वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) ५.०८ प्रतिशत पुगेको छ । दोस्रो त्रैमाससम्म आइपुग्द बैंकहरुको निष्क्रिय कर्जा ४.४९ प्रतिशतबाट औसतमा ५.०८ प्रतिशत पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको निष्क्रिय कर्जा ४.४९ प्रतिशत रहेको थियो । बैंकले निष्क्रिय कर्जा घटाउन सफल भए पनि अधिकांश बैंकको भने कर्जा जोखिम बढेको देखिएको छ । चालु आवको दोस्रो त्रैमासमा ८ वटा वाणिज्य बैंकले निष्क्रिय कर्जा घटाउँदा १२ वटा बैंकको भने यस्तो कर्जा बढेको छ ।
निष्क्रिय कर्जा बढेसँगै बैंकहरूले सम्भावित कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउने प्रोभिजन रकम पनि उल्लेख्य रूपमा बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूले कर्जा नोक्सानी व्यवस्थाका लागि २८ अर्ब ७५ करोड रुपैयाँ छुट्याएका छन् । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.५४ प्रतिशतले बढी हो । गत आवको दोस्रो त्रैमासमा बैंकहरूले २४ अर्ब ६७ करोड रुपैयाँ प्रोभिजन गरेका थिए ।
चालु आवको पुससम्ममा नबिल बैंक, नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंकसहित ८ वटा बैंकको निष्क्रिय कर्जा घटेको छ भने अधिकांश बैंकको निष्क्रिय कर्जा बढेको देखिएको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षमा कुल निष्क्रिय कर्जाको सीमा ५ प्रतिशतबाट बढाएर ८ प्रतिशत पु¥याएपछि केही बैंकको निष्क्रिय कर्जा ८ प्रतिशत नजिक पुगेको छ ।
चालु आवको दोस्रो त्रैमाससम्म सबैभन्दा धेरै निष्क्रिय कर्जा हिमालयन बैंकको रहेको छ । गत आवको दोस्रो त्रैमासमा ४.९८ प्रतिशत रहेको उक्त बैंकको निष्क्रिय कर्जा बढेर ७.९६ प्रतिशत पुगेको छ । त्यस्तै, प्रभु बैंकको निष्क्रिय कर्जा ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुगेको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको निष्क्रिय कर्जा ५.८६ प्रतिशतबाट बढेर ७.९० प्रतिशत पुगेको छ भने एनआईसी एशिया बैंकको ४.६१ प्रतिशतबाट बढेर ७.४७ प्रतिशत पुगेको छ ।
निष्क्रिय कर्जा घटाउने बैंकतर्फ नेपाल एसबिआई बैंक अग्रस्थानमा देखिएको छ । बैंकको निष्क्रिय कर्जा ३.५५ प्रतिशतबाट घटेर २.४६ प्रतिशतमा झरेको छ । सिद्धार्थ बैंकको निष्क्रिय कर्जा १.०५ प्रतिशत बिन्दुले घटेर ३.४५ प्रतिशतमा झरेको छ । नबिल बैंकको निष्क्रिय कर्जा ०.६८ प्रतिशत बिन्दुले घटेर ४.२५ प्रतिशत पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा ०.६० प्रतिशत बिन्दुले घटेर ४.३६ प्रतिशतमा झरेको छ ।
त्यस्तै, माछापुच्छ्रे बैंकको निष्क्रिय कर्जा ०.२९ प्रतिशत बिन्दुले घटेर ४.२५ प्रतिशत हुँदा कृषि विकास बैंकको ०.२५ प्रतिशत बिन्दुले घटेर ४.६५ प्रतिशत पुगेको छ । कुमारी बैंकको निष्क्रिय कर्जा ०.०४ प्रतिशत बिन्दुले घटेर ६.९२ प्रतिशतमा झरेको छ । निष्क्रिय कर्जा बढेसँगै अधिकांश बैंकको कर्जा नोक्सानी व्यवस्थामा गरिएको प्रोभिजन रकम पनि बढेको छ । चालु आवको दोस्रो त्रैमासमा लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र एनआईसी एशिया बैंकले सबैभन्दा बढी प्रोभिजन गरेका छन् । लक्ष्मी सनराइज बैंकले ४ अर्ब ४७ करोड रुपैयाँ प्रोभिजन छुट्याएको छ, जुन गत आवको सोही अवधिमा १ अर्ब ९२ करोड रुपैयाँ थियो ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको प्रोभिजन रकम ७४.५९ प्रतिशतले बढेर ३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ भने एनआईसी एशिया बैंकको ३.११ प्रतिशतले बढेर २ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । ग्लोबल आइएमई बैंकले २ अर्ब ४० करोड रुपैयाँ र सिटिजन्स बैंकले १ अर्ब ८३ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याएका छन् ।
यसैगरी कृषि विकास बैंकको प्रोभिजन रकम ९०.०२ प्रतिशतले बढेर १ अर्ब ६२ करोड ९४ लाख रुपैयाँ पुगेको छ । एनएमबि बैंकको प्रोभिजन ३५० प्रतिशतले बढेर १ अर्ब ५५ करोड २२ लाख रुपैयाँ पुगेको छ भने कुमारी बैंकको प्रोभिजन रकम ५३.९४ प्रतिशतले घटेर १ अर्ब ५० करोड ७५ लाख रुपैयाँमा झरेको छ । नबिल बैंकले भने ४ करोड ८८ लाख रुपैयाँ प्रोभिजन राइटब्याक गरेको छ । निष्क्रिय कर्जा र प्रोभिजनको अवस्था हेर्दा बैंकिङ क्षेत्रमा कर्जा जोखिम व्यवस्थापन अझ चुनौतीपूर्ण बन्दै गएको देखिन्छ ।


