Banijya News

ग्रे लिस्टबाट बाहिरिन नेपाललाई कठिनाइ

1
1.1K Shares

सम्पत्ति शुद्धीकरणको मे शिस्टवाट नेपाल बाहिर निस्कन थप चुनौतीपूर्ण भए‌को छ । ग्रे लिस्टमा रहेकै समयमा नेपालमा शंकास्पद वित्तीय कारोबार बढ्दै गएको र अनुसन्धानमा समेत उल्लेख्य प्रगति हुन नसकेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

नेपालको वित्तीय प्रणालीमा शंकास्पद कारोबारको दरमा उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ। राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाई (एफआईयू) ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनले यस्तो तथ्य देखाए‌को हो। नेपाल ग्रे लिस्टमा रहेको बेला शंकास्पद वित्तीय कारोबार बढ्दै गएको छ, तर त्यसको अनुसन्धानमा ठुलो प्रगति हुन नसकेको कारण देशलाई ग्रे लिस्टबाट बाहिर आउन अझ कठिनाइ भएको प्रतिवेदनले देखाएको छ।

आर्थिक वर्ष २०८१/८२मा शंकास्पद वित्तीय कारोबारको संख्या ३०.३५ प्रतिशत बढेर ९ हजार ५ सय ६५ पुगेको छ। प्राप्त रिपोर्टमध्ये २ हजार २ सय ८२ वटा गहिरो रूपमा विश्लेषण गरी ९ सय ४५ वटा रिपोर्ट थप अनुसन्धान र अभियोजनका लागि प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको प्रतिवेदनमा उल्लेख छ ।

शंकास्पद कारोबार बढेसँगै वित्तीय जानकारी इकाइले थप अनुसन्धानका लागि पठाउने फाइलको संख्यामा पनि वृद्धि आएको छ। आर्थिक वर्ष २०८०–८१ मा १ हजार ६ सय ३५ फाइल विश्लेषण गर्दा ८ सय ८९ प्रतिवेदन अनुसन्धानका लागि पठाइएको थियो।

तोकिएको सीमाभन्दा बढीको नगद कारोबारअन्तर्गत २२ लाख ३६ हजारभन्दा बढी रिपोर्ट प्राप्त भएको छ, जसले बजारमा नगद प्रवाह अझै उच्च रहेको देखाउँछ। एफएटीएफको ग्रे लिस्टमा परेपछि नेपाललाई त्यसबाट बाहिर निकाल्न वित्तीय जानकारी इकाइले विशेष रणनीति अपनाएको छ।

इकाइका निर्देशक वासुदेव भट्टराईले प्रतिवेदनमार्फत ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्न जोखिममा आधारित कार्यान्वयन, आधुनिक प्रविधि तथा एआई प्रयोग र सरोकारवाला निकायसँगको समन्वयलाई मुख्य योजना बनाएको बताएका छन्।

वित्तीय जानकारी इकाइले प्रविधि प्रयोगमा सुधार गरेको छ। गो–एएमएल प्रणालीमा आबद्ध संस्था ११३ प्रतिशत बढेर ३हजार,४ सय सन्तानब्बे पुगेका छन् र यस वर्षका सबै शंकास्पद कारोबार रिपोर्ट शतप्रतिशत डिजिटल रूपमा प्राप्त हुँदा गोपनीयता र विश्लेषणको गतिमा वृद्धि आएको छ l

वित्तीय जानकारी इकाइले पछिल्लो समय बढ्दै गएको साइबर ठगी, हुन्डी तथा क्रिप्टोकरेन्सीमार्फत हुने वित्तीय अपराधप्रति चासो देखाएको छ।

प्रतिवेदनअनुसार हुन्डी कारोबारमा क्रिप्टोकरेन्सी र पेमेन्ट गेटवेका खाताहरू शंकास्पद रकम व्यवस्थापनमा प्रयोग भइरहेका छन्। यस्ता गतिविधि रोक्न वित्तीय जानकारी इकाइले व्यापारमा आधारित सम्पत्ति शुद्धीकरण र कर छलीसम्बन्धी रिपोर्टिङ कडाइ गरेको जनाएको छ।

वित्तीय अपराध अन्तर्राष्ट्रिय स्तरसम्म फैलँदा इकाइले सहकार्यलाई सुदृढ बनाएको छ। नेपालले बहराइनसँग एमओयू गरी समकक्षी देश २० पुगेको र गत वर्ष ६४ सूचना आदानप्रदान गरेर सीमापार वित्तीय जोखिम न्यूनीकरणमा काम गरेको बताएको छ ।

जानकारहरूले ग्रे लिस्टबाट बाहिर निस्कन सरकारले गरेको प्रयास अझै सन्तोषजनक नभएको बताएका छन्। यसै क्रममा, गभर्नर पौडेलको नेतृत्वमा गठन भएको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल २०८२ ले राष्ट्र बैंकलाई आवश्यक सुधारका उपाय र रणनीति अपनाउन सुझाव दिएको छ।

रेवतबहादुर कार्की नेतृत्वको कार्यदलले नेपाललाई ग्रे लिस्टबाट हटाउन केन्द्रीय बैंकको भूमिका सशक्त बनाउनु आवश्यक रहेको सुझाव दिएको छ। कार्यदलले सम्पत्ति शुद्धीकरण निवारण ऐनको पाँचौँ संशोधनमार्फत वित्तीय जानकारी इकाईलाई स्वतन्त्र इकाईको रूपमा विकास गर्नुपर्ने पनि उल्लेख गरेको थियो।

सुझावमा भनिएको छ कि भुक्तानीसँग जोडिएको मुद्रा निर्मलीकरणमा नेपाल राष्ट्र बैंकको भूमिका महत्वपूर्ण छ र ग्रे लिस्टबाट दुई वर्षभित्र बाहिरिन बैंकले सक्रिय सुधारात्मक कदम चाल्नुपर्नेछ।

1

Scroll to Top