Banijya News

जेन्-जी प्रदर्शनमा भएको क्षतिको ६ अर्ब बिमा दाबी भुक्तानी

1
1.1K Shares

गत २३ र २४ भदौको प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बिमा दाबी साढे २३ अर्ब रुपैयाँ बराबरको परेकामा ६ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको छ । यही ५ माघसम्मको तथ्यांकअनुसार बिमा कम्पनीहरूमा २३ अर्ब ७७ करोड २८ लाख रुपैयाँको दाबी परेको थियो । त्यसमध्ये माघ पहिलो सातासम्म ५ अर्ब ९८ करोड २ लाख रुपैयाँ मात्र भुक्तानी भएको बिमा प्राधिकरणको तथ्यांक छ ।

प्रदर्शनका क्रममा भएको क्षतिमा परेको दाबी हालसम्मकै सबैभन्दा धेरै भएको पनि बिमा कम्पनीहरूको भनाइ छ । यसअघि २०७२ को भूकम्पमा १७ अर्ब र अघिल्लो वर्षको असोजमा आएको बाढीमा करिब १३ अर्बको बिमा दाबी परेको थियो  । माघ पहिलो सातासम्म भुक्तानी भएको रकममा अग्रिम भुक्तानीसमेत रहेको प्राधिकरणले प्रस्ट्याएको छ । सो अवधिमा भुक्तानी रकम कुल दाबीको करिब २५.१५ प्रतिशत मात्र हो । गत सातासम्म बिमा कम्पनीहरूमा ३ हजार ३ सय ३४ दाबी परेका छन् ।

बिमा कम्पनीले गरेको दाबी भुक्तानीमा नियामक निकाय बिमा प्राधिकरणले सन्तोषजनक भएको धारणा राखेको छ । नेपालजस्तै सामाजिक, आर्थिक अवस्था भएका अरू देशमा पनि यही गतिमा बिमा भुक्तानी हुने गरेको प्राधिकरणको दाबी छ । दाबी भुक्तानीका लागि प्रारम्भिक मूल्यांकन हुनुपर्ने र मूल्यांकन पूरा भएकाहरूको हकमा बिमा भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ । मूल्यांकन पूरा नभएको/प्रक्रियामा रहेका दाबीको हकमा भुक्तानी बाँकी रहेको जनाइएको छ ।

अहिले बिमा कम्पनीका कारणले भन्दा पनि धेरै दाबीमा प्रक्रिया नपुगेकाले अपेक्षाअनुसार भुक्तानी गर्न नसकिएको बिमक संघका अध्यक्ष पूर्वअध्यक्ष चंकी क्षेत्रीले बताए । उनका अनुसार भुक्तानीका लागि बिमा कम्पनीसँग फन्ड (पैसा) को अभाव छैन । प्रक्रिया पूरा भएर कम्पनीमा आएकाको दाबी रोकिएको छैन ।

नेपाल पुनर्बिमा कम्पनीले पनि पुनर्बिमाबापत रकमको पेस्की दिएको छ । तर केही दाबीमा मूल्यांकन सकिएको छैन भने केहीमा आवश्यक न्यूनतम कागजात पनि नपुगेको उनको भनाइ छ । माघ पहिलो सातासम्म भएको दाबी भुक्तानीमध्ये सबैभन्दा बढी ४ अर्ब ८ करोड ९३ लाख रुपैयाँ सम्पत्ति बिमा (घर सम्पत्ति) अन्तर्गतको छ । सम्पत्ति बिमामा घर, अपार्टमेन्टलगायत स्थिर सम्पत्ति पर्छन् । यो बिमामा ७ सय १६ वटा दाबीमा १८ अर्ब ९५ लाखको मागदाबी परेको छ । सम्पत्ति बिमापछि धेरै भुक्तानी भएको मोटर बिमा हो । जसमा १ अर्ब ७० करोड २४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ ।

ठेकेदार तथा इन्जिनियरिङ बिमामा ९ करोड ४७ लाख, पारवहन बिमामा १ करोड ५९ लाख र अन्य बिमामा ७ करोड ७७ लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ । खासगरी ठूला क्षतिमा मूल्यांकन र प्रक्रियागत काम नसकिएकाले परेको दाबीमध्ये कम मात्र बिमा भएको देखिएको बिमा कम्पनीहरूले जनाएका छन् ।

भुक्तानी भएकामध्ये पनि धेरै रकम पेस्कीबापत दिइएको बिमा कम्पनीहरूको भनाइ छ । उनीहरूका अनुसार पूर्ण क्षति भएका सवारीसाधनलगायत सम्पत्तिको बिमा भुक्तानी गर्न समय नलागे पनि ठूला क्षतिमा मूल्यांकन (सर्भेयर) को प्रतिवेदन आउन समय लाग्ने भएकाले भुक्तानी रकम धेरै नदेखिएको कम्पनीहरू बताउँछन् । पछिल्लो प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बिमा दाबीमध्ये ७०.५४ प्रतिशत सवारीसाधन (मोटर) बिमाको रहेको पाइएको छ । हालसम्म बिमा कम्पनीहरूमा करिब ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको २ हजार ३ सय ३० वटा दाबी सवारी बिमामा परेको छ ।

प्रादेशिक रूपमा हेर्दा सबैभन्दा धेरै क्षति बागमतीमा रहेको देखिएको छ । सम्पत्ति धनीले क्षतिबापत गरेको बिमा दाबीको तथ्यांकले यस्तो देखाएको हो । यसअनुसार बागमतीमा मात्र ५४ प्रतिशत अथवा १ हजार ८ सय २८ वटा दाबी परेका छन् । दोस्रोमा, ४ सय ७ दाबी कोशीमा परेका छन् । तेस्रोमा, मधेशमा ३ सय ७८ वटा दाबी परेका छन् । लुम्बिनीमा २ सय ५७, गण्डकीमा २ सय २२, सुदूरपश्चिममा २ सय १२ र कर्णालीमा ३० वटा बिमा दाबी परेको बिमा प्राधिकरणले जनाएको छ ।

1

Scroll to Top