Banijya News

जेनजी आन्दोलनमा ८४ अर्बभन्दा बढी क्षति, सरकारी संरचना पुनर्निर्माणमा मात्र साढे ३६ अर्ब बढी लाग्ने

1
1.1K Shares

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले देशको अर्थतन्त्रमा गहिरो चोट पुर्‍याएको छ। सरकारी अध्ययनअनुसार आन्दोलनका कारण देशभर ८४ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको भौतिक सम्पत्ति नष्ट भएको छ। यसमध्ये सरकारी संरचना मात्र पुनर्निर्माण गर्न साढे ३६ अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ।

भौतिक सम्पत्तिमा क्षति नेपालको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० को १.३८ प्रतिशत र चालु आर्थिक वर्षको कुल बजेटको ४.३० प्रतिशत बराबर हो।

क्षतिको सबैभन्दा ठूलो हिस्सा सार्वजनिक क्षेत्रमा रहेको छ र बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ। कुल क्षति रकममध्ये सरकारी तथा सार्वजनिक क्षेत्रको हिस्सा ५३ प्रतिशत, निजी क्षेत्रको ४० प्रतिशत र सामुदायिक तथा अन्य क्षेत्रको ७ प्रतिशत रहेको छ। कुल क्षतिमध्ये भवन र सवारीसाधनमा मात्रै साढे ५२ अर्ब रुपैयाँको नोक्सानी पुगेको छ ।

राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनले सार्वजनिक संरचनाको पुनर्निर्माण, मर्मत तथा सवारीसाधन र अन्य भौतिक सामग्री खरिदका लागि ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ आवश्यक पर्ने देखाएको हो। यसमा भवन पुनर्निर्माणतर्फ १९ अर्ब ९८ करोड, सवारीसाधन मर्मत तथा खरिदतर्फ ६ अर्ब १६ करोड र अन्य भौतिक सामग्रीमा १० अर्ब १४ करोड खर्च लाग्ने अनुमान छ।

प्रतिवेदनअनुसार आन्दोलनका कारण भएको कुल क्षति नेपालको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० को १.३८ प्रतिशत र चालु आर्थिक वर्षको कुल बजेटको ४.३० प्रतिशत बराबर छ। यसले आन्दोलनको असर केवल सामाजिक र राजनीतिक मात्र नभई गम्भीर आर्थिक संकटका रूपमा देखिएको स्पष्ट संकेत गर्छ।

क्षतिको संरचना हेर्दा सबैभन्दा ठूलो भार सार्वजनिक क्षेत्रले व्यहोरेको छ। कुल क्षतिको ५३ प्रतिशत सरकारी तथा सार्वजनिक क्षेत्रमा परेको छ भने निजी क्षेत्रको हिस्सा ४० प्रतिशत र सामुदायिक तथा अन्य क्षेत्रको ७ प्रतिशत छ। सार्वजनिक क्षेत्रमा मात्रै ४४ अर्ब ९३ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको छ, जसमा संघीय सरकारको हिस्सा ६६ प्रतिशत रहेको छ।

भौतिक संरचनामध्ये सबैभन्दा ठूलो क्षति भवन र सवारीसाधनमा केन्द्रित छ। आन्दोलनका क्रममा देशभर २ हजार ६ सय ७१ भवन क्षतिग्रस्त भएका छन्, जसमा झण्डै ८० प्रतिशत सार्वजनिक भवन हुन्। भवनतर्फ मात्रै ३९ अर्ब ३१ करोड रुपैयाँको क्षति भएको छ भने १२ हजारभन्दा बढी सवारीसाधनमा करिब १३ अर्ब रुपैयाँ बराबरको नोक्सानी पुगेको छ। नगद तथा बहुमूल्य वस्तुमा २ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी क्षति भएको छ, जसमा चोरी, आगजनी र तोडफोड प्रमुख कारण बनेका छन्।

प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ। कुल क्षतिको ६६.५ प्रतिशत हिस्सा यही प्रदेशमा केन्द्रित छ। भवन, सवारीसाधन, अन्य भौतिक सम्पत्ति र अस्थायी संरचनासमेतको क्षतिमा बागमती प्रदेशको प्रभुत्व देखिन्छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने क्षति तुलनात्मक रूपमा कम छ।

आन्दोलनले केवल संरचना मात्र होइन, जनजीवन र रोजगारीमा पनि ठूलो असर पारेको छ। उत्पादन तथा सेवा क्षेत्रमा १३ अर्ब ८७ करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ। यसका कारण करिब ३ हजार व्यक्तिको रोजगारीमा प्रत्यक्ष असर परेको छ, जसमा २ हजार ३ सयभन्दा बढीले पूर्ण रूपमा रोजगारी गुमाएका छन्।

मानवीय क्षति पनि गम्भीर छ। आन्दोलनका क्रममा ७७ जनाको मृत्यु भएको थियो, जसमा १३ देखि २८ वर्ष उमेर समूहका युवाहरूको संख्या सबैभन्दा बढी छ। २ हजार ४ सयभन्दा बढी घाइते भएका छन्, जसले आन्दोलनको सामाजिक प्रभाव कति गहिरो थियो भन्ने देखाउँछ।

प्रतिवेदनले निजी क्षेत्रतर्फ ३३ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको उल्लेख गरेको छ। निजी प्रतिष्ठानमा ८० प्रतिशतभन्दा बढी क्षति भएको छ भने घरपरिवारमा करिब ६ अर्ब रुपैयाँ बराबरको नोक्सानी पुगेको छ। आगजनी र तोडफोडका कारण निजी आवास, सवारीसाधन र स्थायी–अस्थायी सम्पत्तिमा ठूलो असर परेको प्रतिवेदनले औंल्याएको छ।

सरकारले सार्वजनिक संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखे पनि निजी भौतिक संरचनाको पुनर्निर्माण लागत भने अझै औपचारिक रूपमा अनुमान गरिएको छैन। विज्ञहरूका अनुसार पुनर्निर्माणसँगै भविष्यमा यस्ता आन्दोलनबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी, संवाद र सुरक्षा संयन्त्र सुदृढ गर्नु अपरिहार्य देखिएको छ।

1

Scroll to Top