Banijya News

यथास्थितिमा विशेष महाधिवेशन भए काँग्रेस एक ढिक्का रहला ?

1
1.1K Shares

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७–२८ मा विशेष महाधिवेशन आह्वान गरेपछि तरंगित बनेको नेपाली काँग्रेसको राजनीतिले कुन मोड लिन्छ भन्ने स्पष्ट खाका आइसकेको छैन । विधानतः बाध्यात्मक भन्दै बोलाइएको विशेष महाधिवेशनलाई संस्थापन पक्षले अवैधानिक घोषणा गरेको छ । तर, विशेष महाधिवेशन पक्षधरहरु यसको तयारी तिव्ररुपमा अगाडि बढाइरहेका छन् । देशभरबाट विशेष महाधिवेशनका लागि प्रतिनिधिहरू काठमाडौँ आइरहेका छन् ।

एकातिर, काँग्रेसलाई फुटबाट जोगाउन भन्दै विशेष महाधिवेशन पक्षधरले संस्थापन पक्षलाई विशेष महाधिवेशनको स्वामित्व लिन आग्रह गरिरहेको छ भने संस्थापनले त्यसलाई व्यक्ति विशेषले बोलाएको भेलाको संज्ञा दिँदै सहभागी नहुन पार्टी पंक्तिलाई उर्दी जारी गरिसकेको छ । काँग्रेसभित्र एक समूह भने दुवैतर्फ संवाद गर्दै दुवै पक्षलाई मिलाएर मध्यविन्दु खोज्ने प्रयासमा छ ।

काँग्रेसको हिजो बिहीबार बसेको कार्यसम्पादन बैठकले पार्टीको नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नभएको भन्दै विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय ग¥यो ।

काँग्रेस नेता एनपी साउदका अनुसार, कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गर्ने निर्णय गरेको हो । पदाधिकारीले विशेष महाधिवेशन बोलाउने विधानमा व्यवस्था नरहेकाले देशभरिका केन्द्रदेखि तल्लो तहसम्मका पदाधिकारी महाधिवेशन, महासमिति सदस्य सबैलाई विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गरेको नेता साउदको भनाइ छ ।

अहिले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुनुपर्ने र पार्टी फुट्नबाट जोगाउनुपर्ने भन्दै बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत संस्थापन पक्षका नेताहरूले विशेष महाधिवेशन आह्वान फिर्ता लिन आग्रह गरेका थिए । तर, महामन्त्री गगन थापाले महाधिवेशन बाध्यात्मक भएकाले पछि नहट्ने अडान राखे । महामन्त्री थापाले उल्टै विशेष महाधिवेशनलाई केन्द्रीय कार्यसमितिले स्वामित्व लिनुपर्ने भन्दै कार्यवाहक सभापतिमार्फत् सभापति शेरबहादुर देउवालाई निम्तो पठाएका छन् ।

काँग्रेस महामन्त्री गगन थापाले भने विशेष महाधिवेशनका लागि ५४ प्रतिशत सदस्यको हस्ताक्षर र उनीहरूले राखेको प्रस्ताव फिर्ता नहुने अडान लिएका छन् । थापाले भनेका छन्, ‘कार्यवाहक सभापति (खड्काजी) ले सभापति (देउवा) लाई यो कुरा पु¥याइदिनु होला पुस २७ गते उहाँ सहभागी हुनुपर्छ । उहाँको पनि मान बढाउँछ । यहाँ बसेर फिर्ता लिउ भन्नुभन्दा पनि यो अधिवेशन हाम्रो हो भनेर स्वामित्व लिँदा विधानको मर्यादा बढ्छ ।’ साथै, महामन्त्री थापाले विधानको कुन धाराअनुसार नियमित महाधिवेशन घोषणा भएका बेला विशेष महाधिवेशन नहुने भन्ने छ ? भन्दै प्रतिप्रश्न गरेका थिए । कार्यवाहक सभापति खड्काले विधानको अपव्याख्या गरेको भन्दै महामन्त्री थापाले विधानअनुसार विशेष बोलाउनु पर्दैन भन्नु विधानको अपव्याख्या गरेको तर्क गरे ।

उनले विधान कार्यान्वयन गर्दा पार्टी विभाजनमा लैजान खोजिएको भन्ने हौवा फैलाइएको आरोप लगाए । थापाले महाधिवेशन प्रतिनिधिहरूले जे भन्यो त्यो हुन्छ भन्ने छैन । तर, एकपटक सुन्ने र संवाद गर्ने काम पनि नभएको गुनासो गरे ।

खड्काले कार्यसम्पादन समितिको बैठकमा वर्तमान संवेदनशील अवस्थामा विशेष महाधिवेशन पार्टीको हितमा नभएको बताएका थिए । तर, महामन्त्री थापाले संवेदनशील अवस्था स्वीकार गर्ने तर महाधिवेशन नगर्नु विरोधाभाषपूर्ण भएको विषयमा अडान राखे ।

थापाले भदौ २२ को नेपाल र भदौ २५ को नेपाल एउटै नभएको भन्दै ‘भदौ २३ र २४ गतेको हाम्रो भूमिका के रह्यो । कहाँ चुक्यौँ । समीक्षा गरौँ । नीति पनि फेरौँ । नेतृत्व पनि फेरौँ भनेर विशेष महाधिवेशन मागिएको’ उल्लेख गरे । विशेष महाधिवेशन पक्षधरको कुरा सुनिए पार्टी एक ठाउँमा हुने भन्दै केन्द्रीय कार्यसमितिले स्वामित्व लिने कुरा मात्रै विधानसम्मत् र उपयुक्त हुने साथै यसले मात्र सहमतिको ढोका खोल्ने महामन्त्री थापाको भनाइ छ ।

संस्थापनले इतर पक्षको कुरै नसुन्ने र इतर पक्षले पनि सहमतिका लागि ठोस विकल्प प्रस्तुत गर्न नसक्दा दुवै पक्ष आ–आफ्नै अडानमा रहेका हुन् । संस्थापन र विशेष पक्षधर आ–आफ्नो अडानबाट टसमस नभएपछि मझधारमा बसेका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर पार्टी फुट्नबाट जोगाउन आग्रह गरेका छन् । कोइरालाले आफू पनि विशेष महाधिवेशनकै पक्षमा रहेको तर केन्द्रीय कार्यसमितिले बोलाउनुपर्ने बताउँदै आएका छन् । उनले सभापति देउवा, कावा सभापति खड्का र महामन्त्रीद्वयसँग लगातार संवाद गर्दै मध्यविन्दु खोजिरहेका छन् । पार्टी फुटको संघारमा पुगेको भन्दै गम्भीर हुन देउवालाई सुझाएका कोइरालाले विगतका विभाजनको तितो अनुभवबाट सिकेर विशेष महाधिवेशन पक्षधरसँग वार्ता गरेर समाधान निकाल्न आग्रह गरेका छन् ।

1

Scroll to Top