चितवनको सौराहामा पाँचतारे लक्जरी रिसोर्ट रोयल टुलिप चितवन सञ्चालन गरिरहेको केटीएम हस्पिटालिटी लिमिटेडले बुधबार सम्पन्न साधारण सभाबाट पुँजी संरचना परिवर्तनसहित साढे १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने पारित गरेको छ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले आईपीओ निष्कासनको प्रस्तावलाई स्वीकृति दिएको हो।पारित प्रस्ताव अनुसार कम्पनीको नयाँ पुँजी संरचना पनि तयार पारिएको छ।
अधिकृत पुँजी १ अर्ब, जारी पुँजी ७७ करोड ५० लाख र चुक्ता पुँजी ६२ करोड रुपैयाँ रहने छ। कम्पनीले १५ करोड ५० लाख रुपैयाँको आईपीओ सर्वसाधारणका लागि जारी गर्ने भएको हो। यो भनेको कम्पनीको कुल चुक्ता पुँजी को २० प्रतिशत हो।
हाल केटीएम हस्पिटालिटीले चितवनको सौराहामा ६५ कोठा क्षमताको पाँच तारे लक्जरी रिसोर्ट रोयल टुलिप चितवन सञ्चालन गरिरहेको छ। पर्यटकीय गन्तव्यका रूपमा चर्चित सौराहामा सञ्चालित यो लक्जरी रिसोर्टले होटल व्यवसायमा नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको दाबी छ।
साधारण सभामा केटीएम ग्रुपको ब्राण्ड एम्बेसेडर वरिष्ठ कलाकार सन्तोष पन्तको विशेष उपस्थिति रहेको थियो। यस्तै, कम्पनीले नेपाल सरकारका पूर्वसचिव केवलप्रसाद भण्डारीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ।
संस्थाका अध्यक्ष रामेश्वर शाहले नेपालको आथित्यता उद्योगले अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको बताएका छन ।
अध्यक्ष शाहको भनाई अनुसार हस्पिटालिटी क्षेत्रमा निरन्तर लगानी बढ्नुले यो क्षेत्रमा सम्भावनालाई उजागर गरेको हो l
कार्यक्रममा डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपालको पर्यटन क्षेत्रले उल्लेखिय रुपमा फड्को मारेको बताएका । पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि केन्द्रीय बैंकले निरन्तर सहयोग गरिरहेको उनको भनाइ छ। कोभिडका बेला होस्, वा जेनजी आन्दोलनका क्रममा यस क्षेत्रमा पुगेको क्षतिलाई न्यूनीकरण गर्न केन्द्रीय बैंकले निर्देशनमार्फत काम गरेको बताएका छन ।
केटीएम हस्पिटालिटीको आईपीओ निष्कासनलाई नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रको विकासमा महत्वपूर्ण कदमका रूपमा लिइएको छ। यसबाट होटल उद्योगमा सार्वजनिक लगानीको पहुँच बढ्नुका साथै नयाँ परियोजना विस्तार, रोजगारी सिर्जना र पर्यटन पूर्वाधार सुदृढीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
साथै, पूँजी बजारमार्फत पारदर्शिता र संस्थागत सुशासन प्रवर्द्धन हुँदै दीर्घकालीन पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।


