Banijya News

ई–कमर्स प्लेटफर्म सूचीकरणको प्रक्रिया तत्काल सुरु, दायरामा नआए खारेजी

1
1.1K Shares

अनलाइनमार्फत वस्तु वा सेवा खरिद-बिक्री गर्ने व्यवसायीले अनिवार्य रूपमा आफ्नो फर्म सूचीकरण गर्नुपर्ने व्यवस्थासहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘विद्युतीय व्यापारलाई नियमनको दायरामा ल्याउने भएको छ । पहिलो चरणमा मुलुकभित्र सञ्चालित विद्युतीय व्यापार (ई–कमर्स) प्लेटफर्मलाई सूचीकरणको प्रक्रिया तत्काल सुरु गरिने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘विद्युतीय व्यापार (ई–कमर्स) निर्देशिका, २०८२’ जारी गर्दै सूचीकरणको प्रक्रिया सुरु गर्ने जनाएको छ ।

विद्युतीय व्यापार ऐन, २०८१ अनुसार बनेको विद्युतीय व्यापार (ई–कमर्स) निर्देशिकालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले स्वीकृत गरेका छन् । यो निर्देशिका तत्काल लागु हुने मन्त्रालयका प्रवक्ता सहसचिव नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार अब ई–कमर्स प्लेटफर्महरु सूचीकरण गरेर मात्र सञ्चालनमा आउनेछन् । त्यस्ता प्लेटफर्मले सूचीकरणका लागि आवश्यक कागजातसहित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा निवेदन दिनु पर्नेछ ।

सूचीकरणका लागि ई-कमर्स व्यवसायीहरूले वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको ‘विद्युतीय व्यापार सूचीकरण’ पोर्टलमा आफ्ना फर्मको आवश्यक विवरण पेस गर्नुपर्ने र निवेदन प्राप्त भएको सात दिनभित्र सूचीकरण नम्बर उपलब्ध गराइने प्रस्तावित निर्देशिकामा उल्लेख छ । विभागले ई–कमर्स प्लेटफर्मलाई सूचित गर्ने र सूचीकरण नभई सञ्चालनमा रहेका ई–कमर्स प्लेटफर्महरुलाई थप सात दिनभित्र सूचीकरणको मौका दिनेछ । यो मितिभित्र पनि सूचीकरण नगर्ने ई–कमर्स प्लेटफर्महरुलाई खारेजीको प्रक्रियामा लगिने निर्देशिकामा उल्लेख छ । यसबाहेक सम्बन्धित कम्पनी खारेज भएमा अथवा सूचीकरण वा अद्यावधिक गर्दा विभागलाई जानाजान गलत वा भ्रामक विवरण दिएको पुष्टि भएमा पनि त्यस्ता ई–कमर्स प्लेटफर्मलाई सूचीकरणबाट हटाई खारेजीमा लैजान सकिने जनाइएको छ । यस्तै, सम्बन्धित फर्मले आफैं पनि सूचीकरणबाट हटाउन निवेदन दिन सक्ने सुविधा दिइएको छ ।

विद्युतीय व्यापार (ई–कमर्स) प्लेटफर्मले गरेका कारोबारको अभिलेख, बिल बीजक, उपभोक्ता गुनासो र त्यसको सुनुवाई तथा विभागको निरीक्षण तथा सुपरीवेक्षण सम्बन्धी विवरण कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ । ई–कमर्स प्लेटफर्महरुले प्रयोगकर्ताको वैयक्तिक विवरण गोप्य राख्नुपर्ने व्यवस्था गरिएको छ । वैयक्तिक विवरण अन्तर्गत पासवर्ड, फोन वा मोबाइल नम्बर, ठेगाना, जन्ममिति लगायत प्रमाणीकरणका लागि प्रयोग हुने संवेदनशील व्यक्तिगत विवरण पर्छन् । यस्ता विवरणहरु सुरक्षित रूपमा ‘इनक्रिप्टेड’ गरी राख्नुपर्ने उल्लेख छ । अन्य सामान्य विवरणको हकमा अनधिकृत पहुँच दुरूपयोग वा चुहावट हुन नदिन उचित प्राविधिक तथा व्यवस्थापकीय सुरक्षाका उपायहरू अवलम्बन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

निर्देशिका अनुसार अनधिकृत पहुँच वा प्रयोगकर्ताको सूचना चुहावट भएमा वा प्लेटफर्ममा कुनै खराबी उत्पन्न भएमा तुरून्त कारोबार बन्द गरी पुनः प्राप्ति अर्थात् रिकभरी भइसकेपछि मात्र व्यवसाय सुचारू गर्नुपर्नेछ । सो सम्बन्धी सार्वजनिक रूपमा जानकारी समेत गराउनुपर्ने उल्लेख छ ।फर्मले वस्तु वा सेवा हस्तान्तरण गरेपछि पहिले नै तोकिएको ढुवानी वा हस्तान्तरण लागत बाहेक भुक्तानीसँग सम्बन्धित कुनै रकम लिन नपाइने स्पष्ट व्यवस्था गरिएको छ । यसबाहेक सबै विद्युतीय व्यापार व्यवसायीले व्यावसायिक कारोबार गर्दा नेपाल राष्ट्र बैंकबाट स्वीकृत डिजिटल पेमेन्ट गेटवे मात्र प्रयोग गर्नुपर्नेछ । वस्तु वा सेवाको भुक्तानी नगद मार्फत गरिएको अवस्थामा कारोबारको विद्युतीय बीजक अनिवार्य रूपमा जारी गर्नुपर्ने व्यवस्था गरिएको छ । क्रेतालाई रकम फिर्ता दिनुपर्ने अवस्थामा व्यवसायीले सात दिनभित्र फिर्ता गर्नुपर्ने उल्लेख छ ।

विभागले ऐनको दफा २७ बमोजिम निरीक्षण अधिकृत खटाई विद्युतीय व्यापार (ई–कमर्स) फर्महरूको नियमित निरीक्षण र अनुगमन गर्ने जनाइएको छ । निरीक्षण र अनुगमनका क्रममा आवश्यकता अनुसार साइबर सुरक्षा विज्ञ, सूचना तथा सञ्चार प्रविधि विज्ञ, उपभोक्ता अधिकारकर्मी, कर प्रशासनका प्रतिनिधि, सञ्चारकर्मी तथा अन्य विषयगत सरकारी निकायका प्रतिनिधि समेत सहभागी गराउन सकिनेछ । निरीक्षण र अनुगमनका क्रममा व्यवसायीले आवश्यक कागजात, विवरण तथा अभिलेख उपलब्ध गराउनुपर्नेछ ।

प्रत्येक विद्युतीय व्यापार प्लेटफर्मले ऐन बमोजिम उपभोक्ता गुनासो दर्ता र व्यवस्थापन अनलाइन माध्यमबाट गर्ने व्यवस्था मिलाउनु पर्नेछ । यसरी गुनासो व्यवस्थापन हुन नसकेमा विभागमा गुनासो दर्ता गर्न सकिनेछ । विभागले यस्ता गुनासो प्राप्त भएको मितिले १५ दिनभित्र समाधान गरिसक्नु पर्नेछ । व्यवसायीहरूले विद्युतीय कारोबार गर्दा नेपाल राष्ट्र बैंकबाट स्वीकृत डिजिटल पेमेन्ट गेटवे मात्र प्रयोग गर्नुपर्ने र नगद भुक्तानीको हकमा पनि अनिवार्य रूपमा विद्युतीय बीजक जारी गर्नुपर्ने व्यवस्था गरिएको छ । अनलाइन भुक्तानी असफल भएमा सम्बन्धित फर्मले सात दिनभित्र रकम फिर्ता (रिफन्ड) को व्यवस्था मिलाउनुपर्ने र आफ्ना प्लाटफर्ममा भ्रामक वा अतिरञ्जित विज्ञापन प्रकाशन गर्न नहुने प्रावधान निर्देशिकामा समावेश छ ।

विभागले ई-कमर्स फर्महरूको नियमित अनुगमनका लागि निरीक्षण अधिकृत खटाउने र अनुगमनका क्रममा साइबर सुरक्षा, वस्तुको लेबलिङ, डेलिभरी तथा उपभोक्ताको व्यक्तिगत सूचना संरक्षणको अवस्था जाँच गरिने उल्लेख छ । उपभोक्ताका गुनासाहरू व्यवस्थापन गर्न प्रत्येक प्लाटफर्मले अनलाइन संयन्त्र बनाउनुपर्ने र व्यवसायीबाट गुनासो सम्बोधन हुन नसकेमा विभागमा निवेदन दिन सकिने व्यवस्था गरिएको छ । यस्ता विवाद समाधान गर्न विभागको ई-कमर्स हेर्ने निर्देशकको संयोजकत्वमा ‘विद्युतीय व्यापार विवाद समाधान समिति’ रहने प्रस्ताव गरिएको छ । ऐनअनुसार कम्प्युटर, मोबाइल वा यस्तै प्रकृतिका विद्युतीय उपरकणको प्रयोग गरी वेबसाइट, एप्लिकेसन, सफ्टवेयर, इन्टरनेट, इन्ट्रानेट, सामाजिक सञ्जालको मार्केट प्लेस लगायतका माध्यमबाट सूचना संकलन, सम्प्रेषण वा संग्रह गरी वस्तु वा सेवाको कारोबार गर्ने प्रयोजनका लागि बनाइएको प्रणाली ई-कमर्स प्लाटफर्म हुन् ।

1

Scroll to Top