सहकारी विभागले एकभन्दा बढी शाखा सञ्चालन गरिरहेका सहकारी संस्थाहरूलाई तत्काल शाखा बन्द गर्न निर्देशन जारी गरेको छ। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस कार्यान्वयन गर्न राष्ट्रिय सहकारी महासंघ तथा विषयगत केन्द्रीय संघहरूलाई पत्राचार गर्दै विभागले यस्तो निर्देशन दिएको हो।
सहकारी विभागका शाखा अधिकृत सरोज भुसालका अनुसार विभागले ६ बुँदे निर्देशन जारी गरेको छ, जसको पहिलो प्राथमिकतामै बहु–शाखा सहकारी संस्थाहरूलाई लक्षित गरिएको छ। परिपत्रको पहिलो बुँदामा एकभन्दा बढी शाखा सञ्चालन गरिरहेका सहकारीहरूले सम्बन्धित शाखाको हिसाब राफसाफ गरी तत्काल बन्द गर्न वा गराउनुपर्ने स्पष्ट व्यवस्था गरिएको छ।
निर्देशनअनुसार अब सहकारी संस्थाहरूले कुनै पनि कम्पनी, फर्म वा संगठित संस्थालाई सदस्य बनाउन पाउने छैनन्। सहकारीको सदस्यता प्राकृतिक व्यक्ति अर्थात् व्यक्तिगत सदस्यमा मात्र सीमित गरिने व्यवस्था कडाइका साथ लागू गर्न भनिएको छ। यसबाट संस्थागत प्रभाव र जोखिम कम गर्ने उद्देश्य लिइएको विभागको भनाइ छ।
त्यस्तै, सहकारी संस्थाले एकै व्यक्तिलाई एक वा बढी तमसुकमार्फत दिने कुल ऋण लगानी संस्थाको कुल सेयर पुँजीको १० प्रतिशतभन्दा बढी हुन नदिने व्यवस्था गर्नुपर्ने निर्देशन दिइएको छ। यसले सहकारीमा एकल व्यक्ति वा सीमित समूहको अत्यधिक नियन्त्रण र जोखिमको सम्भावना न्यून गर्ने लक्ष्य राखेको छ।
बचत तथा ऋण सहकारी संस्थाहरूले अब आफ्नो प्रयोगका लागि बाहेक बिक्री प्रयोजनका लागि जग्गा खरिद गर्न नपाउने भएका छन्। घर–आवास नभएका सदस्यहरूलाई आवास निर्माण प्रयोजनका लागि मात्र अधिकतम १ हजार वर्ग मिटरसम्मको जग्गा खरिद गर्न ऋण दिन सकिने व्यवस्था गर्न पनि निर्देशनमा उल्लेख गरिएको छ।


