जेनजी आन्दोलनको क्रममा भएको भौतिक तथा अन्य क्षतिका लागि निर्जीवन बीमा कम्पनीहरुमा ३ हजार ३ सय १६ वटा बीमा दाबीको निवेदन परेको थियो । बीमा प्राधिकरणका अनुसार उक्त क्षतिबाट करिब २३ अर्ब ४७ करोड रुपैयाँको दाबी परेको थियो । तीमध्ये निर्जीवन बीमा कम्पनीहरुले हालसम्म अग्रिम भुक्तानीसमेत गरी ५ अर्ब ४८ करोड २५ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेको प्राधिकरणले जनाएको छ ।
१४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत दाबी रकममध्ये सम्पत्ति बीमातर्फ कूल ७ सय १२ वटा बीमा दाबीको दाबी रकम करिब १९ अर्ब ५ करोड रुपैयाँमध्ये करिब ३ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ र मोटर बीमातर्फ कूल २ हजार ३ सय २१ वटा बीमा दाबीको दाबी रकम करिब ३ अर्ब ४६ करोड १६ लाख रुपैयाँमध्ये करिब १ अर्ब ३९ करोड २५ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।
यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ कूल २ सय २६ वटा बीमा दाबीको करिव ५५ करोड ३९ लाख रुपैयाँ दाबी रकममध्ये करिब ८ करोड ३६ लाख रुपैयाँ, परिवहन बीमातर्फ कूल १२ वटा बीमा दाबीको करिब १ करोड ६९ लाख रुपैयाँ दाबी रकममध्ये करिब १ करोड ५५ लाख रुपैयाँ र अन्य बीमातर्फ कूल ४५ वटा बीमा दाबीको करिब ३८ करोड ४० लाख रुपैयाँ दाबी रकममध्ये करिब ५ करोड रुपैयाँ अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।
जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई कूल करिब ३ अर्ब २ करोड रुपैयाँ अग्रिम भुक्तानीसहित पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।
नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८ सय ६३ वटा पुनर्बीमा दाबीको कूल पुनर्बीमा दाबी रकम करिब १६ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ रहेको छ ।


