चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस) सम्ममा बीमा कम्पनीहरूले ३४ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पुससम्म कुल ३४ अर्ब ९१ करोड ७९ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन् । यसमा जीवन बीमा कम्पनीहरूबाट २१ अर्ब ६४ करोड भुक्तानी भएको छ । यो भुक्तानी १ लाख ७ हजार ९१८ वटा दाबीको हो ।
गत आवको सोही अवधिमा जीवन बीमकहरूले १ लाख ५ हजार ६१२ वटा दाबीको २० अर्ब ९७ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेका थिए । गत आवको तुलनामा तुलनामा चालु आवको सोही अवधिमा जीवन बीमकहरूको दाबी भुक्तानी संख्या २.१८ प्रतिशत र रकम ३.२० प्रतिशतले बढेको छ । यसैगरी चालु आर्थिक वर्षको पुससम्म निर्जीवन बीमकहरूले ७१ हजार २४९ वटा दाबीको १३ अर्ब २७ करोड ५३ लाख रुपैयाँ भुक्तानी गरेका छन् । अघिल्लो वर्ष यही अवधिसम्म निर्जीवन बीमकहरूले ६५ हजार १२० वटा दाबीको १० अर्ब १६ करोड रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमकहरूको दाबी संख्या र रकम क्रमशः ९.४१ प्रतिशत र ३०.६६ प्रतिशतले बढेको छ । गत भदौको जेनजी आन्दोलन र असोजको बाढीपहिरोले ठूलो भौतिक क्षति पुर्याएका कारण निर्जीवन बीमकहरूको दाबी भुक्तानी रकम बढेको हो ।
प्राधिकरणका अनुसार चालु आवको पुससम्ममा जीवन र निर्जीवन बीमकहरूले अझै ५६ अर्ब ३५ करोड ११ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । जसमा जीवन बीमकहरूले ६१ हजार ४६४ वटा दाबीको ५ अर्ब ५५ करोड ९० लाख रुपैयाँ र निर्जीवन बीमकहरूले १ लाख १३ हजार ७२८ वटा दाबीको ५० अर्ब ७९ करोड २० लाख रुपैयाँ रहेको छ । चालु आवको दोस्रो त्रैमास (साउन–पुस)सम्म १ खर्ब २० अर्ब ९४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन भएको छ । यसमा ९६ अर्ब ६४ करोड रुपैयाँबराबरको जीवन बीमा र २४ अर्ब ३० करोड बराबरको निर्जीवन बीमा व्यापार भएको छ । कुल व्यापारमा जीवन बीमाको हिस्सा ७९.९१ प्रतिशत र निर्जीवन बीमाको हिस्सा २०.०९ प्रतिशत रहेको छ ।
चालु आवको पुससम्म जीवन बीमकहरूले सबैभन्दा धेरै व्यापार बागमती प्रदेशबाट भित्र्याएका छन् । यो प्रदेशबाट कम्पनीहरूले ४२ अर्ब ६४ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कुल व्यापारमा बागमतीको हिस्सा ४४.१३ प्रतिशत रहेको छ । यसैगरी कम्पनीहरूले दोस्रो धेरै जीवन बीमा व्यवसाय लुम्बिनी प्रदेशबाट गरेका छन् । यो प्रदेशबाट कम्पनीहरूले १५ अर्ब १५ करोड बीमाशुल्क संकलन गरेका छन् । कुल व्यापारमा लुम्बिनीको हिस्सा १५.६८ प्रतिशत रहेको छ । जीवन बीमा व्यापारको हिसाबले कोशी प्रदेश तेस्रो ठूलो बजार देखिएको छ । कम्पनीहरूले यो प्रदेशबाट ११ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कुल व्यापारमा कोशी प्रदेशको हिस्सा ११.९३ प्रतिशत रहेको छ । पुससम्ममा जीवन बीमकहरूले गण्डकी प्रदेशबाट ९ करोड ८७ लाख रुपैयाँ (१०.२१ प्रतिशत), मधेश प्रदेशबाट ८ अर्ब ७० करोड ७२ लाख रुपैयाँ (९.०१ प्रतिशत), सुदूरपश्चिम प्रदेशबाट ५ अर्ब ८१ करोड रुपैयाँ (६.०२ प्रतिशत) र कर्णालीबाट २ अर्ब ९२ करोड रुपैयाँ (३.०२ प्रतिशत) बीमाशुल्क संकलन गरेका छन् ।
चालु आवको पुससम्ममा निर्जीवन बीमकहरूले पनि सबैभन्दा धेरै व्यापार बागमती प्रदेशबाट भित्र्याएका छन् । यो प्रदेशबाट कम्पनीहरूले १६ अर्ब ५९ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कुल व्यापारमा बागमतीको हिस्सा ६८.२७ प्रतिशत रहेको छ । यसैगरी कम्पनीहरूले दोस्रो धेरै निर्जीवन बीमा व्यवसाय लुम्बिनी प्रदेशबाट भित्र्याएका छन् । यो प्रदेशबाट कम्पनीहरूले २ अर्ब ८ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कुल व्यापारमा लुम्बिनीको हिस्सा ८.६० प्रतिशत रहेको छ । निर्जीवन बीमा व्यापारको हिसाबले कोशी प्रदेश तेस्रो ठूलो बजार देखिएको छ । कम्पनीहरूले यो प्रदेशबाट २ अर्ब २ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कुल व्यापारमा कोशी प्रदेशको हिस्सा ८.३५ प्रतिशत रहेको छ ।
पुससम्ममा निर्जीवन बीमकहरूले मधेश प्रदेशबाट १ अर्ब ५६ करोड रुपैयाँ (६.४२ प्रतिशत), गण्डकी प्रदेशबाट १ अर्ब २१ करोड ७८ लाख रुपैयाँ (५.०१ प्रतिशत), सुदूरपश्चिम प्रदेशबाट ५८ करोड ४७ लाख रुपैयाँ (२.४१ प्रतिशत) र कर्णालीबाट २३ करोड ७ लाख रुपैयाँ (०.९५ प्रतिशत) बीमाशुल्क संकलन गरेका छन् ।


