आजभन्दा करिब सवा सय वर्षअघिको कुरा हो, जब मानिसका लागि आकाश केवल हेर्नका लागि मात्र थियो, छुनका लागि होइन । त्यतिबेलाका ठुला–ठुला गणितज्ञ र वैज्ञानिकहरूले समेत गणितीय सूत्र नै निकालेर घोषणा गरेका थिए कि “हावाभन्दा गरुङ्गो कुनै पनि वस्तु आकाशमा उड्नु भौतिक विज्ञानको नियम विपरीत छ।“ तर, अमेरिकाको ओहायो राज्यको एउटा सानो साइकल पसलमा दुई दाजुभाइ, ओर्भिल र विल्बर राइट, संसारको यो ’परम सत्य’ लाई चुनौती दिने तयारी गरिरहेका थिए । उनीहरूसँग न त कुनै ठुलो विश्वविद्यालयको डिग्री थियो, न त सरकारको आर्थिक सहयोग, थियो त केवल चराहरूको उडानप्रतिको गहिरो लगाव र एउटा यस्तो जिद्दी, जसले इतिहासको पाना पल्टाउनै आँटेको थियो । उनीहरूले वर्षौंसम्म चराहरूले हावाको बहावसँगै कसरी पखेटाको आकार बदल्छन् भन्ने कुराको सूक्ष्म अध्ययन गरे । उनीहरूले बुझेका थिए कि उड्नु मात्र ठुलो कुरा होइन, उडेपछि त्यसलाई नियन्त्रण गर्नु र सन्तुलन कायम राख्नु नै वास्तविक चुनौती हो ।
त्यो समयको एउटा चर्चित सामाजिक कटाक्ष यस्तो थियो,“यदि भगवानले मानिसलाई उडाउन चाहन्थे भने, पखेटा दिएरै पठाउने थिए।” त्यसक्रममा छिमेकीहरूले त उनीहरूलाई पागल नै घोषणा गरिसकेका थिए।“ तर राइट दाजुभाइको ध्यान अरूको कुरामा होइन, आफ्नै हातले बनाएको सानो ’विन्ड टनेल’ मा थियो, जहाँ उनीहरूले सयौँ पटक पखेटाका डिजाइनहरू परीक्षण गरिरहेका थिए । उनीहरूले आफ्नै मेसिनमा एउटा सानो ग्यासोलिन इन्जिन र काठको प्रोपेलर जडान गरे । उनीहरूको संघर्ष केवल प्रविधिसँग मात्र नभएर मृत्युसँग पनि थियो । हरेक पटक परीक्षण गर्दा मेसिन भुईँमा पछारिन्थ्यो, काठका टुक्राहरू उड्थे र उनीहरूको ज्यान जोखिममा पथ्र्यो । तर, ती असफलताहरूले उनीहरूलाई रोक्नुको सट्टा अझ बढी परिष्कृत बनाउँदै लग्यो । उनीहरूले बुझे कि साइकल चलाउँदा जस्तै सन्तुलन मिलाउन सकियो भने मात्र मेसिनलाई हावामा अड्याउन सकिन्छ ।
सन् १९०३ को डिसेम्बर १७ को त्यो ठिहीपूर्ण बिहान, उत्तर क्यारोलिनाको किटी हकको बालुवामा एउटा यस्तो दृश्य देखियो, जसले मानव सभ्यताको दिशा नै सधैँका लागि बदलिदियो । जब ओर्भिल राइटले आफ्नो ’फ्लायर’ मेसिनको इन्जिन स्टार्ट गरे, बालुवा उड्न थाल्यो र मेसिन बिस्तारै अगाडि बढ्यो । त्यहाँ उपस्थित केही प्रत्यक्षदर्शीहरूको सास रोकियो । मेसिनले जमिन छाड्यो र १२ सेकेन्डसम्म हावामा तैरियो । त्यो केवल १२० फिटको दूरी थियो, तर त्यो दूरीले मानिसलाई पृथ्वीको गुरुत्वाकर्षणबाट मुक्त गरिदिएको थियो । त्यो १२ सेकेन्डले संसारलाई सिकाएको थियो कि यदि साहस र विज्ञानको सही तालमेल भयो भने मानिसले असम्भवलाई सम्भव बनाउन सक्छ । आज हामी जुन विमानमा चढेर महासागरहरू पार गर्छौँ, त्यसको बीउ त्यहीँ रोपिएको थियो । एक सय वर्षअघिको त्यो सानो साइकल पसलको पागलपनले आज संसारलाई एउटा ’ग्लोबल भिलेज’ बनाइदिएको छ, जसले हामीलाई सिकाउँछ कि संसार बदल्नका लागि संसाधन होइन, एउटा अटल दृष्टिकोण र अदम्य साहस चाहिन्छ ।


