Banijya News

शेयर धितो कर्जा ५.७ प्रतिशतले वृद्धि, कुन बैंकले कति ?

1
1.2K Shares

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सीमा हटाएपछि बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने शेयर धितो कर्जा उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिरसम्म बैंकहरूले १ खर्ब ४८ अर्ब ७८ करोड रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह गरेका छन्, जुन असार मसान्तको तुलनामा ५.७ प्रतिशतले बढी हो। वित्तीय प्रणालीमा अधिक तरलता रहे पनि अन्य क्षेत्रतर्फ कर्जाको माग कमजोर भइरहेका बेला बैंकहरूले शेयर धितो कर्जालाई प्राथमिकतामा राखेका हुन्। राष्ट्र बैंकको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी ५० लाखदेखि १ करोड रुपैयाँसम्मको शेयर धितो कर्जा ११.७ प्रतिशतले वृद्धि भएको छ।

२५ लाख रुपैयाँभन्दा कमको शेयर धितो कर्जा ४.१ प्रतिशतले बढेको छ भने २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा ६.७ प्रतिशतले वृद्धि भएको देखिन्छ। वित्तीय प्रणालीमा अधिक तरलता र ब्याजदर न्यून भए पनि कर्जाको माग नभइरहेका बेला बैंकहरूले शेयर धितो कर्जा प्रवाहलाई प्राथमिकता दिएका हुन् । कर्जा प्रवाह बढाउनकै लागि लचिलो नीति लिएको राष्ट्र बैंकले असोज दोस्रो साता निर्देशन जारी गरी व्यक्तिगत शेयर धितो कर्जामा कायम रहेको २५ लाख रुपैयाँको सीमा हटाएको छ । त्यसअघि २०८१ साउनबाट संस्थागत लगानीकर्ताका लागि सीमा हटाएको थियो । राष्ट्र बैंकले सीमा हटाएसँगै बैंकहरूबाट ठूलो आकारको शेयर धितो कर्जा वृद्धि हुन थालेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताको पहुँच अभिवृद्धि गर्ने भन्दै आव २०७८/७९ को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले शेयर धितो कर्जामा सीमा तोक्न थालेको हो । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र लिन सक्ने गरी सीमा तोकेको थियो ।

आव २०७९/८० को मौद्रिक नीतिबाट एक संस्थाबाट ४ करोड रुपैयाँमात्र लिन पाउने सीमा हटाएको केन्द्रीय बैंकले त्यसपछि व्यक्तिगत लगानीकर्तालाई १२ करोड र संस्थागत लगानीकर्ताका लागि भने २० करोड सीमा तोकेको थियो । आव २०८१/८२ को मौद्रिक नीतिबाट भने संस्थागत लगानीकर्ताका लागि सीमा हटाएको राष्ट्र बैंक २०८२ असोजबाट शेयर धितो कर्जाको व्यवस्थाबाट पछि हटेको हो ।

सीमा तोकेपछि बैंकहरूले शेयर धितोमा प्रवाह गरेको १ करोड रुपैयाँमाथिको कर्जा ३९ दशमलव १५ प्रतिशतले घट्दा १० प्रतिशतले वृद्धि भएको थियो । तर, सीमा हटेपछि भने ठूलो आकारको कर्जा बढ्दै गएको छ । संस्थागत लगानीकर्ताको सीमा हटेको एक वर्षमै १ करोड रुपैयाँमाथिको शेयर धितो कर्जा दोब्बरले वृद्धि भएको छ । यसैगरी व्यक्तिगत लगानीकर्ताको हकमा पनि सीमा हटेपछि २५ लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जाको वृद्धिदर धेरै रहेको पाइएको छ ।

वाणिज्य बैंकको शेयर धितो कर्जा ४५.६५ प्रतिशतले बढ्यो

गत आर्थिक वर्षको मंसिरसम्ममा वाणिज्य बैंकले शेयर धितो कर्जा मार्फत ८६ अर्ब ३३ करोड रुपैयाँ प्रदान गरेका थिए । समिक्षा अवधिसम्ममा १ वाणिज्य बैंकले मार्फत शेयर धितो कर्जा घटाएका छन् भने अन्य बैंकहरुको उल्लेख्य बढेको छ । यसअवधिसम्ममा नबिल बैंकले सर्वाधिक शेयर धितो कर्जा प्रवाह गरेको छ । बैंकको उक्त कर्जा ३८.९५ प्रतिशतले बढेर १५ अर्ब ८३ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

साथै, ग्लोबल आइएमई बैंकको शेयर धितो कर्जा १९.४९ प्रतिशतले बढेर १३ अर्ब ५२ करोड, कुमारी बैंकको ५१.१० प्रतिशतले बढेर १० अर्ब २७ करोड, प्राइम बैंकको ६१.५५ प्रतिशतले बढेर ९ अर्ब ४२ करोड, सिद्धार्थ बैंकको ११.३३ प्रतिशतले बढेर ८ अर्ब ७९ करोड, लक्ष्मी सनराइज बैंकको १२१.६३ प्रतिशतले बढेर ८ अर्ब ३० करोड र राष्ट्रिय वाणिज्य बैंकको ७७.६९ प्रतिशतले बढेर ७ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

Margin Nature Loan of Commercial Banks (Rs. in 10 Lakhs)

विकास बैंकहरुले दिए साढे १९ अर्ब शेयर धितो कर्जा

मंसिर मसान्तसम्मको अवधिमा विकास बैंकले १० अर्ब ४४ करोड ७३ रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन् । उक्त कर्जा गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा ११.३९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको मंसिर महिनासम्म विकास बैंकहरुले १७ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका थिए । यसअवधिमा २ विकास बैंकले मात्रै शेयर धितो कर्जा घटाएको हो ।

विकास बैंकहरुमा सबैभन्दा बढी शेयर धितो कर्जा प्रवाह गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकको शेयर धितो कर्जा ११.४५ प्रतिशतले बढेर ३ अर्ब ८४ करोड १० लाख रुपैयाँ रहेको हो । त्यस्तै, समिक्षा अवधिमा गरिमा विकास बैंकको १.०९ प्रतिशतले बढेर २ अर्ब ६३ करोड ४५ लाख र महालक्ष्मी विकास बैंकको ८.३३ प्रतिशतले बढेर २ अर्ब ३१ करोड ३२ लाख रुपैयाँ शेयर धितोकर्जा दिएको हो ।

1

Scroll to Top