Banijya News

वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि

1
1.1K Shares

वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि आएको छ । चालु आर्थिक वर्षको पहिलो छ महनामा वीरगञ्जबाट रू एक अर्ब ३६ करोड २९ लाख मूल्य बराबरका चार सय ५६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् ।

गत आवको छ महिनाको तुलनामा चालु आवमा सङ्ख्याको आधारमा विद्युतीय सवारीसाधनको आयात तिन सय ३२ ले बढेको छ । चालु आवको छ महिनामा विद्युतीय सवारीसाधनको आयातबाट मात्रै रू ८७ करोड ८४ लाख राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षमा यो नाका हुँदै विद्युतीय सवारीसाधनको आयात बढेसँगै राजस्व सङ्कलन पनि बढेको बताए ।

गत आवको छ महिनामा भने रू ३० करोड २६ लाख मूल्यका एक सय २४ विद्युत्बाट चल्ने जीप, कार र भ्यान आयात भएको थियो । ती सवारीसाधनको आयातबाट रू २४ करोड २९ लाख राजस्व सङ्कलन भएको थियो । वीरगञ्ज नाका हुँदै चालु आवको छ महिनामा रु ९३ करोड मूल्यका इन्धनबाट चल्ने चार सय ३४ जिप, कार र भ्यान आयात भएको छ ।

ती सवारीसाधनको आयात हुँदा दुई अर्ब ५६ करोड राजस्व सङ्कलन भएको छ । गत आवको छ महिनामा भने रू एक अर्ब १७ करोड मूल्यका पाँच सय ९२ इन्धनबाट चल्ने जिप कार र भ्यान आयात भएका थिए । गत आवको छ महिनामा ती सवारीसाधनको आयातबाट रू तीन अर्ब नौ करोड राजस्व सङ्कलन भएको थियो ।

1

Scroll to Top