Banijya News

नेपालका लुकेका पर्यटकीय गन्तव्यहरूलाई उजागर गर्न चलचित्र

1
1.1K Shares

नेपालको पर्यटकीय सम्भाव्यतालाई चलचित्रका माध्यमबाट विश्वमाझ चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच एक महत्त्वपूर्ण समझदारी भएको छ। बुधबार आयोजित विशेष कार्यक्रममा दुवै संस्थाका प्रमुखहरूले चलचित्र पर्यटनसँग सम्बन्धित कार्यक्रमहरूमा सहकार्य गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले समझदारी कार्यक्रममा बोल्दै सिनेमा वा चलचित्रबिना नेपालको पर्यटन क्षेत्र पूर्ण रूपमा सुदृढ हुन नसक्ने बताए । उनका अनुसार चलचित्रहरू पर्यटन प्रवद्र्धनका लागि सबैभन्दा शक्तिशाली माध्यम हुन् र यो सहकार्यले नयाँ नीति तथा कार्यक्रमहरूमार्फत नेपालका लुकेका पर्यटकीय गन्तव्यहरूलाई उजागर गर्न मद्दत पुर्याउनेछ। विश्वका धेरै देशहरूले चलचित्रको माध्यमबाट आफ्नो पर्यटनलाई उचाइमा पुर्याएको उदाहरण दिँदै जोशीले नेपालमा पनि यसको ठूलो सम्भाव्यता रहेको र अबका दिनमा केही विशेष इभेन्टहरू मार्फत यसलाई अघि बढाइने स्पष्ट पारे ।

त्यसैगरी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सीले चलचित्र छायाँकनका माध्यमबाट हुने क्षेत्रीय पर्यटन प्रवद्र्धनका बारेमा जानकारी दिए । उहाँले सरकारका तर्फबाट पनि पर्यटन प्रवद्र्धनका लागि पहल भइरहेको उल्लेख गर्दै कर्णाली प्रदेश सरकारले चलचित्र छायाँकनका लागि विशेष बजेट विनियोजन गरेको उदाहरण प्रस्तुत गरे । अध्यक्ष डि.सीका अनुसार कर्णाली प्रदेशले आफ्नो क्षेत्रमा छायाँकन गर्ने ५ वटा चलचित्रका लागि प्रतिचलचित्र २० लाख रुपैयाँका दरले वार्षिक १ करोड रुपैयाँ छुट्याएको छ। यस प्रकारको प्रोत्साहनले काठमाडौँबाट टाढा रहेका जुम्ला जस्ता दुर्गम तर सुन्दर स्थानहरूमा छायाँकन गर्न जाने निर्माताहरूलाई आर्थिक भार कम हुने र ती क्षेत्रहरूको व्यापक प्रचारप्रसार हुने उहाँले विश्वास व्यक्त गरे ।

यो समझदारीले आगामी दिनमा नेपाली चलचित्र उद्योग र पर्यटन क्षेत्रबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। दुवै बोर्डले संयुक्त रूपमा गर्ने सहकार्यले अन्तर्राष्ट्रिय स्तरका चलचित्र निर्माताहरूलाई समेत नेपालमा आकर्षित गर्न र स्वदेशी चलचित्रहरूमा मौलिक दृश्यहरु समेट्न प्रोत्साहन मिल्ने देखिन्छ। यसबाट अन्ततः नेपालको आर्थिक विकास र पर्यटन बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ।

1

Scroll to Top