सक्रिय रहेका ह्याचरी, दाना उद्योग र उत्पादन संरचना खुम्चिँदै जाँदा पोल्ट्री क्षेत्रको संकटमा परेका हुन् । माहामारी यता झण्डै आधाभन्दा बढी ह्याचरी बन्द भइसकेका छन् ।

नेपाल कुखुरा व्यवसायी मञ्चले पोल्ट्री व्यवसायमा हाल करिब एक खर्ब ६० अर्ब रुपैयाँ लगानी रहेको दाबी छ । यस क्षेत्रबाट वार्षिक करिब १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको छ । तर, पछिल्ला वर्षहरूमा लागत बढ्नु, बजार अस्थिर हुनु र आयातमा निर्भरता बढ्दा उद्योग दबाबमा परेको छ ।

व्यवसायीका अनुसार कोरोना अघिसम्म अन्डा उत्पादनका लागि लेयर्स कुखुराका चल्ला उत्पादन गर्ने १४ वटा ह्याचरी सञ्चालनमा थिए । अहिले यो संख्या घटेर सातमा सीमित भएको छ । त्यसैगरी मासुका लागि पालिने ब्रोइलर कुखुराका चल्ला उत्पादन गर्ने ह्याचरी ३ सय ४० बाट घटेर १ सय ९ मा झरेका छन् । दाना उद्योग पनि महामारीको प्रभावबाट जोगिन सकेनन् । कोरोना अघिसम्म दुई सयभन्दा बढी दाना उद्योग रहेकामा अहिले १ सय १५ मात्रै सञ्चालनमा छन् ।

नेपालमा आधुनिक पोल्ट्रीको सुरुवात २०१७ साल पुस १७ गते बाराको परवानीपुरमा तत्कालीन राजा महेन्द्रद्वारा सेन्ट्रल ह्याचरी उद्घाटनसँगै भएको मानिन्छ । २०७० सालदेखि हरेक वर्ष पुस १७ गते राष्ट्रिय पोल्ट्री दिवस मनाउन थालिएको हो । तर, पछिल्ला वर्षहरूमा उद्योग विस्तारभन्दा पनि टिकाइ नै मुख्य चुनौती बनेको व्यवसायीहरूको भनाइ छ ।

चल्ला, दाना, अन्डा र कुखुराको मासुमा नेपाल प्रायः आत्मनिर्भर भए पनि कच्चा पदार्थ, औषधि, भ्याक्सिन तथा उपकरणमा भने आयात निर्भरता उच्च छ । पोल्ट्री व्यवसायका लागि आवश्यक कच्चा पदार्थ तथा अन्य सामग्री आयात गर्दा वार्षिक करिब ४५ अर्ब रुपैयाँ बाहिरिने गरेको छ । दानाको कच्चा पदार्थमध्ये करिब ७० प्रतिशत आयात हुने गरेको छ भने औषधि ९० प्रतिशत र भ्याक्सिन तथा उपकरण ९५ प्रतिशतसम्म आयातमा निर्भर छ ।

नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष उमेशचन्द्र सापकोटाका अनुसार पहिला दानाका लागि प्रयोग हुने मकै पनि ठूलो परिमाणमा आयात हुन्थ्यो । अहिले मकैको आयात ५० प्रतिशतभन्दा तल झरेको भए पनि भटमास भने ९९ प्रतिशत आयातमै निर्भर छ । स्वदेशी उत्पादन अभावले लागत घटाउन नसकिएको उनको भनाइ छ ।

कुखुरापालनमा लाग्ने कुल खर्चमध्ये करिब ७० प्रतिशत हिस्सा दानाले ओगट्ने गरेको व्यवसायी बताउँछन् । नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार औजार, उपकरण र प्रविधि पूर्ण रूपमा स्वदेशमै उत्पादन गर्न नसकिए पनि सरकारले मकै र भटमास खेतीमा प्रोत्साहन गरे दाना लागत घटाउन सकिने सम्भावना छ । व्यवसायीहरूले नीतिगत सहजीकरण र कृषि उत्पादन वृद्धिमा ध्यान दिन सरकारसँग आग्रह गरेका छन् ।

1

Scroll to Top