गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताएका छन्। उनले ढुक्क भएर मतदान गर्न सबैलाई आग्रह गरेका छन्। निर्वाचनका क्रममा आवश्यक सुरक्षा व्यवस्थाकाबारेमा जानकारी लिने उद्देश्यले बाँकेको नेपालगञ्ज पुगेका गृहमन्त्री अर्यालले भयरहित वातावरणमा मतदान गर्न पाउने जनताको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए।
गृहमन्त्री अर्यालले जिल्ला सुरक्षा समिति, प्रमुख जिल्ला अधिकारी र मुख्य निर्वाचन अधिकृतलगायत निर्वाचनसँग सम्बन्धित सबै निकायको कामकारबाहीसहित आउनसक्ने चुनौतीको पूर्वतयारी सन्तोषजनक रहेको बताए। उनले अहिले समग्र देशको सुरक्षा अवस्था सुदृढ भएको र देशव्यापी रुपमा निर्वाचनको माहोल बनेकाले अत्यधिक जनताको सहभागितासहित उल्लासमय वातावरणबीच शान्तिपूर्ण ढङ्गबाट निर्वाचन सफल हुने विश्वास व्यक्त गरे।
कहीँकतैबाट निर्वाचन बिथोल्न प्रयास हुनसक्नेतर्फ सचेत गर्दै गृहमन्त्री अर्याललेमताधिकार जस्तो लोकतान्त्रिक प्रक्रियामा अवरोध पुर् याउहरूलाई नियन्त्रणमा लिएर कानूनी कारबाही गर्ने चेतावनी दिए। गृहमन्त्री अर्यालको भ्रमण टोलीमा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललगायत उच्चपदस्थ सुरक्षा अधिकारी छन्। गृहमन्त्री अर्याल सुदूरपश्चिम प्रदेशअन्तर्गतका बझाङ, बाजुरालगायत जिल्लाको सुरक्षा व्यवस्थासम्बन्धी स्थलगत जानकारी लिने क्रममा आइतबार नेपालगञ्ज पुगेका हुन्।


