Banijya News

मार्जिन कारोबारका लागि एक सय २३ कम्पनी योग्य, कसरी हुन्छ कारोबार ?

1
1.1K Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबारका लागि योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको छ। नेप्सेले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया, २०८२ को परिच्छेद ३ को दफा ८ (१)बमोजिम मापदण्ड पूरा गरेका कारोबार योग्य कम्पनीको सूची सार्वजनिक गरेको हो। यो सूचीमा नेप्सेमा सूचीकृत १२३ वटा कम्पनी परेका छन्। मार्जिन कारोबारका लागि नेप्सेमा सूचीकृत १९ वटै वाणिज्य बैंक योग्य देखिएको छन्। राष्ट्रियस्तरका ८ वटै विकास बैंकसहित ११ वटा विकास बैंक पनि मार्जिन कारोबारका लागि योग्य भएका छन्। नेप्सेका अनुसार अब ती कम्पनीहरूको सेयर धितो राखेर लगानीकर्ताले ब्रोकरमार्फत ऋण लिएर (मार्जिन लोन) थप सेयर खरिद-बिक्री गर्न सक्नेछन् ।

नयाँ सूचिमा सबै वाणिज्य बैंक समेटिएका छन् । सूचिमा ११ विकास बैंक परेका छन् र ६ विकास बैंक बाहिरिएका छन्। वित्त कम्पनीतर्फ ११ समेटिँदा ७ कम्पनी सूचिमा परेका छैनन्। लघुवित्त समूहबाट १७ कम्पनी, १२ जीवन बीमा र ११ निर्जीवन बीमा कम्पनी पनि सूचिमा छन् । ऊर्जा क्षेत्रतर्फ २४ जलविद्युत कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य ठहरिएका छन्। बीमा क्षेत्रअन्तर्गत हिमालयन रिइन्स्योरेन्स समेटिएको छ ।

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले आगामी वैशाख २ गतेदेखि मार्जिन कारोबार सुविधा सुरु हुने जनाएको छ । एसोसिएसनले मंगलबार विज्ञप्ति जारी गर्दै मार्जिन कारोबारका लागि योग्य ब्रोकरमार्फत उक्त सुविधा लगानीकर्तालाई उपलब्ध गराइने जानकारी दिएको हो। बैठकले मार्जिन कारोबारसम्बन्धी ब्रोकरहरूको कार्यप्रक्रिया समेत पारित गरेको छ।

के हो मार्जिन कारोबार ?

मार्जिन कारोबार भन्नाले लगानीकर्ताले आफ्नो मात्र पूँजी प्रयोग नगरी ब्रोकर वा वित्तीय संस्थाबाट ऋण लिएर सेयर किनबेच गर्ने प्रणालीलाई जनाउँछ। यसमा लगानीकर्ताले केही रकम आफ्नै लगानीको रूपमा राख्छ र बाँकी रकम ब्रोकरबाट लिएर ठूलो परिमाणमा सेयर खरिद गर्न सक्छ। यसरी किनेको सेयर नै धितोको रूपमा राखिन्छ र लिएको ऋणमा ब्याज पनि तिर्नुपर्छ। मार्जिन कारोबारको मुख्य विशेषता भनेको लिभरेज हो, जसले थोरै पूँजीबाट ठूलो लगानी गर्ने अवसर दिन्छ। यसले नाफा बढाउने सम्भावना भए पनि जोखिम पनि उच्च हुन्छ, किनकि सेयरको मूल्य घटेमा ठूलो घाटा हुन सक्छ, जसमा थप रकम राख्नुपर्ने हुन्छ। नेपालमा मार्जिन कारोबार सम्बन्धि नयाँ कार्यविधि ल्याइनुका प्रमुख उद्देश्यहरू लगानीकर्ताको सुरक्षा बढाउनु, ब्रोकरहरूको जोखिम व्यवस्थापन सुधार गर्नु, पारदर्शिता कायम गर्नु र बजारलाई व्यवस्थित बनाउनु हुन्। त्यसैले मार्जिन कारोबार गर्दा राम्रो ज्ञान, सावधानी र जोखिम वहन गर्ने क्षमता आवश्यक हुन्छ।

सबै शेयरको मार्जिन कारोबार हुन्छ ?
पुँजी बजारमा सूचीकृत भएका सबै कम्पनीका शेयरहरु मार्जिन कारोबार गर्न योग्य रहँदैनन् । यसको लागि निर्देशिकाले जारी गरेको कम्तीमा २५ लाख कित्ता सर्वसाधारण शेयर सूचीकरण भएको, नेटवर्थ चुक्ता पुँजी बराबर वा सोभन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष खुद नाफा गरेको र प्रारम्भिक सार्वजनिक निष्काशनमार्फत निष्काशन भएको शेयर सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएका जुन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूची जारी गरेका हुन्छन् त्यस्ता कम्पनीको शेयर मात्रै मार्जिन कारोबारका लागि योग्य हुने व्यवस्था गरिएको छ । अन्यको हकमा मार्जिन कर्जा सुविधा लिन सकिँदैन ।

लगानीकर्ताले मार्जिन कारोबार सुविधाबापत लिएको रकम तथा दायित्व चुक्ता नगरेमा वा सम्भार मार्जिन कायम गर्न नसकेमा मार्जिन कारोबार हितग्राही खातामा रहेको शेयर बिक्री तथा मार्जिन कारोबार खाता राफसाफ गर्ने प्रयोजनका लागि मात्रै लगानीकर्तासँग धितोपत्र दलाल कम्पनीले अग्रीम रुपमा लिइएको मञ्जुरीनामा हो । यदि लगानीकर्ताले आफूले लिएको मार्जिन कर्जा तोकिएको समयमा भुक्तान नगरेमा, सम्भार मार्जिन नतिरेमा वा नवीकरण नगरेमा ब्रोकरले लगानीकर्ताको शेयर बिक्री गर्नसक्ने अधिकार प्रत्यायोजन गरिएको पत्र नै अधिकृत वारेसनामा हो ।

धितोपत्र दलाल व्यवसायीले आफ्नो प्रमाणित नेटवर्थको पाँच गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्नेछ तर यस्तो सुविधा दिनका लागि ब्रोकरले बैंक तथा वित्तीय संस्थासँग लिएको ऋण र आफ्नो शेयरधनी वा सञ्चालकसँग लिएको असुरक्षित ऋण धितोपत्र दलाल व्यवसायीको नेटवर्थको ४.५ गुणाभन्दा बढी हुनुहुँदैन । त्यसमा पनि कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्य वा सम्बद्ध संस्थालाई मार्जिन सुविधा प्रदान गर्दा धितोपत्र दलाल व्यवसायीले प्रदान गर्नसक्ने कूल मार्जिन सुविधाको बढीमा १० प्रतिशतभन्दा बढी हुनुहुँदैन । निर्देशिकाबमोजिम उपलब्ध मार्जिन कारोबार सुविधाको समयावधि बढीमा एक वर्षसम्म हुनेछ तर उक्त समयावधिपश्चात् निरन्तरता दिन चाहेमा नवीकरण गर्न सकिन्छ ।

अहिलेकै खातामा मार्जिन कारोबार सम्भव छ ?

मार्जिन कारोबारका लागि अहिले दोस्रो बजारमा कारोबार गर्न चाहिने खाताको अलवा थप तीन वटा खाता खोल्न आवश्यक देखिन्छ । यी खाताबिना मार्जिन कारोबार सम्भव देखिँदैन ।

१) मार्जिन कारोबार खाताः कुनै पनि लगानीकर्ताले मार्जिन कारोबारमार्फत शेयर खरिद वा बिक्री गर्नका लागि धितोपत्र दलाल व्यवसायीकामा खोलिने खाता नै मार्जिन कारोबार खाता हो । यसै खातामा मार्जिन रकम जम्मा गर्ने गरिन्छ ।

२) मार्जिन कारोबार हितग्राही खाता : लगानीकर्ताले मार्जिन कारोबारमार्फत खरिद गरेको शेयर जम्मा गर्न धितोपत्र दलाल व्यवसायीकामा खोलिएको हितग्राही खाता नै मार्जिन कारोबार हितग्राही खाता हो ।

३) मार्जिन कारोबार राफसाफ हितग्राही खाता : राफसाफ सदस्यले मार्जिन कारोबारमार्फत भएको शेयर कारोबारको राफसाफ तथा फछ्र्यौट कार्यका लागि केन्द्रीय कम्पनीको प्रणालीमा खोलेको हितग्राही खाता नै मार्जिन कारोबार राफसाफ हितग्राही खाता हो । यस खातासँग मार्जिन कारोबार खाता र मार्जिन कारोबार राफसाफ हितग्राही खातालाई आबद्ध गर्नुपर्ने हुन्छ ।

1

Scroll to Top