नेपालको पूर्वाधार विकासको चित्र वर्तमानमा निकै निराशाजनक देखिन्छ। अर्बौँ लगानी गरिएका राष्ट्रिय गौरवका आयोजनादेखि स्थानीय स्तरका पूर्वाधारहरू वर्षौँसम्म अलपत्र र रुग्ण अवस्थामा छन्। ठेक्का लाग्ने तर काम नहुने, अथवा पटक–पटक बोलपत्र आह्वान गर्दा पनि निर्माण व्यवसायीहरूले चासो नदेखाउने प्रवृत्तिले विकासको गतिलाई अवरुद्ध पारेको छ।
यही नीतिगत र व्यावहारिक गतिरोधलाई तोड्न वर्तमान सरकारले आफ्नो १०० बुँदे शासकीय सुधारको कार्यसूचीमा एउटा महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ। अब दुई पटकभन्दा बढी बोलपत्र आह्वान गर्दा पनि सफल हुन नसकेका आयोजनाहरूलाई सरकारी स्वामित्वको ‘पूर्वाधार निर्माण कम्पनी’ मार्फत प्रत्यक्ष कार्यान्वयन गर्ने सरकारको तयारी छ। यसका लागि ३० दिनभित्र आवश्यक कानुनी संरचना तयार गरी कम्पनीलाई स्रोत, साधन र दक्ष जनशक्तिले सुसज्जित बनाउने सङ्कल्प गरिएको छ।
पूर्वाधारविज्ञ एवं सांसद आशीष गजुरेलका अनुसार नेपालको पूर्वाधार क्षेत्रमा राज्यको बलियो उपस्थिति हुनु अहिलेको अनिवार्य आवश्यकता हो। उनी निजी क्षेत्रले मात्र सबै काम गर्न सक्छ भन्ने उदारवादी सोच कतिपय ठाउँमा असफल भइसकेको तर्क गर्छन्। छिमेकी चीनको उदाहरण दिँदै उनले सरकारी कम्पनीहरूले पनि विश्वस्तरीय काम गर्न सक्ने बताएका छन्। तर, विगतमा ‘नेसनल कन्स्ट्रक्सन कम्पनी नेपाल’ –एनसीसीएन) राजनीतिक हस्तक्षेप र व्यावसायिक नेतृत्वको अभावका कारण धराशायी भएको स्मरण गर्दै उनले नयाँ कम्पनीलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने चेतावनी दिएका छन्। गजुरेलका अनुसार अब बन्ने कम्पनीको सफलताका लागि नियत सफा र व्यावसायिक स्वतन्त्रता पहिलो सर्त हुनुपर्छ।
यता निर्माण व्यवसायीहरू भने सरकारको यो कदमप्रति सशङ्कित देखिन्छन्। निर्माण व्यवसायी प्रमोद लामिछानेका अनुसार सरकारी कार्यशैली र झन्झटिलो कानुनी प्रक्रियाका कारण यो योजना सफल हुन कठिन छ। विगतमा एनसीसीएन जस्तो बलियो प्रणाली भएको संस्थालाई जोगाउन नसक्ने सरकारले अहिले मन्त्रालयको शाखा जस्तो कम्पनीबाट ठुला काम गर्ने कुरामा उनी विश्वस्त छैनन्।
खरिद नियमावलीका कारण निर्माण सामग्री तत्काल खरिद गर्न नसकिने र निर्णय प्रक्रिया सुस्त हुने हुँदा सरकारी कम्पनीले निजी क्षेत्रको गतिमा काम गर्न नसक्ने उनको बुझाइ छ। लामिछानेले बरु छुट्टै ऐनमार्फत निजी र सरकारी पक्षको संयुक्त लगानी (जोइन्ट भेन्चर) को मोडल अपनाउन उपयुक्त हुने सुझाव दिएका छन्।
अर्का पूर्वाधारविज्ञ किशोर थापाले भने सरकारको यो कदमलाई समय सान्दर्भिक मानेका छन्। निजी क्षेत्रले बिचमै छाडेका वा कसैले पनि जिम्मा लिन नमानेका आयोजनाहरू सम्पन्न गर्न सरकारी कम्पनीको विकल्प नभएको उनको तर्क छ। थापाका अनुसार यस्तो कम्पनीले सबै ठेक्कामा प्रतिस्पर्धा गर्नुको साटो आपत्कालीन अवस्था वा निजी क्षेत्र जान नचाहने ठाउँमा मात्र काम गर्नुपर्छ। सरकारी कम्पनीले बजारमा उपलब्ध मेसिनरी र जनशक्तिलाई परिचालन गर्ने वा साना कम्पनीहरूलाई ‘सब–कन्ट्रयाक्ट’ दिएर पनि आयोजनाहरू अघि बढाउन सक्ने उनी बताउँछन्। तथापि, सार्वजनिक खरिदविज्ञ राजेन्द्रप्रसाद अधिकारी भने यो योजनालाई फरक कोणबाट हेर्छन्।
हालको पूर्वाधार निर्माण कम्पनीसँग पर्याप्त अनुभव, दक्ष जनशक्ति र उपकरणको अभाव रहेको उनको विश्लेषण छ। बिनाप्रतिस्पर्धा सरकारी कम्पनीलाई ठेक्का दिँदा पारदर्शितामा प्रश्न उठ्ने र राज्यलाई थप आर्थिक भार पर्न सक्ने उनी दाबी गर्छन्। सरकारले आयोजनाको लागत अनुमान वा प्रक्रियामा रहेका त्रुटि सच्याउनुको साटो सिधै सरकारी कम्पनीलाई जिम्मेवारी सुम्पिँदा गुणस्तर र जवाफदेहितामा चुनौती थपिन सक्ने अधिकारीको बुझाइ छ। यो कम्पनी केवल जागिर खुवाउने थलो मात्र बन्ने त होइन भन्ने प्रश्न पनि उनले उठाएका छन्।


