Banijya News

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

1
1.1K Shares

भरतपुर महानगरपालिका–१५ फूलबारीस्थित श्रीपुरमा प्रांगारिक किसान चन्द्रप्रसाद अधिकारीले लगाएको सूर्यमुखी बगानमा अहिले फूल ढकमक्क फुलेसँगै अवलोकन गर्ने मानिसको भीड देखिन थालेको छ । करिब साढे दुई बिघा क्षेत्रफलमा फुलेका सूर्यमुखी फूल हेर्न आउनेको जमात दिनदिनै बढ्दै गएको छ । यहाँ कोही टिकटक बनाउँदै भेटिन्छन् भने कोही अध्ययन–अवलोकन गर्दै र कोही फोटो खिच्दै रमाइरहेका देखिन्छन् । फूलमा मौरीले रस संकलन गर्दै बगानभरि घुमिरहेको दृश्य र बाली जोगाउन सुगालगायत चरालाई भगाउन राखिएका ‘डमी’ले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ । बगानको बीच भागमा निर्माण गरिएका मचानमा बसेर चारैतिर फैलिएको सूर्यमुखी बारी अवलोकन गर्दा निकै रमाइलो अनुभव गर्न सकिन्छ ।

भरतपुर–३ बाट अवलोकन गर्न आएका पवन अधिकारी र उल्झना अधिकारीले यहाँको वातावरण निकै रमाइलो लागेको बताए । उनीहरूले अन्यलाई पनि यहाँ आएर फूलको सौन्दर्य अवलोकन गर्न र केही समय मन प्रफुल्लित बनाउन आग्रह गरे । त्यसैगरी, समूहमा यहाँ घुम्न आएका गीता खड्का, आस्मा गुरुङ, जेनी चौधरी, सानु चौधरी र साना चौधरीले पनि बगान निकै आकर्षक रहेको बताए । नारायणगढबाट आएका उनीहरूले अघिल्लो वर्ष आउने योजना भए पनि फूल सुकेको हुँदा आउन नपाएको र यस वर्ष भने फूल फुलेको समयमा आएको बताए । टिकटकमा देखेर यहाँ आउन प्रेरणा मिलेको उनीहरूको भनाइ छ ।

एग्रो–इको टुरिजम प्रवद्र्धन गर्ने उद्देश्यले तयार गरिएको यस बगानले यस क्षेत्रलाई चहलपहल बनाउनुका साथै युवाहरूलाई कृषि क्षेत्रमा लाग्न प्रेरणा पनि दिएको छ । हाल यहाँ दैनिक चारदेखि पाँच सयसम्म मानिस विभिन्न स्थानबाट अवलोकन गर्न आउने गरेका छन् । फूल फुल्ने समय सीमित हुने भएकाले यस अवधिमा आगन्तुकको भीड बढी हुने गरेको छ । अधिकारीले भने, “धेरैजसो रमाउन, फोटो खिच्न र टिकटक बनाउन आउनुहुन्छ । कतिपय भने खेतीबारे बुझ्न पनि आउनुहुन्छ । बीउ कहाँ पाइन्छ ? ‘मेरो पनि जग्गा छ, म पनि लगाउँछु’ भन्दै सल्लाह लिन आउनुहुन्छ । सकेसम्म मैले जानेको कुरा सिकाएर पठाउने गरेको छु ।” युवाहरूमा पनि यस खेतीप्रति आकर्षण बढ्दै गएको र कृषि पर्यटनको सम्भावना देखिएको उनको भनाइ छ ।

उनका अनुसार, गत वर्ष यहाँ गाजर र चुकन्दरखेती गरिएको थियो भने अघिल्लो वर्ष पनि सूर्यमुखी लगाइएको थियो । यस वर्ष पुनः सूर्यमुखी खेती गरिएको उनले बताए । अघिल्लो वर्ष आगन्तुकबाट राम्रो प्रतिक्रिया प्राप्त भएपछि यस वर्ष पनि सूर्यमुखी लगाइएको र हालसम्म राम्रो भइरहेको उनको भनाइ छ । उनका अनुसार, यस बगान स्थापना गर्न रोपाइँ, गोडमेल र व्यवस्थापनमा ठूलो लगानी गरिएको छ । उनले तेलबाली अनुसन्धान कार्यक्रम सर्लाहीबाट बीउ ल्याएर यहाँ सूर्यमुखीखेती गरेका हुन् । यहाँ उत्पादन हुने प्रांगारिक वस्तुको बजारको समस्या नभएको उनले बताए । काठमाडौँस्थित अग्र्यानिक मार्टमा यहाँका उत्पादन जाने गरेका छन् । सूर्यमुखीको तेल प्रतिलिटर ८०० रुपैयाँमा बिक्री हुने उनको भनाइ छ ।

1

Scroll to Top