Banijya News

सञ्चालनमा रहेका १५ हजार सहकारीमध्ये साढे ११ हजार मात्रै दर्ता

1
1.1K Shares

सञ्चालनमा रहेका १५ हजार बचत तथा ऋण सहकारीमध्ये साढे ११ हजार मात्रै राष्ट्रिय सहकारी प्राधिकरणमा दर्ता भएका छन् । प्राधिकरणका अनुसार १७ चैतसम्ममा ११ हजार ६७७ बचत तथा ऋण सहकारी संस्था दर्ता भएका छन् भने १ हजार ८३४ सहकारी संस्थालाई सञ्चालन अनुमति समेत दिइसकेको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरण बचत तथा ऋण सहकारी संस्था नियमनका लागि स्थापना भएको संस्था हो । अघिल्लो सरकारले अध्यादेशमार्फत सरकारी ऐन २०७४ परिमार्जन गरेर बचत तथा ऋण सहकारी संस्था नियमनका लागि प्राधिकरण स्थापनाको व्यवस्था गरेको छ ।

जसमा उक्त ऐन लागु भएको एक वर्षभित्र सहकारी संस्थाले प्राधिकरणबाट सञ्चालन अनुमति लिनुपर्ने उल्लेख छ । ऐनअनुसार एक वर्ष हिजो १७ चैत (मंगलबार) सकिएको छ । यहीकारण प्राधिकरणले सूचना जारी गरेर सूचीकृत हुन आउने म्याद सकिएको जनाएको छ । प्राधिकरणका अनुसार ८०२ वटा सहकारी संस्थाको प्रमाणीकरण सकिएर सञ्चालन अनुमति दिन बाँकी रहेको, ३ हजार ९९३ वटा संस्थाको कागजात प्रमाणीकरण प्रक्रियामा रहेको र बाँकी ५ हजार ४८ वटा सहकारीले ‘ओटीपी’ लिइसकेको प्राधिकरणका निर्देशक एवं प्रवक्ता केशवराज भट्टराईले जानकारी दिए । कागजात प्रमाणीकरण प्रक्रियामा रहेका र ओटीपी मात्र लिएका सहकारी संस्थालाई ३० दिनभित्र सञ्चालन अनुमति दिने भट्टराईले जानकारी दिए ।

हाल देशभर सबै प्रकृतिका गरी करिब ३२ हजार सहकारी संस्था सञ्चालनमा छन् । तीमध्ये करिब १५ हजार बचत तथा ऋण सहकारी संस्था छन् । यद्यपि, ऐन जारी भएको एक वर्षभित्र अनुमतिपत्र लिइसक्नुपर्ने व्यवस्था संशोधनका लागि प्राधिकरणले सहकारी ऐन २०७४ परिमार्जनका गर्न मन्त्रालयलाई आग्रह गरेको छ । यदि कुनै संस्थाले तोकिएको अवधीभित्र दस्तुर भुक्तानी गरीसके पनि कुनै कारणवश पूर्णविवरण प्रविष्ट गर्न बाँकी रहेमा १७ वैशाख २०८३ सम्म पूर्ण विवरण प्रविष्ट गर्न सक्ने सुविधा प्राधिकरणले दिएको छ । तोकिएको समयावधिभित्र सम्पूर्ण विवरण प्रविष्ट गरेका सहकारी संस्थाको मात्र विवरण रुजु गरी इजाजत पत्र प्रदान गरिने प्राधिकरणले जनाएको छ ।

1

Scroll to Top