Banijya News

आधाले घट्यो बैंकहरूले वितरण गर्ने लाभांश

1
1.1K Shares

पछिल्ला पाँच वर्षको अवधिमा वाणिज्य बैंकहरूले सेयरधनीलाई वितरण गर्ने लाभांश करिब आधाले घटेको छ । नेपाल राष्ट्र बैंक र बैंकहरूको वार्षिक वित्तीय विवरणका आधारमा हेर्दा आर्थिक वर्ष २०७७/७८ को तुलनामा हाल बैंकहरूको औसत लाभांश दर करिब ५० प्रतिशतले घटिसकेको छ । आर्थिक वर्ष २०७७/७८ मा १९ वटा वाणिज्य बैंकहरूले औसतमा १५.८४ प्रतिशत लाभांश वितरण गरेका थिए ।

त्यसपछि आर्थिक वर्ष २०७८/७९ मा बैंकहरूको औसत लाभांश घटेर १२.२७ प्रतिशतमा सीमित थियो । उक्त वर्ष एभरेष्ट बैंकले सबैभन्दा बढी २०.६८ प्रतिशत लाभांश वितरण गरे पनि तीनवटा बैंक लाभांश दिन नसक्ने अवस्थामा पुगेका थिए ।

आर्थिक वर्ष २०७९÷८० मा बैंकहरूको औसत लाभांश एकल अंकमा झरेर ७.२३ प्रतिशतमा सीमित रह्यो । नौ वटा वाणिज्य बैंकले सेयरधनीलाई कुनै पनि लाभांश दिन सकेनन् । नेपाल बैंक, एनएमबी बैंक, प्राइम बैंक, हिमालयन बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लाभांश नदिने सूचीमा परेका थिए ।

आर्थिक वर्ष २०८०/८१ मा औसत लाभांश अझै घटेर ५.३३ प्रतिशतमा झरेको देखिन्छ । गत आर्थिक वर्ष २०८१/८२ मा भने केही सुधारका संकेत देखिए । १३ वटा बैंकले लाभांश वितरण गर्न सफल भए पनि औसत लाभांश ७.४५ प्रतिशतमा मात्र सीमित रह्यो । अझै पनि ६ वटा बैंक लाभांश दिन नसक्ने अवस्थामा छन् । चुक्ता पुँजी वृद्धि गर्न बैंकहरूले मर्जरभन्दा पनि हकप्रद र बोनस सेयरमार्फत पुँजी बढाउने रणनीति अपनाउदै आएका आएका छन् ।

बैंकहरूको खराब कर्जामा भएको वृद्धि भएका कारण लाभांश घट्र्दै गएको छ । घरजग्गा कारोबारमा आएको मन्दी, आर्थिक गतिविधिको सुस्तता र तरलता अभावका कारण कर्जा असुली प्रभावित हुँदा खराब कर्जाको अनुपात बढेको छ । यही कारण नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी, प्रभु, हिमालयन, एनआईसी एशिया र नेपाल बैंकजस्ता बैंकहरूले पछिल्ला तीन वर्षदेखि लाभांश वितरण गर्न सकेका छैनन् ।

1

Scroll to Top