Banijya News

सहकारीको ६ अर्ब ३० करोड रकम अपचलन गरेर सेयर बजारमा लगानी

1
1.2K Shares

ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका सञ्चालकहरूले कागजी कम्पनी खडा गरी करिब २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोड रुपैयाँ अपचलन गरी सेयर बजारलगायत विभिन्न क्षेत्रमा लगानी गरेको खुलासा भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार सहकारीको रकम ३० वटा कम्पनीका नाममा ऋण प्रवाह गरी सेयर, हाइड्रोपावर, इन्भेस्टमेन्ट र अन्य व्यावसायिक क्षेत्रमा लगानी गरिएको देखिएको हो । तीमध्ये अधिकांश कम्पनी अस्तित्वमै नभएका वा कागजमै सीमित रहेको समितिले जनाएको छ । समितिले शंकास्पद ऋण प्रवाह र सेयरमा गरिएको लगानीबारे गहिरो अनुसन्धान आवश्यक देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई अनुसन्धानका लागि सिफारिस गरेको छ । समितिका अध्यक्ष श्रीमणकुमार गौतमका अनुसार सहकारीको रकम सेयर र अन्य लगानीमा प्रयोग गरिएको भए पनि त्यसबाट आएको कुनै प्रतिफल बचतकर्ताको हितमा प्रयोग नभएको पाइएको छ ।

४ चैत २०८० मा समस्याग्रस्त घोषित सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ र कार्यकारी अधिकृत तथा सचिव सुरेन्द्र भण्डारी रहेका छन् । भण्डारी कांग्रेसको वित्तीय तथा सहकारी विभागका पूर्वसचिवसमेत हुन् । उपाध्यक्ष हजुरी विष्ट, कोषाध्यक्ष अमृतकुमार अर्याल तथा सञ्चालक समिति सदस्य कदम जोशी र भोलाकुमार श्रेष्ठ पनि प्रकरणमा जोडिएका छन् । समितिको विवरणअनुसार कार्यकारी अधिकृत भण्डारी प्रत्यक्ष संलग्न रहेका १० कम्पनीमार्फत मात्रै १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ ऋण प्रवाह गरी सेयर र इन्भेस्टमेन्ट क्षेत्रमा लगानी गरिएको छ । सिन्धुपाल्चोकको भैरवकुण्ड हाइड्रोपावर र अभिनय इन्भेस्टमेन्ट ट्रेनिङ कम्पनी फिल्डमा देखिए पनि सञ्चालनमा नरहेको पाइएको छ ।

भण्डारी समूहले लालीगुराँस जनस्वास्थ्य सहकारी, लालीगुराँस प्रोफेसनल लर्निङ सेन्टर, स्वागत इन्भेस्टमेन्ट ट्रेनिङ, पेज टु प्रिन्ट मिडिया, लालीगुराँस अस्पताल, एजुकेसन फाउन्डेसन, डेरी फर्म र एग्रिकल्चर प्रोजेक्ट प्रोडक्टजस्ता कम्पनीमार्फत सहकारीको रकम सेयर र व्यावसायिक लगानीमा प्रयोग गरेको समितिको निष्कर्ष छ । तीमध्ये धेरै कम्पनीको कार्यालयसमेत फेला परेको छैन । भण्डारी संलग्न कम्पनीबाहेक अन्य ३० कम्पनीमा पनि सहकारीबाट करिब १ अर्ब रुपैयाँ सेयर र अन्य क्षेत्रमा लगानीका नाममा ऋण प्रवाह गरिएको पाइएको छ । अग्नि एयर, सुजस कन्स्ट्रक्सन, हेलम्बु कन्स्ट्रक्सन, फूलबारी मिनी मार्केट र मुगल गार्डेन रेस्टुरेन्टलगायत कम्पनी यसमा समावेश छन् ।

यस प्रकरणमा ६५ वर्षीय बचतकर्ता महेश थापाले उजुरी दिएपछि अध्यक्ष श्रेष्ठ, सचिव भण्डारी, कोषाध्यक्ष अर्याल र सञ्चालक कदम जोशी पक्राउ परे पनि धरौटीमा छुटेका छन् । ८ साउन २०८१ मा जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता भई हाल विचाराधीन छ । अदालतमा पेस अभियोगपत्रअनुसार सञ्चालकहरूले नक्कली ऋणी देखाई सहकारीको रकम सेयर र अन्य लगानीमा प्रयोग गरी व्यक्तिगत लाभ लिएको पुष्टि भएको छ । सहकारीको रकम अपचलन गरी अकुत सम्पत्ति आर्जन गरेको आशंकामा उनीहरूमाथि सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार समेत अनुसन्धान भइरहेको अभियोजन पक्षले जनाएको छ ।

1

Scroll to Top