सार्वजनिक शेयर निष्काशन (आईपीओ)का लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ८९ कम्पनी पाईपलाईनमा छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार होटल तथा पर्यटन क्षेत्रका १४ कम्पनी, हाइड्रोपावर क्षेत्रका ३१ कम्पनी, इन्भेस्टमेन्ट क्षेत्रका ४ कम्पनी, माइक्रोफाइनान्स तथा प्रोसेसिङ क्षेत्रका २४ कम्पनी, माइक्रो इन्स्योरेन्स क्षेत्रका ३ कम्पनी र अन्य क्षेत्रका १३ कम्पनी आईपीओ निष्काशनको प्रक्रियामा रहेको बोर्डले जानकारी दिएको छ। तीमध्ये सबैभन्दा धेरै कम्पनी हाइड्रोपावर क्षेत्रका छन्। सेबोनको आईपीओ पाइपलाइन विवरणअनुसार हाइड्रोपावर क्षेत्रका ३१ कम्पनीले आईपीओ निष्काशनका लागि आवेदन दिएका छन् यी कम्पनीहरूले हाल बोर्डको स्वीकृतिको प्रतीक्षा गरिरहेका छन्। सेबोनकाे तथ्यांकअनुसार ती कम्पनीहरूले प्रस्ताव गरेको कुल शेयर निष्काशन रकम करिब १५ अर्ब १४ करोड ६३ लाख रुपैयाँ बराबर रहेको छ। साथै, ती ३१ कम्पनीले कुल १४ करोड ७३ लाख ९१ हजार कित्ता शेयर निष्काशनका लागि आवेदन दिएका हुन्।
हाइड्रोपावर क्षेत्रका पाइपलाइनमा रहेका कम्पनीहरूमध्ये केही कम्पनीहरूले ठूलो परिमाणमा आईपीओ निष्काशनका लागि अनुमति मागेका छन्। तीमध्ये सिउरी न्यादी पावर लिमिटेडले सबैभन्दा ठूलो परिमाणको आईपीओ प्रस्ताव गरेको छ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ३ लाख ६० हजार ७८४ कित्ता शेयर निष्काशनका लागि आवेदन दिएको छ, जसको कुल मूल्य करिब ३ अर्ब ३ करोड ६० लाख रुपैयाँ बराबर रहेको छ। सेबोनकाे तथ्यांकअनुसार ती कम्पनीहरूले प्रस्ताव गरेको कुल शेयर निष्काशन रकम करिब १५ अर्ब १४ करोड ६३ लाख रुपैयाँ बराबर रहेको छ। त्यसैगरी, युनाइटेड मेवा खोला हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ करोड २३ लाख कित्ता शेयर निष्काशनका लागि अनुमति मागेको हो। जसको मूल्य १ अर्ब २३ करोड रुपैयाँ रहेको छ। त्यस्तै, मेवा डेभलर्पस लिमिटेडले समेत प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ करोड १२ लाख कित्ता शेयर निष्काशनका लागि बोर्डसमक्ष आवेदन दिएको छ। जसको शेयर मूल्य १ अर्ब १२ करोड रुपैयाँ हुनेछ। त्यसैगरी, भिजन इनर्जी एण्ड पावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८३ लाख कित्ता शेयरका लागि अनुमति मागेको छ। यससँगै इलेक्ट्रो पावर कम्पनीले पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८१ लाख २५ हजार कित्ता शेयर निष्काशनका लागि बोर्डसँग समक्ष अनुमति मागेको हो।
यसै गरी माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट, आशुतोष इनर्जी, हिटलन हाइड्रो इनर्जी, पुवा खोला वान हाइड्रोपावर, मादमे खोला हाइड्रोपावर र निलगरी खोला हाइड्रोपावर पनि पाइपलाइनमा रहेका प्रमुख कम्पनीहरू हुन्। साथै पिपुल्स इनर्जी लिमिटेड, चम्पावती हाइड्रोपावर, हिम पर्वत हाइड्रोपावर, सेन्चुरी इनर्जी लिमिटेड, हेयाविट्याक पावर र नुम्बुर हिमालयन हाइड्रोपावरले पनि आईपीओ जारी गर्ने तयारी गरिरहेका छन्। त्यसैगरी युनाइटेड मेवा खोला हाइडोपावर, आरती पावर कम्पनी, मेवा डेभलर्पस लिमिटेड, म्यादी हाइड्रोपावर, एलसी इनर्जी लिमिटेड, झ्यामोलोङ्गमा हाइड्रोपावर, अर्विट इनर्जी, भिजन इनर्जी एण्ड पावर, ह्वाइट लोटस पावर तथा इलेक्ट्रो पावर कम्पनी समेत पूँजी बजारमा प्रवेशको चरणमा रहेका छन्। उपलब्ध तथ्यांकअनुसार सिउरी न्यादीले सबैभन्दा बढी ३०,३६०.८ हजार कित्ता सेयर ल्याउने तयारी गरेको छ भने युनाइटेड मेवा खोला हाइडोपावर र मेवा डेभलर्पस लिमिटेडले पनि ठूलो परिमाणमा सेयर निष्कासन गर्ने योजना बनाएका छन्। अधिकांश कम्पनीहरूको सेयर संख्या र मूल्य बराबरीमा देखिए पनि सेन्चुरी इनर्जी लिमिटेड र नुम्बुर हिमालयन हाइड्रोपावरको मूल्य संरचना केही फरक रहेको छ।


