Banijya News

चैत ८ गतेदेखि आइपिओ बिक्री गर्दै सानिगाड हाइड्रो

1
1.1K Shares

सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रूपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये २८ करोड ५० लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका २८ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरिने सेयरमध्ये १८ लाख ५२ हजार ५०० कित्ता सेयर अति प्रभावित क्षेत्र सुदूरपश्चिमत प्रदेश, बझाङ जिल्ला अन्तर्गतका बुंगल नगरपालिका वडा नं. १,२ र ४ का बासिन्दाहरूमा बाँडफाँट गरिनेछ। बाँकी रहेको ९ लाख ९७ हजार ५०० कित्ता बुंगल नगरपालिकाको वडा नं. ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दाहरूमा बाँडफाँट गरिनेछ।

यसका साथै सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५ करोड ७० लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित दरका ५ लाख ७० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो। सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन बन्द छिटोमा चैत २२ गते हुनेछ भने ढिलोमा वैशाख ७ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि चैत २२ गतेसम्म लम्बिनेछ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले लक्ष्मी सनराइज बैंकको चैनपुर शाखा, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको बझाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

1

Scroll to Top