शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको खेलकुद क्षेत्रको जग बलियो बनाउन खेलकुदलाई विद्यालयको पाठ्यक्रममै समावेश गर्ने घोषणा गरेका छन्। मङ्गलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निरीक्षणका क्रममा उनले यस्तो महत्त्वाकाङ्क्षी योजना अघि सारेका हुन्।
मन्त्री पोखरेलले नेपालको खेलकुदमा मुख्य समस्या सानै उमेरदेखि खेलाडी उत्पादन गर्ने प्रक्रिया (ग्रासरुट) को अभाव रहेको औँल्याए। काठमाडौँ महानगरपालिकामा रहँदा सुरु गरिएको ‘रचनात्मक विद्यालय’ कार्यक्रमको अनुभव साट्दै उनले अब नीतिगत र कानुनी रूपमै खेलकुदलाई शिक्षासँग जोड्ने प्रतिबद्धता व्यक्त गरे।
“अहिले नेपालको खेलकुद क्षेत्रमा धेरैजसो खेलाडीहरू नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट आएका छन्, किनभने त्यहाँ डाइट, ट्रेनिङ र आर्थिक सुनिश्चितता छ,” मन्त्री पोखरेलले भने, “तर ती निकायमा १८ वर्ष पुगेपछि मात्र प्रवेश पाइन्छ। यदि हामीले त्यही स्तरको डाइट र ट्रेनिङ सानै उमेरदेखि दिन सक्यौँ भने खेलकुदको विकास तीव्र गतिमा हुन्छ। अब पाठ्यक्रम विकास केन्द्रसँग मिलेर विद्यालय तहमै खेलकुदलाई जोड्न कसैले रोक्दैन।”
आफूलाई मन्त्री वा अध्यक्षभन्दा पनि एक ‘टिम मेम्बर’ का रूपमा मात्र हेर्न आग्रह गर्दै उनले खेलकुद क्षेत्रका विज्ञ र कर्मचारीहरूलाई पूर्वाग्रह त्यागेर एकजुट हुन आह्वान गरे। आगामी ५ वर्षभित्र खेल क्षेत्रलाई ग्रासरुटसँग जोडेर दीर्घकालीन र व्यावसायिक विकास गर्ने आफ्नो मुख्य लक्ष्य रहेको मन्त्री पोखरेलले स्पष्ट पारे।


