Banijya News

अन्डाको मूल्यमा भारी गिरावट, प्रतिक्रेट कति रुपैयाँ ?

1
1.1K Shares

नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागू हुने गरी अन्डाको मूल्यमा भारी कटौती गरेको छ । स्वदेशी उत्पादनमा भएको वृद्धि र भारतीय बजारबाट अवैध रूपमा भित्रिएको सस्तो अन्डाका कारण बजार प्रभावित भएपछि संघले नयाँ मूल्य निर्धारण गरेको हो ।

नयाँ दररेट अनुसार ठूलो अन्डाको मूल्य प्रतिक्रेट ३ सय ७५ रुपैयाँ कायम गरिएको छ, जुन केही हप्ता अघिको तुलनामा निकै कम हो । पछिल्लो समय बजारमा अन्डाको आपूर्ति बढेसँगै मूल्यमा उतारचढाव देखिएको छ । संघका अनुसार नयाँ भाउ अनुसार अब एक्सएल (XL) अन्डा प्रतिक्रेट ३ सय ९० रुपैयाँ, ठूलो अन्डा ३ सय ७५ रुपैयाँ र मिडियम अन्डा ३ सय ४५ रुपैयाँमा झरेको छ । यसअघि गत २२ माघमा ठूलो अन्डाको मूल्य ४ सय ३५ रुपैयाँ थियो भने ११ माघमा यो ४ सय ९५ रुपैयाँसम्म पुगेको थियो । केही महिना अघि मंसिरमा अन्डाको मूल्य हालसम्मकै उच्च बिन्दु ५ सय ६५ रुपैयाँसम्म पुगेको भए पनि अहिले करिब दुई सय रुपैयाँको गिरावट देखिएको छ ।

नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपाली बजारमा भारतीय सेतो अन्डा ठूलो परिमाणमा भित्रिएका कारण स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको हो । भारतीय अन्डा सस्तो हुने र खुला सीमाका कारण लुकिछिपी नेपाल भित्रिने क्रम नरोकिँदा नेपाली किसानहरू मारमा परेका छन् । अध्यक्ष पोखरेलले प्रशासनले सीमा नाकामा प्रभावकारी अनुगमन गर्न नसकेको गुनासो गर्दै भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नकै लागि नेपाली अन्डाको मूल्य घटाउनु परेको बाध्यता सुनाए ।
अन्डाको मूल्य घट्दा उपभोक्तालाई राहत मिले पनि व्यावसायिक कुखुरापालक किसानहरू भने चिन्तित बनेका छन् । दाना, औषधि र चल्लाको मूल्य वृद्धि भइरहेका बेला अन्डाको बिक्री मूल्य लागतभन्दा न्यून हुनुले पोल्ट्री क्षेत्रमा ठूलो संकट निम्त्याउने जोखिम बढेको छ। किसानहरूले स्वदेशी लगानी जोगाउन अवैध आयात नियन्त्रण र बजार व्यवस्थापनमा सरकारले ठोस कदम चाल्नुपर्ने माग गरेका छन् ।

उत्पादनमा भएको बढोत्तरी र कमजोर बजार अनुगमनका कारण अन्डाको मूल्यमा आएको यो गिरावटले नेपाली पोल्ट्री व्यवसायलाई नयाँ चुनौती थपिदिएको छ । यदि भारतीय अन्डाको चोरी निकासी नियन्त्रण नहुने हो भने आगामी दिनमा स्वदेशी उत्पादन अझै सस्तोमा बेच्नुपर्ने वा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने देखिन्छ ।

1

Scroll to Top