नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटल प्रा.लिबीच बैंकका ग्राहक तथा कर्मचारीलाई लक्षित गर्दै उपचार शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । माघ २९ गते भएको उक्त सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक, बैंकमा कार्यरत कर्मचारी तथा कर्मचारीका परिवारहरूले एभरेष्ट हस्पिटलमा प्राप्त गर्ने विभिन्न उपचार सेवामा कुल बिल रकमको ५ देखि २० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको हो ।
सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र एभरेष्ट हस्पिटल प्रालिको तर्फबाट सञ्चालक समितिका सदस्य सैलेन्द्र महासेठले हस्ताक्षर गरेका हुन् । यस सहकार्यबाट नेपाल बैंकका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका खातावाल ग्राहकहरूले एभरेष्ट हस्पिटलद्वारा प्रदान गरिने सहुलियतपूर्ण र गुणस्तरीय स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ ।


