अन्तर्राष्ट्रिय बजारमा देखिएको निरन्तर मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको छ । पछिल्लो चार वर्षको अवधिमा सुनको मूल्य दुई सय चार प्रतिशतले बढेको छ । नेपाली बजारमा २०७८ माघ ५ गते प्रतितोला ९२ हजार ७ सय रुपैयाँ रहेको सुनको मूल्य २०८२ माघ ५ मा आइपुग्दा प्रतितोला दुई लाख ८२ हजार रुपैयाँ पुगेको छ । चार वर्षको अवधिमा प्रतितोला एक लाख ८९ हजार तीन सय रुपैयाँले मूल्य बढेको छ । सो अवधिमा ९२ हजार ७ सय रुपैयाँमा एक तोला सुन किनेका लगानीकर्ताले हाल सोही परिमाणमा १ लाख ८९ हजार ३ सय रुपैयाँ नाफा कमाएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विश्वव्यापी भू–राजनीतिक अस्थिरता, आर्थिक द्वन्द्व र युद्धको आशंकाले लगानीकर्ताहरूलाई सुरक्षित माध्यमतर्फ धकेलेको छ । यस्तो अवस्थामा सुन सबैभन्दा भरोसायोग्य विकल्पका रूपमा देखिएकाले व्यक्ति मात्र होइन, संस्थागत लगानी समेत तीव्र रूपमा बढेको छ । कतिपय मुलुकका केन्द्रीय बैंक र सरकारहरूले समेत सुन खरिद बढाएका कारण अन्तर्राष्ट्रिय बजारमा माग तीव्र बनेको महासंघको भनाइ छ ।
व्यवसायीहरूका अनुसार विश्व राजनीति स्थिर भए लगानी सेयर बजार, उद्योग र उत्पादन क्षेत्रमा केन्द्रित हुन्छ । तर, जब राजनीति र अर्थतन्त्र अस्थिरतातर्फ मोडिन्छ, लगानीकर्ताहरू सुनतर्फ आकर्षित हुने गर्छन् । यही प्रवृत्तिका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अस्वाभाविक रूपमा उकालो लागेको उनीहरूको विश्लेषण छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीति, भेनेजुएलामाथि भएको आक्रमण, ग्रिनल्याण्डमाथिको निरन्तर दाबी तथा बढ्दो आर्थिक द्वन्द्वले सुनको मूल्य निरन्तर माथि धकेलिरहेको छ । उनका अनुसार सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ६६६ डलरसम्म पुगेको छ ।
यही प्रवृत्ति जारी रहेमा आगामी डिसेम्बरसम्म प्रतिऔंस ५ हजार डलरसम्म पुग्ने प्रक्षेपण छ । सो अवस्थामा नेपाली बजारमा प्रतितोला सुनको मूल्य तीन लाख रुपैयाँ नाघ्ने अनुमान छ । यद्यपि, केही अर्थशास्त्रीहरूले भने बजारमा ‘करेक्सन’ आउन सक्ने र मूल्य घटेर प्रतिऔंस ३ हजार डलरसम्म झर्न सक्ने सम्भावना समेत औंल्याएका छन् । यदि यस्तो अवस्था आयो भने नेपाली बजारमा प्रतितोला सुनको मूल्य साढे २ लाख रुपैयाँ आसपास झर्न सक्ने व्यवसायीहरूको अनुमान छ ।
मूल्य उच्च बनेसँगै नेपाली बजारमा सुनको कारोबार भने लगभग ठप्प अवस्थामा पुगेको छ । विवाहको सिजन हुँदाहुँदै पनि सुनको व्यापार निराशाजनक छ । सामान्यतया माघ–फागुनमा दैनिक ५० देखि ६० किलोसम्म सुनको माग हुने गरेकोमा अहिले माग नगण्य मात्रामा सीमित भएको छ । बैंकहरूमा १ सय ३७ किलो सुन थन्किएर बसेको भए पनि खरिदकर्ता नदेखिएको बताईन्छ ।


