सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण तथा अपरेसनल प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। प्रदेश १ र २ का कर्मचारीहरूलाई लक्षित गरी आयोजित यो प्रशिक्षण कार्यक्रम माघ ३ र ५ गते सम्पन्न भएको हो। कम्पनीका प्रमुख सञ्चालन अधिकृत ज्ञान रायमाझी, अभिकर्ता विभाग प्रमुख विशाल श्रेष्ठ, ग्राहक सेवा विभाग प्रमुख ज्ञानेन्द्र देव भट्ट र दाबी विभाग प्रमुख सञ्जिव सिंहले प्रशिक्षण प्रदान गरेका थिए।
प्रमुख सञ्चालन अधिकृत रायमाझीले प्रशिक्षणमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने समस्या र तिनको समाधान, सम्बन्धित ऐन, नियमावली तथा निर्देशन अनुसारको प्रभावकारी कार्यान्वयन, नीति, कार्यविधि, नियन्त्रण प्रणाली, जनशक्ति र साधन स्रोतको व्यवस्थापनलगायत विषयमा जानकारी दिएका थिए।
प्रशिक्षण कार्यक्रमले कर्मचारीको क्षमता र सीप अभिवृद्धि गर्न, बदलिँदो बिमा वातावरणसँग अनुकूल हुन र ग्राहकलाई निष्पक्ष तथा चुस्त सेवा प्रदान गर्न मद्दत गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ। कार्यक्रममा विभागीय प्रमुखहरूले अभिकर्ता र ग्राहकलाई उच्च गुणस्तरको सेवा दिन अपनाउनुपर्ने प्रक्रिया र तरिकाहरूमा केन्द्रित छलफल पनि गरेका थिए।
कम्पनीले भविष्यमा देशभरिका शाखा तथा प्रादेशिक कार्यालयमा यस्ता प्रशिक्षण कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ। यससँगै, कम्पनीले आफ्ना कर्मचारीलाई विदेशमा समेत विभिन्न प्रकारका प्रशिक्षण उपलब्ध गराउँदै आएको छ। हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६९ शाखा नेटवर्क मार्फत सेवा दिँदै आएको छ। कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी छ भने लगानी २० अर्ब रुपैयाँभन्दा बढी भइसकेको छ। कम्पनीमा हाल २०,००० भन्दा बढी अभिकर्ता कार्यरत छन्।


