चालु आर्थिक वर्षको ६ महिनामा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता ५२ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्ष एफडीआई प्रतिबद्धता बढेको देखिएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ३९ अर्ब १९ करोड ६१ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २५ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।
चालु आर्थिक वर्षको ६ महिनामा ४७५ वटा उद्योगमा विदेशी लगानी स्वीकृत गरिएको विभागको तथ्यांक छ । ‘अप्रभुल रुट’ बाट १६१ र स्वचालित मार्गबाट ३१४ उद्योगमा लगानी स्वीकृत गरिएको हो । कुल २० हजार १ सय २२ जनालाई रोजगारी प्रस्ताव गरिएको विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३१४ उद्योगमा २५ अर्ब ७७ करोड रुपैयाँ लगानी स्वीकृत गरिएको थियो । त्यसबाट १० हजार २ सय ४४ जनालाई रोजगारी दिने प्रस्ताव गरिएको छ ।
ठूला उद्योगहरूले कुल प्रतिबद्धताको ठूलो हिस्सा ओगटेका छन् । सातवटा उद्योगमार्फत २३.१४ अर्ब बराबरको लगानी ठूला उद्योगमा आएको छ । साना उद्योगले ४६० वटा परियोजनामार्फत १३.७२ अर्ब रुपैयाँ प्रतिबद्धता आएको छ भने आठवटा परियोजनामार्फत मध्यम उद्योगमा २.३९ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको हो । चालु आर्थिक वर्षको साउन महिनामा सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको थियो भने पुसमा सबैभन्दा कम आएको थियो । साउनमा २४ अर्ब १० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ । भदौमा ८ अर्ब ९८ करोड रुपैयाँ लगानी प्रतिबद्धता आउन असोजमा २ अर्ब ४ करोड, कात्तिकमा १ अर्ब ५४ करोड र मंसिरमा १ अर्ब ९१ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । सबैभन्दा कम पुसमा ५९ करोड ९५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ ।
विदेशी लगानी प्रतिबद्धता बढे पनि भित्रिने रकम न्यून रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले नै देखाउँछ । प्रतिबद्धता आएको सबै विदेशी लगानी सोही अवधिमा आउँछ वा आउनुपर्छ भन्ने नीतिगत व्यवस्था नरहेको सरोकारवाला बताउँछन् । चालु आर्थिक वर्षको पाँच महिनामा साढे ७ अर्ब रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (इक्विटी) भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । जुन गत आर्थिक वर्षको तुलनामा बढी हो । जबकि गत आर्थिक वर्षको पाँच महिनामा ६ अर्ब ३ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (इक्विटी) भित्रिएको थियो ।
विदेशी मुद्रा सञ्चितिको स्रोत कुनै बेला विदेशी ऋण भए पनि अहिले रेमिट्यान्स भइरहेको भन्दै उनले एफडीआई भित्र्याउन सकेको छैन । धेरै एफडीआई भित्रिएको वर्ष पनि कोरोना महामारीअघि करिब २ वर्ष हरेक वर्ष १९ अर्बको हाराहारीमा भित्रिएको थियो । सानो बजार रहेकाले छिमेकी मुलुकसँग व्यापार सम्बन्धलाई पनि लगानीकर्ताहरूले हेर्ने भएकाले छिमेकी मुलुकसँग सम्बन्ध सुमधुर नभएकाले पनि लगानी भित्रिन नसकेको हो ।
राष्ट्र बैंकअनुसार सबैभन्दा बढी मंसिरमा ४ अर्ब ९८ करोड १ लाख रुपैयाँ विदेशी लगानी भित्रिएको छ । सबैभन्दा कम असोजमा ४६ करोड ७४ लाख रुपैयाँ लगानी भित्रिएको थियो । राष्ट्र बैंकका अनुसार साउनमा ६९ करोड १५ लाख, भदौमा ५८ करोड १९ लाख र कात्तिकमा ७५ करोड १२ लाख रुपैयाँ भित्रिएको छ । सरकारले विदेशी लगानी स्वीकृत गर्दा लगानीकर्तालाई चरणबद्ध रूपमा (किस्तामा) लगानी भित्र्याउन अनुमति दिने गरेको समेत सरोकारवालाको भनाइ छ ।
प्रतिबद्धता तथा स्वीकृत रकम एकैपटक नभित्रिनेसमेत सरकारी अधिकारी नै बताउँछन् । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले विदेशी लगानी भित्र्याउन इच्छुक लगानीकर्तालाई द्रुत मात्रामा लगानी भित्र्याउन सक्ने व्यवस्था मिलाउने र एकल बिन्दु सेवा प्रभावकारी बनाउनुपर्ने बताए । उनले लगानी प्रोत्साहन गर्न अवितरित नाफाको पुनः लगानी गर्ने कानुन र प्रक्रियालाई सरलीकृत गर्नुपर्नेसमेत जनाए ।


