नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंक कम्युनिकेशनले कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–७ स्थित नानीकोट आधारभूत स्वास्थ्यचौकीमा सौर्य ऊर्जा प्रणाली तथा औषधि भण्डारणका लागि डीप–फ्रिज जडान गरी हस्तान्तरण गरेको छ। कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्वास्थ्यचौकीमा ३ किलोवाट क्षमताको सौर्य प्रणालीसहित डीप–फ्रिज जडान गरेको हो।
नियमित विद्युत् आपूर्तिको अभाव र गुणस्तरीय फ्रिज नहुँदा औषधि तथा खोप सुरक्षित भण्डारणमा समस्या हुँदै आएको अवस्थामा यो पहललाई दीर्घकालीन समाधानका रूपमा लिइएको छ। अब औषधि, खोप तथा अन्य संवेदनशील स्वास्थ्य सामग्री सुरक्षित राख्न सहज हुने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा कम्पनीकी सामाजिक उत्तरदायित्व विभागकी निर्देशक अनुपा भण्डारी जालान, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
निर्देशक जालानले ग्रामीण स्वास्थ्य सेवा सुदृढीकरणमा कम्पनी निरन्तर प्रतिबद्ध रहेको बताउँदै प्रविधि र पूर्वाधारसँगै शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारलाई प्राथमिकतामा राखिएको जानकारी दिए । यसैबीच, वर्ल्डलिंकले सोही वडाअन्तर्गत रहेको श्री पंगेली देवी माध्यमिक विद्यालयका २५ जना विद्यार्थीलाई अनलाइन स्मार्ट बोर्डमार्फत अङ्ग्रेजी भाषा कक्षा सञ्चालन गरेको छ। लोकोपकार संस्थासँगको सहकार्यमा सञ्चालित उक्त कार्यक्रममा विद्यार्थीहरूको सिकाइ उपलब्धि अभिवृद्धि गर्ने लक्ष्य राखिएको थियो।
निर्देशक जालानले विद्यालयमै पुगेर कक्षाको स्थलगत अवलोकन गर्दै डिजिटल शिक्षाको प्रभावकारिताबारे जानकारी लिएका थिए। सहभागी विद्यार्थीलाई प्रोत्साहनस्वरूप प्रमाणपत्र वितरण गरिएको थियो। भर्चुअल माध्यमबाट विद्यार्थीको आत्मविश्वास वृद्धि गर्न यस्तो कार्यक्रम प्रभावकारी हुने उनले बताए । वर्ल्डलिंकको यस पहलले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सुधार र डिजिटल शिक्षाको पहुँच विस्तारमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।


