Banijya News

स्वास्थ्य परीक्षणमा व्यवसायीको जालोः मन्त्रीको निर्णय लत्याउँदै ९ हजार पाँच सय शुल्क असुल

1
1.1K Shares

वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य परीक्षणमा भइरहेको चरम लापरबाही र ठगीको डरलाग्दो तथ्य फेला परेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले पदभार सम्हाल्नासाथ गत पुस ४ गते स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सय रुपैयाँ कायम गर्ने निर्णय गरे पनि स्वास्थ्य व्यवसायीहरूले त्यसलाई चुनौती दिँदै अझै ९ हजार ५ सय रुपैयाँ नै असुलिरहेको मन्त्रालयको अनुगमनबाट पुष्टि भएको छ ।

मन्त्रालयबाट प्रहरीसहित खटिएको विशेष टोलीले तयार पारेको आन्तरिक प्रतिवेदन अनुसार, मन्त्रीको निर्णयलाई लत्याउँदै व्यवसायीहरूले कामदारमाथि आर्थिक भार थपिरहेका छन् । मन्त्रालयको अनुगमनका क्रममा म्यानपावर व्यवसायी र स्वास्थ्य परीक्षण गर्ने क्लिनिकहरूबीच गहिरो मिलेमतो रहेको पाइएको छ । म्यानपावर कम्पनीहरूले वैदेशिक रोजगारीमा जान आउने कामदारलाई उनीहरूको प्रक्रिया र अन्य विषयमा विस्तृत जानकारी नै नदिई सुरुमै मेडिकल गर्न पठाउने गरेको भेटिएको छ । एउटै व्यक्तिलाई पटक–पटक स्वास्थ्य परीक्षण गराउन लगाउने तर बिल भने एक पटकको मात्र दिने गरिएको पनि देखिएको छ ।

स्वास्थ्य संस्था र म्यानपावरको यस्तो संगठित सञ्जालले वैदेशिक रोजगारीमा जाने विपन्न कामदारलाई आर्थिक रूपमा टाट पल्टाउने काम गरिरहेको प्रतिवेदनको निष्कर्ष छ । स्वास्थ्य परीक्षण गर्ने सूचीकृत संस्थाहरूले आर्थिक अनियमितता मात्र नभई कानुनी र प्राविधिक ठगी समेत गरिरहेको देखिएको छ । कतिपय संस्थाहरूले कामदारको स्वास्थ्य परीक्षण नै नगरी हचुवाका भरमा रिपोर्ट दिने गरेको, तोकिएका सबै ल्याब टेस्टहरू नगर्ने र कतिपय अवस्थामा कामदार स्वास्थ्य संस्थामा उपस्थित नै नभई मेडिकल रिपोर्ट तयार पार्ने गरेको डरलाग्दो तथ्य फेला परेको छ ।

यसरी गलत रिपोर्ट दिँदा एकातिर कामदारले विदेश पुगेपछि फेरि समस्या झेल्नुपर्ने हुन्छ भने अर्कोतिर स्वास्थ्य संस्थाहरूले वास्तविक आम्दानी लुकाएर राज्यलाई तिर्नुपर्ने राजस्व समेत छली गरिरहेका छन् । उनीहरूले मेडिकल गरेका व्यक्तिको संख्या भन्दा लेखा परीक्षण प्रतिवेदनमा कम संख्या देखाएर कर छली गर्ने गरेको अनुगमन टोलीले फेला पारेको छ ।

यस प्रकरणमा तत्कालीन श्रम सचिव कृष्णहरि पुष्करको भूमिका समेत विवादास्पद देखिएको छ । जे–जी आन्दोलनपछि गठित मन्त्रिपरिषद्‌मा मन्त्री नभएको मौका छोपेर उनले प्रधानमन्त्री सुशीला कार्कीलाई समेत भ्रममा पार्दै स्वास्थ्य परीक्षण शुल्क छ हजार ५ सयबाट बढाएर १ हजार ५ सय रुपैयाँसम्म पुर्‍याउने निर्णय गराएका थिए । मन्त्री भण्डारी आएपछि सचिव पुष्करको उक्त निर्णय गलत नियतका साथ गरिएको पुष्टि भएपछि उनलाई मन्त्रालयबाट सरुवा गरिएको छ।

स्वास्थ्य व्यवसायी महासंघले भने मन्त्रालयको पछिल्लो निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेको थियो, जसमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ । विशेष गरी मलेसिया जाने कामदारका हकमा ३६ वटा स्वास्थ्य संस्थाहरूले सिन्डिकेट लागू गरेको र ती बाहेकका संस्थाबाट मेडिकल गर्न नपाइने बाध्यता सिर्जना गरिएको प्रतिवेदनमा उल्लेख छ । जसका कारण कामदारहरू लामो समय काठमाडौँका होटलहरूमा बस्नुपर्ने र थप आर्थिक पीडा झेल्नुपर्ने अवस्था छ । साथै, ३९ वटा स्वास्थ्य संस्थाले अनुमति नै नलिई ुम्याक्रो टेकु नामक कम्पनीको भ्याट बिल प्रयोग गरी प्रतिव्यक्ति ३ हजार १ सय ६४ रुपैयाँ अतिरिक्त उठाइरहेका छन् । उक्त रकम अवैध रूपमा मलेसिया ट्रान्सफर हुने गरेको समेत पाइएको छ ।

सूचीकृत स्वास्थ्य संस्थाहरूले २०७२ को कार्यविधि बमोजिमका न्यूनतम मापदण्ड समेत पालना गरेका छैनन् । स्वास्थ्य संस्थामा गुनासो सुन्ने ठाउँ नभएको, कर्मचारीहरूको पोसाक र परिचयपत्र नभएको तथा चिकित्सक र कर्मचारीको हाजिरी रजिस्टर समेत दुरुस्त नराखिएको अनुगमन टोलीले जनाएको छ । मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले प्रहरीसहितको टोलीबाट प्राप्त हुने विस्तृत प्रतिवेदनका आधारमा दोषी देखिएका म्यानपावर र स्वास्थ्य संस्थाहरूमाथि कडा कानुनी कारबाही अगाडि बढाइने बताएका छन् ।

1

Scroll to Top