Banijya News

भारतले खानेतेलमा भन्सार लगाउँदा नेपाली उद्योग मालामाल

1
1.1K Shares

गत वर्ष भारत सरकारले तेलमा लगाएको भन्सार दरका कारण नेपाली खानेतेल रिफाइनरी उद्योग मालामाल भएका छन् । भारत सरकारले सन् २०२४ को सेप्टेम्बरबाट लागू हुने गरी पाम, सोयाबिन र सूर्यमूखी तेल आयातमा लाग्दै आएको भन्सार शुल्क बढाएको थियो ।

भारत सरकारले कच्चा र प्रशोधित खाद्य तेलमा भन्सार दर २० प्रतिशतले बढाएको थियो । भारतले आयात गर्ने कच्चा खाने तेलमा लाग्ने कर २७.५ प्रतिशत बनाएको थियो भने प्रशोधित तेलमा भन्सार दर ३५.७५ प्रतिशत पुर्याएको थियो । त्यसअघि कच्चा पाम, सोयाबिन तथा सूर्यमूखी तेल आयात गर्दा ५.५ प्रतिशत र प्रशोधित खाने तेलमा १३.७५ प्रतिशत भन्सार लाग्दै आएको थियो ।

भारतले लगाउने यो भन्सार दर विकासशील वा विकसित देशबाट आयात गर्दा लाग्छ । तर, नेपालजस्तो अतिकम विकसित मुलुकले डब्लूटीओ र साफ्टाको खास सुविधा पाउँछन् । त्यसैले इन्डोनेसिया, थाइल्यान्ड लगायत देशबाट तेल आयात गर्नुको सट्टा नेपालजस्तो देशबाट आयात गर्नु त्यहाँका व्यवसायीलाई लाभदायक हुन्छ । नेपाल र भारत सीमा जोडिएको तथा व्यापार पनि सहज भएकाले यहाँबाट भारत तेल लैजानु सस्तो र सजिलो हुन्छ ।

नेपालका खानेतेल प्रशोधन गर्ने उद्योगले इन्डोनेसिया, थाइल्यान्ड लगायत देशबाट कच्चा पदार्थ आयात गरी प्रशोधन गर्छन् । ती कम्पनीले ३० प्रतिशतसम्म मूल्य अभिवृद्धि गरेर भारत निकासा गर्छन् । नेपाली तेलले भारतीय बजारमा भन्साररहित प्रवेश पाउने हुँदा यसको प्रत्यक्ष लाभ तेल उद्योगीहरुले लिएका हुन् ।

भारतले गत वर्ष बढाएको भन्सार दर अहिले भने आधा घटाएको छ । भन्सार दर घटाएसँगै आगामी दिनमा निर्यात प्रभावित हुने देखिएको छ । तर, गत आर्थिक वर्षमा भने नेपाली उद्योगीहरुले भारतीय सरकारले बढाएको भन्सार दरमा उच्च लाभ लिएको उद्योगहरुको व्यापारको तथ्यांकले स्पष्ट देखाउँछ । भन्सार विभागको तथ्याङ्कअनुसार, गत आवमा मात्रै करिब २ खर्ब रुपैयाँबराबरको तेल निर्यात भएको छ ।

नेपालमा करिब २७ वटा तेल उद्योग छन् । त्यसमध्ये ८ वटा उद्योगको तथ्याङ्कले गत आवमा तेल उद्योगहरुले भारतमा उच्च तेल निर्यात गरेको देखाउँछ । गत आवमा उक्त ८ वटा उद्योगले आधा खर्बभन्दा बढी अर्थात् ५२ अर्ब ४७ करोड ४० लाख रुपैयाँको व्यापार गरेका छन् । कम्पनीहरुको व्यापार बढ्नुको मुख्य कारण नै भारत सरकारले बढाएको भन्सार दर रहेको जनाएको छ ।

कम्पनीहरुले गरेको रेटिङअनुसार गत आवमा अधिकांशको व्यापारमा निर्यातको हिस्सा उच्च रहेको देखिन्छ । देशभर रहेका विभिन्न कम्पनीमध्ये नारायणी रिफाइनरी आयल उद्योगले गत वर्ष १० अर्ब २१ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । सो उद्योगले सन २०२४ मा ४ अर्ब ५८ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो भने सन २०२३ मा ६ अर्ब ४१ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो ।

त्यस्तै, केडिया ग्रुपद्वारा सञ्चालित सुशील वनस्पति प्रालिले गत आवमा ९ अर्ब ५२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन २०२४ मा १ अर्ब ८२ करोड र सन २०२३ मा ३ अर्ब ५३ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

गणपति वनस्पतिले गत आवमा ८ अर्ब २५ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन २०२४ मा १ अर्ब २४ करोड रुपैयाँको कारोबार गरेको थियो । सन २०२३ मा ६ अर्ब ५० करोड ३० लाख रुपैयाँ र सन २०२२ मा १२ अर्ब ३३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।

सिद्ध बाबा ब्रान्डको विभिन्न तेल बेच्ने बाबा भेजिटेबल आयल इन्डस्ट्रिजले गत आवमा ५ अर्ब ९१ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन २०२४ मा २ अर्ब २ करोड ९० लाख रुपैयाँ र सन २०२३ मा ३ अर्ब ६७ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार सन २०२४ को तुलनामा सन २०२५ मा १९१ प्रतिशतले बढेको छ ।

समृद्धि ब्रान्डको विभिन्न प्रकारका तेल बेच्ने सिद्धिविनायक आयल प्रालिले गत आवमा ५ अर्ब ९ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन २०२४ मा १ अर्ब ४२ करोड ५० लाख रुपैयाँ र सन २०२३ मा १ अर्ब ८८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

यसैगरी, बागमती आयल इन्डस्ट्रिजले गत आवमा ५ अर्ब ३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन २०२४ मा २ अर्ब ७३ करोड रुपैयाँ, सन २०२३ मा ३ अर्ब २२ करोड रुपैयाँको व्यापार गरेको थियो ।

एबीसी आयल इन्डस्ट्रिजले गत आवमा ४ अर्ब ३५ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ । उक्त कम्पनीले सन २०२४ मा १ अर्ब ४१ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । अघिल्लो वर्ष सन २०२३ मा २ अर्ब १२ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो ।

त्यस्तै, कालिका रिफाइनरीले गत आवमा ४ अर्ब ७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको देखिन्छ । कम्पनीले सन २०२४ मा २ अर्ब ९ करोड २० लाख रुपैयाँ र सन २०२३ मा २ अर्ब ६१ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार सन २०२४ को तुलनामा सन २०२५ मा ९५ प्रतिशतले व्यापार बढेको जनाएको छ ।

सन २०२३ र २०२४ मा तेल उद्योगहरु निकै कठिन परिस्थितिमा सञ्चालनमा रहेका थिए । तर, भारतले तेलमा लगाएको भन्सार दरले गर्दा गत आवमा नेपाली उद्योगहरुको व्यापारमा उल्लेख्य वृद्धि भएको छ । नेपाली उद्योगहरुले भारततर्फ निर्यात गर्दा व्यापारमा उछाल आएको देखिन्छ । सन २०२३ मा विश्वबजारमा कच्चा तेलको मूल्य वृद्धि हुँदा खुद घाटा व्यहोरेका तेल कम्पनील पछिल्ला वर्षमा उल्लेख्य नाफा कमाउन सफल भएका छन् ।

1

Scroll to Top