Banijya News

किन उठाइयो बालेनको नागरिकताको कुरो ? के हो बिवाद ?

1
1.2K Shares

काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय राजनीतिमा सक्रिय व्यक्तित्व बालेन्द्र शाह (बालेन) नागरिकता विवादमा तानिएका छन्। उनको नागरिकतामा पहिले उल्लेख गरिएको “साह” थर पछि “शाह” मा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि कानुनी र प्रशासनिक प्रश्नहरू उठेका हुन् । बालेन राष्ट्रिय राजनीतिमा सक्रिय हुँदै जाँदा र भावी प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा चर्चा भइरहेका बेला यो विषय सार्वजनिक भएको हो। थर परिवर्तनको प्रक्रिया कानुनी रूपमा सही थियो कि थिएन भन्ने विषयमा प्रशासनिक छानबिनको माग उठ्न थालेको छ।

हालसम्म सम्बन्धित निकायले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन। तर नागरिकताको विवरणमा गरिएको थर परिवर्तन सामान्य प्राविधिक सच्याइ हो वा कानुनी प्रक्रिया उल्लंघन, भन्ने प्रश्नले राजनीतिक र कानुनी बहसलाई तीव्र बनाएको छ।
के हो विवादको जड ?

बालेनले २०६३ साल पुस ९ गते महोत्तरीबाट लिएको नागरिकतामा उनको नाम “बालेन्द्र साह” उल्लेख छ। उक्त नागरिकता तत्कालीन प्रशासकीय अधिकृत प्रदीपकुमार निरौलाले जारी गरेका थिए। तर २०७९ साल असार १९ गते, काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भइसकेपछि लिएको नागरिकताको प्रतिलिपिमा भने उनको थर “साह” बाट “शाह” मा परिवर्तन गरिएको देखिन्छ। बालेनका बुवा रामनारायण साहले २०३९ साल साउन २७ गते महोत्तरीको एकडराबाट नागरिकता लिएका थिए, जसमा उनको नाम “रामनारायण साह नेपाली” उल्लेख छ। उनका बुवाको नाम मुनिलाल साह थियो।

त्यसैगरी आमा ध्रुवदेवी र दाजु कौशलेन्द्रको पुरानो नागरिकतामा पनि “साह” थर नै उल्लेख छ। काठमाडौं महानगरपालिका वडा नं. ९ ले २०७६ कात्तिक ८ गते दिएको बसाइँसराइ प्रमाणपत्रमा समेत परिवारका सबै सदस्यको थर “साह” नै उल्लेख गरिएको छ।

तर २०७९ मंसिर ७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको नागरिकताको प्रतिलिपिमा भने बुवा रामनारायण “साह नेपाली” बाट “रामनारायण शाह” भएका छन्। आमाको नाम पनि “ध्रुवदेवी शाह” उल्लेख गरिएको छ। यद्यपि, दाजु कौशलेन्द्रले भने २०७८ मंसिर १५ मा लिएको नागरिकताको प्रतिलिपिमा आफ्नो थर “साह” नै कायम राखेका छन्। हालसम्म उनको नाम कौशलेन्द्र साह नै आधिकारिक कागजातमा उल्लेख छ।

कानुनी प्रावधान के भन्छ ?

नेपाल नागरिकता ऐन २०६३ को दफा १२ अनुसार झुटो विवरण दिई नागरिकता लिएको प्रमाणित भएमा सम्बन्धित अधिकारीले त्यस्तो नागरिकता रद्द गर्न सक्ने व्यवस्था छ। त्यसैगरी दफा १७ ले नागरिकतामा सानातिना त्रुटि सच्याउन सकिने व्यवस्था गरेको छ। तर “सानातिना त्रुटि” भन्नाले कुमारी, देवी, बहादुर, प्रसाद जस्ता शब्द थपघट हुनु, वा आकार-इकार जस्ता सामान्य भिन्नतालाई मात्र जनाउने स्पष्ट उल्लेख छ।

यस सन्दर्भमा “साह” बाट “शाह” मा गरिएको परिवर्तन सानातिना त्रुटिभित्र पर्छ कि पर्दैन भन्ने विषय विवादको केन्द्रमा रहेको छ। यस विषयमा स्पष्टता आउन सम्बन्धित सरकारी निकायको आधिकारिक निर्णय र व्याख्या आवश्यक देखिन्छ।

1

Scroll to Top