Banijya News

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त

1
1.1K Shares

निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ । आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गरिएको छ ।

नियुक्ति भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले माघ २ मा आफू खटिएको निर्वाचन क्षेत्रभित्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनका कार्यक्रमहरू सञ्चालन गर्ने आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन आचारसंहिता २०८२, के गर्न पाइन्छ, के गर्न पाइँदैन

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता, २०८२’ जारी गरेको छ । यस पटकको आचारसंहितामा विशेषगरी सरकारी स्रोतको दुरुपयोग रोक्न र चुनावी प्रचारप्रसारलाई मर्यादित बनाउन कठोर नियमहरू समावेश गरिएको छ ।

सरकारी तथा सार्वजनिक निकायका लागि निषेध आचारसंहिताअनुसार कुनै पनि सरकारी वा अर्धसरकारी निकायले कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा काम गर्न पाउने छैनन् । सरकारी परियोजनाका गाडी, भवन, अतिथिगृह वा अन्य कुनै पनि सम्पत्ति चुनावी प्रयोजनका लागि उपलब्ध गराउन पूर्णतः रोक लगाइएको छ । साथै, विद्यालय, विश्वविद्यालय र सार्वजनिक संस्थाको क्षेत्रभित्र राजनीतिक भेला वा प्रचारप्रसार गर्न पाइने छैन ।

त्यस्तै, आयोगले उम्मेदवारहरूलाई भड्किलो प्रचार सामग्री प्रयोग गर्न निषेध गरेको छ । दलको चिह्न अङ्कित ज्याकेट, टिसर्ट, टोपी, मास्क, लकेट, झोला वा ट्याटुजस्ता साङ्केतिक सामग्री उत्पादन र वितरण गर्न पाइने छैन । प्रचारप्रसार गर्दा घर वा जग्गाधनीको लिखित अनुमति अनिवार्य गरिएको छ ।

डिजिटल युगको चुनौतीलाई मध्यनजर गर्दै सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना फैलाउनुलाई आचारसंहिताको उल्लङ्घन मानिनेछ । यस्तै, निर्वाचनको कुनै पनि प्रक्रियामा बालबालिकालाई प्रयोग गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।

1

Scroll to Top