बैंक तथा वित्तीय संस्थामा ऋण नतिर्नेको संख्या बढ्दै जाँदा गैरबैंकिङ सम्पत्तिबढ्दै गएको छ । पछिल्लो एक वर्षमा बैंकहरूमा यस्तो सम्पत्ति ३२.२१ प्रतिशतले वृद्धि भएको छ। एक वर्षमा मात्रै गैरबैंकिङ सम्पत्ति १२ अर्ब ४२ करोड ७८ लाख ८० हजार रुपैयाँले बढ्दै ५१ अर्ब एक करोड ५४ लाख ७० हजार रुपैयाँ पुगेको छ ।
केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा (एनपीए) औसत ५.२६ प्रतिशत पुगेको छ । यसमध्ये वाणिज्य बैंकको कुल कर्जाको ५.०३ प्रतिशत, विकास बैंकको ६.०३ प्रतिशत र वित्त कम्पनीको १२.५२ प्रतिशत कर्जा खराब अवस्थामा पुगेको छ ।
कुन बैंकमा कति ?
बैंंकिङ प्रणालीको सबैभन्दा बढी हिस्सा ओगट्ने वाणिज्य बैंकहरूमा मात्रै कुल ४० अर्ब रुपैयाँमध्ये वाणिज्य बैंकहरूमा मात्रै ४३ अर्ब पाँच करोडबराबरको गैर–बैंकिङ सम्पत्ति छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा भएको यो सम्पत्ति गत वर्षकोभन्दा ३१.८३ प्रतिशतले बढेको हो । गत वर्ष यस्तो सम्पत्ति ३२ अर्ब ६५ करोड ५४ लाख रुपैयाँ थियो ।
कुल २० वाणिज्य बैंकहरूमध्ये ग्लोबल आईएमई बैंकसँग सबैभन्दा बढी पाँच अर्ब ९९ करोड ७० लाख रुपैयाँबराबरको लिलामीको सम्पत्ति थुप्रिएको छ । त्यसैगरी हिमालयन बैंक पाँच अर्ब ९२ करोड १६ लाख रुपैयाँसहित दोस्रो स्थानमा छ । वृद्धिदरका आधारमा हेर्दा नेपाल एसबीआई बैंकको गैरबैंकिङ सम्पत्ति सबैभन्दा धेरै १७२.३३ प्रतिशतले बढेको छ भने प्राइम बैंकको १४७.८१ प्रतिशतले वृद्धि भएको छ । यता, स्ट्यान्डर्ड चार्टर्ड बैंकको भने यस्तो सम्पत्ति शून्य रहेको छ ।
यस्तै, सञ्चालनमा रहेका १७ विकास बैंकहरूमा यस्तो सम्पत्ति चार अर्ब ८८ करोड दुई लाख रुपैयाँ हाराहारीमा छ । यो गत वर्षकोभन्दा ३३.४० प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा तीन अर्ब ६५ लाख ८१ हजार रुपैयाँ थियो । विकास बैंकहरूमध्ये गरिमा विकास बैंकको गैरबैंकिङ सम्पत्तिमा २०३.७७ प्रतिशतको उच्च वृद्धि देखिएको छ । यस्तै, नारायणी डेभलपमेन्ट बैंकको १५३.०१ प्रतिशतले बढेको छ ।
अर्कोतर्फ मितेरी र सिन्धु विकास बैंकले भने आफ्नो गैरबैंकिङ सम्पत्ति घटाउन सफल भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । यता, वित्त कम्पनीहरूको अवस्था झनै भयावह देखिएको छ । सञ्चालनमा रहेको १७ वित्तीय कम्पनीमा गैरबैंकिङ सम्पत्ति तीन अर्ब आठ करोड ४२ करोड रुपैयाँ हाराहारीमा छ । यो गत वर्षकोभन्दा ३५.६३ प्रतिशतले बढी हो । गतवर्षको सोही अवधिमा दुई अर्ब २७ करोड ३९ लाख रुपैयाँ थियो ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार जानकी फाइनान्सको गैरबैंकिङ सम्पत्तिमा १३,७३९.३६ प्रतिशतको अस्वाभाविक वृद्धि देखिएको छ । जुन अघिल्लो वर्ष ९७ हजार मात्र रहेकोमा अहिले एक करोड ३३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, गुहेश्वरी मर्चेन्टको पनि १,३१५.८३ प्रतिशतले यस्तो सम्पत्ति बढेको देखिन्छ । समग्रमा उक्त तथ्यांकले नेपाली बैंकिङ क्षेत्रमा खराब कर्जाका कारण धितो लिलामी हुने क्रम तीव्र बनेको र बैंकहरूले ती सम्पत्ति बिक्री गर्न नसक्दा वित्तीय प्रणालीमा चाप परिरहेको स्पष्ट पारेको छ ।
किन बढ्दै छ गैरबैंकिङ सम्पत्ति
वास्तवमा नेपालको बैंकिङ क्षेत्रमा ऋण दिने प्रणाली धितोमा केन्द्रित छ । अझ धितो पनि घरजग्गालाई नै बढी प्राथमिकता दिइन्छ । तोकिएको समयावधिभित्र ऋण असुल नभएमा बैंक तथा वित्तीय संस्थाहरूले धितोमा भएको घरजग्गा आफ्नो नाममा नामसारी गरेर राख्छन् । यसपछि बिक्री गर्छन् । बैंकले राखेको गैरबैंकिङ सम्पत्ति बेच्नै पर्छ । यसले अन्य सम्पत्ति, रोजगार र अवसर सृजना गर्दैन । बैंकको उद्देश्य घरजग्गा खरिद गरेर राख्ने होइन । यो सम्पत्ति जत्ति तरल भएर ‘मनि क्रियसन’ भयो, त्यति वित्तीय कारोबार बढ्छ । गत मंसिर १० मा सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूलाई गैरबैंकिङ सम्पत्ति बिक्री गर्ने बाटो खोलिदियो ।
अदालतले बैंक तथा वित्तीय संस्थाहरूले यस्तो सम्पत्ति बिक्री गर्न सरकारको स्वीकृत नचाहिने फैसला ग¥यो । जबकी यसअघि बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुलीको क्रममा सकार गरी आफ्ना नाममा दर्ता कायम गरेको गैरबैंकिङ सम्पत्ति तीन वर्षभित्रमा बेचबिखन गर्नुपर्ने, उक्त अवधिभित्र बेचबिखन नगरेमा नेपाल सरकारको स्वीकृति लिएर मात्र बेचबिखन गर्न पाउने भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२ ‘च’ को संशोधित व्यवस्था छ । तर, अदालतको संवैधानिक इजलासले नेपाल सरकारका नाममा अन्तरिम आदेश जारी गर्दै उक्त व्यवस्था कार्यान्वयन गर्न नपर्ने गरी बाटो खोलिदियो ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सम्पत्ति व्यवस्थापन गर्न छुट्टै कम्पनी स्थापना गर्ने घोषणा गरेको करिब डेढ वर्ष बितेको छ । यस्तो कम्पनी स्थापना गर्न आवश्यक कानुनको मस्यौदा बनाएर सरकारलाई पेस गर्ने भनिएको थियो । यसलाई सरकारको वित्त नीतिले पनि सम्बोधन गरेको थियो । यसपछि “बैंक तथा वित्तीय संस्थाको निष्क्रिय सम्पत्ति तथा गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने प्रयोजनका लागि सम्पत्ति व्यवस्थापन ऐनको मस्यौदा तर्जुमा गरी सरकारसमक्ष पेस गरिने छ,” मौद्रिक नीतिमा उल्लेख गरियो । यस्तो कम्पनी स्थापना भएमा बैंकहरूको सम्पत्ति व्यवस्थापनमा सहज हुने विश्वास लिइएको थियो ।
गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्ने कम्पनी स्थापनाका लागि राष्ट्र बैंकको नियमन विभागका प्रमुखको संयोजकत्वमा एउटा समिति गठन गरिएको थियो । तत्कालीन समयमा नियमन विभागको प्रमुखको रूपमा गुरुप्रसाद पौडेलले नै यस प्रक्रियाको नेतृत्व गरेका थिए । समितिको मुख्य जिम्मेवारी यससम्बन्धी ऐनको मस्यौदा तयार पार्नु थियो । गैरबैंकिङ सम्पत्ति केवल बैंकिङ क्षेत्रको मात्र समस्या नभई समग्र अर्थतन्त्रमा मागको कमी र ऋण असुलीमा देखिएको अवरोधको परिणाम भएको बताईन्छ ।
तर, यति लामो अवधिसम्म पनि उक्त प्रस्तावित ऐनको मस्यौदा अझै फाइनल भइसकेको छैन । उक्त मस्यौदालाई स्वीकृतिको प्रक्रियामा लगेर अर्थ मन्त्रालय पठाउनका लागि समेत अझै स्वीकृत भएको छैन । मस्यौदा स्वीकृत नभई सार्वजनिक गर्दा पछि बुँदाहरू परिवर्तन हुन सक्ने सम्भावना रहने हुनाले यसलाई गोप्य नै राखिएको छ ।
गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत सम्पत्ति व्यवस्थापन कम्पनी (एसेट म्यानेजमेन्ट कम्पनी) स्थापना गर्ने घोषणा गरेको थियो । त्यसपछि राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा अध्ययन समिति पनि गठन गरिएको थियो ।
तर, समिति गठन भएको लामो समय बितिसक्दा पनि कम्पनी स्थापनाको प्रक्रिया अघि बढ्न सकेको छैन । यसले केन्द्रीय बैंकको प्राथमिकतामा सम्पत्ति व्यवस्थापन कम्पनी पर्न नसकेको देखिएको छ । खराब कर्जाको आकार बढ्दै जानु र ऋणीबाट लिलामी गरिएका घरजग्गा तथा अन्य धितो सम्पत्ति लामो समयसम्म बिक्री हुन नसक्दा गैरबैंकिङ सम्पत्ति झनै थुप्रिँदै गएको हो । ऋण तिर्न नसक्ने ऋणीको संख्या बढेपछि बैंकहरूले धितो स्वरूप राखिएका घर तथा जग्गा लिलामीमा राखेका छन् । तर, बजारमा माग कमजोर हुँदा ती सम्पत्ति बिक्री हुन सकेका छैनन् ।


