ट्रान्परेन्सी इन्टरनेसनल नेपालले बालेन सरकारले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रशंसनीय सुरुआत गरेको जनाएको छ । बालेन सरकारले सार्वजनिक गरेको प्रशासनिक सुधार कार्यसूचीलाई लिएर ट्रान्सपरेन्सीले प्रशंसा गरेको हो । “जनताको सुशासनको चाहनाअनुरूप, प्रतिनिधिसभाको करिब दुईतिहाइ बहुमतसहित नवगठित सरकारले पारित गरेको शासकीय सुधारसम्बन्धी कार्यहरूको सूची जनादेशको भावना र मागअनुरूप हुनुका साथै धेरै वर्षदेखि उठाइँदै आइएका सुशासनका विषय अधिकांश रूपमा समावेश भएको ठहर गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल प्रशंसा गर्दछ,” मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मन्त्रिपरिषद्को पहिलो बैठकमा नै देशलाई सुशासनतर्फ लान समयसीमासहितको बृहत् कार्यसूची पारित गर्नुले वर्तमान सरकारले जनताको हित र सुशासनप्रतिको प्रतिबद्धता देखाएको दाबी ट्रान्परेन्सीले गरेको छ । “बृहत् कार्यसूचीमा उल्लेखित कार्यहरूको कार्यान्वयनको सुरुवात भइसक्नु सराहनीय छ । तोकिएको समयसीमाभित्र सबै कार्य सम्पन्न हुनेछन् भन्नेमा आशा र विश्वास लिएका छौँ । सुशासन प्रवर्द्धनको कार्यमा आफ्नो अनुभव र विज्ञता उपलब्ध गराउन ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल प्रतिवद्ध छ,” विज्ञप्तिमा उल्लेख छ ।


