कोसी प्रदेश सरकारले सबैभन्दा धेरै बजेट खन्याएका योजनाको प्रगति १० प्रतिशतभन्दा माथि देखिएको छैन । अर्बौं बजेट हालिएका त्यस्ता परियोजनाको प्रगति ‘कछुवाको गति’ बनेको छ । बहुवर्षीय र सालवसाली योजनाका नाममा कोसी सरकारले अर्बौं बजेट विनियोजन गरेको छ । तर, स्रोतको अभावमा ती योजनाले गति लिन सकेका छैनन् । हरेक वर्ष स्रोत सुनिश्चित नै नगरी ल्याइने त्यस्ता योजनाका कारण कोसी सरकार वित्तीय संकटमा फस्दै गएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको तथ्यांकअनुसार, कोसीमा धेरै बजेट विनियोजन गरिएका र वर्षाैंदेखि अल्झिएका भौतिक पूर्वाधार निर्माणसम्बन्धी योजनाको प्रगति १० प्रतिशतभन्दा माथि नदेखिएको हो । कतिपय योजनाको प्रगति त पाँच प्रतिशत मात्रै छ । यसले प्रदेश सरकारको कार्यक्षमतामाथि नै प्रश्न उठाएको छ । कोसी सरकारको सबैभन्दा धेरै नेतृत्व एमालेबाट मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका छन् । अहिले पनि कोसीमा उनकै सरकार छ ।
मन्त्रालयको तथ्यांकअनुसार विगतदेखि चालू आर्थिक वर्ष ०८२/०८३ सम्म वहुवर्षीय ७३ वटा सडक (आरसीआईपी समेत) निर्माणाधीन छन् । तीमध्ये पाँचवटा मात्र पूरा भएका छन् । प्रदेश सरकारले जनाएअनुसार पाँचवटा सम्पन्न हुने चरणमा छन् । ती सडकका लागि दुई अर्ब ८० करोड बजेट विनियोजन गरिएको छ ।
यसैगरी वहुवर्षीय सडक (स्रोत सहमति प्राप्त) को संख्या १५ छ । ती सडकका लागि ४४ करोड बजेट विनियोजन गरिएको छ । तर, ती सडक सुरु नै हुन सकेका छैनन् । मन्त्रालयका अनुसार, ती योजना खरिद प्रक्रिया तथा निर्माणको चरणमा छन्, जसको प्रगति पाँच प्रतिशत मात्रै छ । यहाँ विगतदेखि नै वहुवर्षीय सडक–पुल ६० वटा निर्माणाधीन छन् । एक अर्ब बजेटका यी योजनामध्ये दुईवटा मात्रै पूरा भएका छन् । यस्तै, स्रोत सहमति भएका २५ वटा निर्माण भएका छन् भने बाँकी खरिद प्रक्रियाको चरणमा छन् ।
५६ वटा झोलुंगेपुल आयोजनामध्ये पाँचवटा निर्माण सम्पन्न भएका छन् भने १५ वटा सम्पन्न हुने चरणमा छन् । यी पुलका लागि सरकारले ७७ करोड २० लाख बजेट विनियोजन गरेको छ । तर, ती पुलको कुनै स्रोत सुनिश्चित भने छैन । यसैगरी, स्रोत सहमति भएका १८ वटा झोलुंगेपुलको प्रगति १० प्रतिशत मात्र छ ।
भवनतर्फका २२ वटा योजनामध्ये चारवटा मात्र पूरा भएका छन् । यसमा ४९ करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ । स्रोत सहमति भएका १९ वटा भवनमध्ये तीनवटा मात्र निर्माण चरणमा छन् । कुल यस्ता योजनाको प्रगति पाँच प्रतिशत मात्र छ ।
सालवसाली एक हजार १५९ योजनामा प्रदेश सरकारले तीन अर्ब ६० करोड विनियोजन गरेको छ । जसमध्ये जम्मा २९ योजना मात्रै सम्पन्न भएका छन् । कोसी सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेप स्रोत सुनिश्चित नगरी धेरै भन्दा धेरै योजनामा बजेट विनियोजन गर्दा समस्या आएको बताउँछन् । संघबाट हस्तान्तरण भई आएका धेरै योजनाका कारण पनि अधिक दायित्व देखिएको उनको दाबी छ । “संघबाट आउने अनुदानसमेत कटिरहने र सम्पन्न योजनाको समेत लगतकट्टा नहुँदा अधिक दायित्व देखिने गरेको छ,” उनले भने ।
संघबाट हस्तान्तरण भएका आयोजना र प्रदेश सरकार गठन भएपश्चात् विगतका वर्षमा मन्त्रालयबाट समेत स्रोत सहमति भई प्रदेश सरकारमातहतका कार्यालयबाट सञ्चालित वहुवर्षीय आयोजना प्रत्येक वर्ष चाङ लाग्दै जान थालेका छन् । मन्त्रालयको तथ्यांकअनुसार बहुवर्षीय योजनाको दायित्व २० अर्बभन्दा माथि पुगिसकेको छ । सरकारले चालु आर्थिक वर्षमा यस्ता योजनाको दायित्वका लागि दुई अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । स्रोत कम र दायित्व धेरै हुँदा प्रदेश सरकार वित्तीय संकटमा परेको आर्थिक मामिला मन्त्री लिङ्थेपको भनाइ छ ।
मन्त्रालयका अनुसार, चालू आवसम्म यस्तोे दायित्व २० अर्ब ६१ करोड १५ लाख ५८ हजार छ । जबकि, कोसी सरकारको चालू आवको पुँजीगत बजेट नै जम्मा १६ अर्ब ५२ करोड छ । वहुवर्षी योजनाको दायित्व चालू आवको विकास बजेट (पुँजीगत) भन्दा चार अर्ब रुपैयाँ बढी रहेको छ ।
मन्त्रालयको तथ्याकंअनुसार, सडक पुलतर्फ सबैभन्दा धेरै बजेट १६ अर्ब ५१ करोड ३२ लाख, सहरी विकासतर्फ दुई अर्ब १४ लाख, सिँचाइतर्फ ९१ करोड ८७ लाख, खानेपानीतर्फ ९९ करोड २१ लाख र पर्यटनतर्फ १८ करोड ५९ लाख रुपैयाँ छुट्ट्याइएको छ ।


