तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट ४२ करोड ५० लाख आम्दानी गरेका छन् । जिल्लामा गत वर्ष ३० करोड बराबरको सुन्तला बिक्री भएको थियो ।
कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तलाको उत्पादन पनि बढेको छ । यस वर्ष एक हजार छ सय ५७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकामा नौ सय ६८ हेक्टर क्षेत्रफलबाट सुन्तला उत्पादन भएको केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिए । उनका अनुसार यस वर्ष पाँच हजार आठ सय ३१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष जिल्लामा तीन हजार सात सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
परियारका अनुसार देवघाट, शुक्लागण्डकी र म्याग्दे गाउँपालिकामा सुन्तलाको उत्पादन राम्रो छ । म्याग्दे गाउँपालिका–३ उमाचोकका सुकनारायण श्रेष्ठले यस वर्ष सुन्तला बिक्री गरी ७० लाख आम्दानी गरे । देवघाट गाउँपालिका–३ का लुङ्ग्रिङमा एकै घरबाट २० लाखसम्मको सुन्तला बिक्री भएको छ ।
परियारका अनुसार, देवघाट–२ र ३, आँबुखैरेनी–५, म्याग्दे ४, व्यास–७, १३ र १४, भिमाद–८ र ९, बन्दीपुर–३, ऋषिङ–३ र घिरिङमा सुन्तलाखेती विस्तारको सम्भावना छ । तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका छन् ।


