Banijya News

फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा १३.३४ प्रतिशत, कुनको कति ?

1
1.2K Shares

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्स कम्पनीहरुको निष्क्रिय कर्जा दर (एनपीएल) औसत १३.३४ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरुको औसत एनपीएल १२.४८ प्रतिशत रहेको थियो । वित्तीय विवरण अनुसार फाइनान्सहरुको एनपीएल अघिल्लो वर्षको तुलनामा बढेको देखिएको छ । हाल केही फाइनान्सहरुको एनपीएल ३.५१ प्रतिशतमा सीमित रहे पनि केहीको भने ५५.२६ प्रतिशतसम्म पुगेको छ । केही कम्पनीमा अत्यधिक र केहीमा न्यून एनपीएल रहेकाले समग्र औसत १३.३४ प्रतिशत पुगेको देखिन्छ ।

विज्ञहरुका अनुसार आर्थिक गतिविधिमा आएको सुस्तता, व्यवसायिक कर्जा प्रवाह कमजोर हुनु, रियल स्टेट तथा व्यापार क्षेत्रमा कर्जा असुली प्रभावित हुनु तथा ऋणीहरुको नगद प्रवाह कमजोर हुनु एनपीएल बढ्नुका प्रमुख कारण हुन् । त्यसैगरी, पुराना कर्जाको पुनर्संरचना तथा पुनःतालिकीकरणपछि पनि असुली अपेक्षाअनुसार नहुनुले फाइनान्स कम्पनीहरुको कर्जा गुणस्तरमा दबाब परेको बताइन्छ ।

यता, साना तथा मध्यम व्यवसायमा केन्द्रित फाइनान्स कम्पनीहरुमा जोखिम बढी देखिएको छ । जसमध्ये सबैभन्दा धेरै एनपीएल हुनेमा जानकी फाइनान्स रहेको छ । यसको एनपीएल ५५.२६ प्रतिशत छ । गत वर्षको पुसमा यस कम्पनीको निष्कृय कर्जा अनुपात ४०.८८ प्रतिशत थियो ।

पोखराको एनपीएल २५.१० प्रतिशत, गोर्खाजको १७.४६ प्रतिशत, नेपाल फाइनान्सको १६.४३ प्रतिशत, सेन्ट्रल फाइनान्सको १४.१८ प्रतिशत र बेष्ट फाइनान्सको एनपीएल १३.८७ प्रतिशत छ । सूचीकृत ६ वटा फाइनान्सको एनपीए १० प्रतिशत भन्दा धेरै छ । रिपोर्ट अनुसार आइसीएफसी फाइनान्सको एनपीएल ३.५१ प्रतिशत छ । मञ्जुश्रीको ३.६४ प्रतिशत र श्री इन्भेष्टमेन्टको उक्त दर ३.८३ प्रतिशत छ ।

वित्तीय संस्थाहरुले ब्याज अनुदान दिएकै क्षेत्रहरूमा निष्क्रिय कर्जा बढी

बैंक तथा वित्तीय संस्थाले ब्याज अनुदानको सुविधा दिइएका क्षेत्रहरूमा प्रवाह गरेको कर्जामध्ये निष्क्रिय कर्जाको अनुपात तीव्र रूपमा बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार विशेषगरी माछापालन, कृषि, थोक तथा खुद्रा व्यापार र निर्माण क्षेत्र बैंकहरूको सबैभन्दा जोखिमयुक्त कर्जा क्षेत्रका रूपमा देखिएका छन् । राष्ट्र बैंकका अनुसार २०८२ असारसम्ममा माछापालन क्षेत्रमा बैंकहरूले १६ अर्ब २६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सोमध्ये १ अर्ब २० करोड रुपैयाँ अर्थात् ९ दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय भएको छ । पाँच वर्षअघि २०७८ असारमा यही क्षेत्रमा निष्क्रिय कर्जा २ दशमलव ०१ प्रतिशत मात्र थियो ।

सरकारले ब्याज अनुदानसम्बन्धी कार्यविधि–२०७५ जारी गरी व्यावसायिक कृषि तथा पशुपालन, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवाका परियोजना, महिला उद्यम, दलित व्यवसाय विकास, प्राविधिक तथा व्यावसायिक शिक्षा, भूकम्पपीडित निजी आवास निर्माण, कपडा उद्योगलगायत १० क्षेत्रलाई लक्षित गर्दै सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन गरेको थियो । अनुदानको सुनिश्चिततापछि बैंकहरूले यी क्षेत्रमा कर्जा विस्तार तीव्र पारेका थिए ।

तर पछिल्लो समय आर्थिक गतिविधि सुस्त बन्दै जाँदा कर्जा असुली कमजोर भएको बैंकरहरू बताउँछन् । त्यसको प्रत्यक्ष असर कृषि र यससँग सम्बन्धित क्षेत्रमा देखिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ असारसम्ममा कृषिक्षेत्रमा प्रवाह गरिएको कर्जामध्ये ७ दशमलव ९२ प्रतिशत निष्क्रिय कर्जा पुगेको छ । २०७८ असारमा कृषिक्षेत्रको निष्क्रिय कर्जा १ दशमलव ३९ प्रतिशत मात्र थियो । राष्ट्र बैंकले कृषिक्षेत्रमा कर्जा प्रवाह अनिवार्य गर्दै आएको छ । केन्द्रीय बैंकको निर्देशनअनुसार २०८५ असारसम्ममा वाणिज्य बैंकहरूले कुल कर्जामध्ये १५ प्रतिशत कृषिक्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था छ । यस्तै घरेलु, साना तथा लघु उद्यममा पनि १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने बाध्यकारी प्रावधान लागू गरिएको छ ।

माछापालनपछि बैंकहरूको सबैभन्दा बढी निष्क्रिय कर्जा थोक तथा खुद्रा व्यापार क्षेत्रमा देखिएको छ । २०८२ असारमा यस क्षेत्रमा बैंकहरूको कुल लगानी १० खर्ब ३२ अर्ब रुपैयाँ पुगेकोमा ८७ अर्ब ९२ करोड रुपैयाँ अर्थात् ८ दशमलव ५१ प्रतिशत कर्जा निष्क्रिय भएको छ । निर्माण क्षेत्रमा पनि निष्क्रिय कर्जा ८ दशमलव ४० प्रतिशत पुगेको छ । कोभिड–१९ महामारीपछि सबैभन्दा बढी प्रभावित भएको यो क्षेत्रमा कर्जा पुनःसंरचना र पुनर्तालिकीकरणको सुविधा दिँदा पनि सुधार देखिन सकेको छैन ।

अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) ले २०२५ अक्टोबरमा प्रकाशित परामर्श प्रतिवेदनमा निर्देशित कर्जा नीतिका कारण बैंकहरूको जोखिम बढ्दै गएको र यसले निष्क्रिय कर्जाको आकार थप बढाउने चेतावनी दिएको छ । आईएमएफले निर्देशित कर्जालाई तत्काल प्रभावकारी बनाउँदै दीर्घकालीन रूपमा क्रमशः हटाउँदै लैजान सुझाव दिएको छ । यस्तै राष्ट्र बैंककै पहलमा डा. रेवतबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले पनि निर्देशित क्षेत्र कर्जा नीतिको सान्दर्भिकता सकिएको भन्दै पुनरवलोकन गर्न सुझाव दिएको छ । सोही आधारमा राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत बैंकको वर्गीकरण र निर्देशित कर्जा सम्बन्धी प्रावधान पुनरवलोकन गर्ने जनाएको छ ।

बैंकहरूमा पनि चुलियो निष्क्रिय कर्जा ( एनपीएल )

फाइनान्स कम्पनीसगैँ बैंकहरूमा पनि निष्क्रिय कर्जा चुलिएको छ । वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) ५.०८ प्रतिशत पुगेको छ । दोस्रो त्रैमाससम्म आइपुग्द बैंकहरुको निष्क्रिय कर्जा ४.४९ प्रतिशतबाट औसतमा ५.०८ प्रतिशत पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको निष्क्रिय कर्जा ४.४९ प्रतिशत रहेको थियो । बैंकले निष्क्रिय कर्जा घटाउन सफल भए पनि अधिकांश बैंकको भने कर्जा जोखिम बढेको देखिएको छ । चालु आवको दोस्रो त्रैमासमा ८ वटा वाणिज्य बैंकले निष्क्रिय कर्जा घटाउँदा १२ वटा बैंकको भने यस्तो कर्जा बढेको छ ।

निष्क्रिय कर्जा बढेसँगै बैंकहरूले सम्भावित कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउने प्रोभिजन रकम पनि उल्लेख्य रूपमा बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूले कर्जा नोक्सानी व्यवस्थाका लागि २८ अर्ब ७५ करोड रुपैयाँ छुट्याएका छन् । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.५४ प्रतिशतले बढी हो । गत आवको दोस्रो त्रैमासमा बैंकहरूले २४ अर्ब ६७ करोड रुपैयाँ प्रोभिजन गरेका थिए ।

चालु आवको पुससम्ममा नबिल बैंक, नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंकसहित ८ वटा बैंकको निष्क्रिय कर्जा घटेको छ भने अधिकांश बैंकको निष्क्रिय कर्जा बढेको देखिएको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षमा कुल निष्क्रिय कर्जाको सीमा ५ प्रतिशतबाट बढाएर ८ प्रतिशत पु¥याएपछि केही बैंकको निष्क्रिय कर्जा ८ प्रतिशत नजिक पुगेको छ ।

चालु आवको दोस्रो त्रैमाससम्म सबैभन्दा धेरै निष्क्रिय कर्जा हिमालयन बैंकको रहेको छ । गत आवको दोस्रो त्रैमासमा ४.९८ प्रतिशत रहेको उक्त बैंकको निष्क्रिय कर्जा बढेर ७.९६ प्रतिशत पुगेको छ । त्यस्तै, प्रभु बैंकको निष्क्रिय कर्जा ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुगेको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको निष्क्रिय कर्जा ५.८६ प्रतिशतबाट बढेर ७.९० प्रतिशत पुगेको छ भने एनआईसी एशिया बैंकको ४.६१ प्रतिशतबाट बढेर ७.४७ प्रतिशत पुगेको छ ।

निष्क्रिय कर्जा घटाउने बैंकतर्फ नेपाल एसबिआई बैंक अग्रस्थानमा देखिएको छ । बैंकको निष्क्रिय कर्जा ३.५५ प्रतिशतबाट घटेर २.४६ प्रतिशतमा झरेको छ । सिद्धार्थ बैंकको निष्क्रिय कर्जा १.०५ प्रतिशत बिन्दुले घटेर ३.४५ प्रतिशतमा झरेको छ । नबिल बैंकको निष्क्रिय कर्जा ०.६८ प्रतिशत बिन्दुले घटेर ४.२५ प्रतिशत पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा ०.६० प्रतिशत बिन्दुले घटेर ४.३६ प्रतिशतमा झरेको छ ।

त्यस्तै, माछापुच्छ्रे बैंकको निष्क्रिय कर्जा ०.२९ प्रतिशत बिन्दुले घटेर ४.२५ प्रतिशत हुँदा कृषि विकास बैंकको ०.२५ प्रतिशत बिन्दुले घटेर ४.६५ प्रतिशत पुगेको छ । कुमारी बैंकको निष्क्रिय कर्जा ०.०४ प्रतिशत बिन्दुले घटेर ६.९२ प्रतिशतमा झरेको छ । निष्क्रिय कर्जा बढेसँगै अधिकांश बैंकको कर्जा नोक्सानी व्यवस्थामा गरिएको प्रोभिजन रकम पनि बढेको छ । चालु आवको दोस्रो त्रैमासमा लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र एनआईसी एशिया बैंकले सबैभन्दा बढी प्रोभिजन गरेका छन् । लक्ष्मी सनराइज बैंकले ४ अर्ब ४७ करोड रुपैयाँ प्रोभिजन छुट्याएको छ, जुन गत आवको सोही अवधिमा १ अर्ब ९२ करोड रुपैयाँ थियो ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको प्रोभिजन रकम ७४.५९ प्रतिशतले बढेर ३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ भने एनआईसी एशिया बैंकको ३.११ प्रतिशतले बढेर २ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । ग्लोबल आइएमई बैंकले २ अर्ब ४० करोड रुपैयाँ र सिटिजन्स बैंकले १ अर्ब ८३ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याएका छन् ।

यसैगरी कृषि विकास बैंकको प्रोभिजन रकम ९०.०२ प्रतिशतले बढेर १ अर्ब ६२ करोड ९४ लाख रुपैयाँ पुगेको छ । एनएमबि बैंकको प्रोभिजन ३५० प्रतिशतले बढेर १ अर्ब ५५ करोड २२ लाख रुपैयाँ पुगेको छ भने कुमारी बैंकको प्रोभिजन रकम ५३.९४ प्रतिशतले घटेर १ अर्ब ५० करोड ७५ लाख रुपैयाँमा झरेको छ । नबिल बैंकले भने ४ करोड ८८ लाख रुपैयाँ प्रोभिजन राइटब्याक गरेको छ । निष्क्रिय कर्जा र प्रोभिजनको अवस्था हेर्दा बैंकिङ क्षेत्रमा कर्जा जोखिम व्यवस्थापन अझ चुनौतीपूर्ण बन्दै गएको देखिन्छ ।

तीन महिनामै गर्न सकिन्छ निष्क्रिय कर्जा असल कर्जामा स्तरोन्नति

बैंक तथा वित्तीय संस्थामा निष्क्रिय वर्गमा रहेका कर्जा सम्पूर्ण बक्यौता (साँवा र ब्याज) भुक्तानी भएको तीन महिनापछि सिधै असल कर्जामा स्तरोन्नति हुने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन परिमार्जन गर्दै यसअघिको छ महिनासम्म सूक्ष्म निगरानी (वाच लिस्ट) मा राख्नुपर्ने व्यवस्थालाई संशोधन गर्दे भुक्तानी भएको तीन महिनापछि सिधै असल कर्जामा स्तरोन्नति हुने ब्यवस्था गरेको हो । यसअघि निष्क्रिय वर्गमा परेका कर्जा नियमित भएपछि छ महिनासम्म सूक्ष्म निगरानी वर्गमा राखेर मात्र त्यसपछि असल कर्जामा स्तरोन्नति गर्न सकिने व्यवस्था थियो । नयाँ निर्देशनअनुसार भने पुनःसंरचना र पुनर्तालिकीकरणबाहेकका निष्क्रिय कर्जाको हकमा सम्पूर्ण बक्यौता भुक्तानी भई तीन महिनासम्म नियमित रहेपछि सिधै असल कर्जामा परिणत गर्न सकिनेछ ।

राष्ट्र बैंकले जारी गरेको परिपत्रमा निष्क्रिय वर्गमा (कमसल, शंकास्पद र खराब) वर्गीकरण भएका कर्जाको भाखा नाघेको सम्पूर्ण रकम भुक्तानी भइसकेपछि पहिलो तीन महिनासम्म कर्जा जुन वर्गमा थियो, सोही वर्गमै राखी त्यसअनुसारको कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने उल्लेख छ । तीन महिना पूरा भएपछि मात्र कर्जा स्तरोन्नति गर्न सकिने व्यवस्था गरिएको हो । यसअघि कर्जा नियमित भइसकेपछि सूक्ष्म निगरानी वर्गमा राख्दा बैंक तथा वित्तीय संस्थाले पाँच प्रतिशत मात्र नोक्सानी व्यवस्था गरे पुग्थ्यो । तर, नयाँ व्यवस्थाअनुसार पहिलो तीन महिनासम्म कर्जा अघिल्लै वर्गमा राख्नुपर्ने भएकाले सो अवधिमा बैंकको नाफामा केही दबाब पर्न सक्छ ।

राष्ट्र बैंकले साउन २०८१ देखि खराब कर्जा नियमित भएपछि छ महिनापछि मात्र असल कर्जामा गणना गर्नुपर्ने व्यवस्था लागू गरेको थियो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत उक्त व्यवस्था थप कडाइ गर्दै सूक्ष्म निगरानी अवधिलाई अनिवार्य बनाइएको थियो । अहिले भने सोही व्यवस्था परिमार्जन गर्दै निष्क्रिय कर्जा छिटो असल वर्गमा फर्किने अवस्था बनाइएको हो । कर्जा नियमित भइसकेपछि लामो समयसम्म सूक्ष्म निगरानीमा राख्ने व्यवस्था अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) लगायत दातृ निकायलाई चित्त बुझेको थिएन । दातृ निकायको सुझावअनुसार कर्जा वर्गीकरण प्रणालीलाई व्यवहारिक र अन्तर्राष्ट्रिय अभ्याससँग नजिक बनाउन राष्ट्र बैंकले यो परिमार्जन गरेको बताइन्छ ।

यससँगै राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थासम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । लघुवित्त वित्तीय संस्थाले ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम दैवीप्रकोप वा दुर्घटनामा परेका ग्राहकका परिवारलाई सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ । साथै, ग्राहकको शिक्षा, क्षमता विकास, स्वास्थ्य, पोषण तथा सन्तानको विद्यालयस्तरको शिक्षामा मात्र उक्त कोष प्रयोग गर्नुपर्ने स्पष्ट गरिएको छ । नयाँ निर्देशन क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, लघुवित्त वित्तीय संस्था र पूर्वाधार विकास बैंकमा लागू हुने राष्ट्र बैंकले जनाएको छ ।

फाइनान्स कम्पनीहरुले कमाए ३५ करोड रुपैयाँ नाफा

फाइनान्स कम्पनीहरुले ३५ करोड रुपैयाँ नाफा कमाएका छन् । चालु आवको दोस्रो त्रैमाससम्म फाइनान्स कम्पनीहरुले ३५ करोड ९१ हजार रुपैयाँ नाफा कमाएका छन् । गत आवको सोही अवधिसम्म फाइनान्स कम्पनीहरुले ४८ करोड ९६ लाख ७२ हजार रुपैयाँ घाटामा रहेका थिए । गत आवको दोस्रो त्रैमाससम्म ६ कम्पनी घाटामा रहेकोमा चालु आवको दोस्रो त्रैमाससम्म दुई कम्पनी मात्रै घाटामा रहेका छन् । सो अवधिसम्म १२ कम्पनी भने नाफामा उक्लिएका छन् । एक दर्जन कम्पनीले मात्रै दोस्रो त्रैमाससम्म ४६ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका छन् ।

केही महिनाअघि जेनजी आन्दोलनका कारण फाइनान्स कम्पनीहरुको ऋण असुली प्रभावित बन्दा ब्याज आम्दानी र नाफामा प्रभाव परेको थियो । तर विस्तारै बैंक तथा वित्तीय संस्थाहरुको ऋण असुली सहज हुँदै जादा खराब कर्जाको अवस्था घट्दै गई नाफामा सुधार देखिएको छ । सो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउनेमा मन्जुश्री फाइनान्स रहेको छ । कम्पनीले १३ करोड ५३ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १५.६३ प्रतिशत बढी हो ।

त्यस्तै, गुडविल फाइनान्सले ११ करोड १७ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ९६५ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म गुडविल फाइनान्सले १ करोड ४ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । यसका साथै गोर्खाज फाइनान्सले ६ करोड १६ लाख, सेन्ट्रल फाइनान्सले ३ करोड ९१ लाख, आइसीएफसी फाइनान्सले ३ करोड २० लाख, पोखरा फाइनान्सले २ करोड ९५ लाख, वेष्ट फाइनान्सले १ करोड ७४ लाख, गुहेश्वरी मर्चेण्टले १ करोड ६८ लाख, श्री इन्भेष्टमेन्ट फाइनान्सले १ करोड २१ लाख, मल्टीपर्पस फाइनान्सले ७८ लाख, रिलायन्स फाइनान्सले १७ लाख र समृद्धी फाइनान्सले ११ लाख रुपैयाँ नाफा कमाएका छन् । सो अवधिसम्म दुई फाइनान्स भने घाटामा रहेका छन् । प्रोग्रेसिभ फाइनान्सले २ करोड ९२ लाख र नेपाल फाइनान्सले ८ करोड ७३ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।

1

Scroll to Top