राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा झन्डै दुईतिहाइ बहुमतको नयाँ सरकार गठन भएसँगै सेयर बजारमा गिरावट देखिएको छ। यसै सन्दर्भमा, सोमबार (चैत २३) स्टक ब्रोकर एसोसिएसनका प्रतिनिधिहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी निजी क्षेत्रमाथि हुने अनुसन्धान गोप्य राख्न आग्रह गरेका छन्।
पछिल्लो समय सरकारले सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा उद्योगी–व्यवसायीलाई पक्राउ गर्दा सेयर बजार प्रभावित भएकाले त्यसलाई गोप्य राखिनुपर्नेमा उनीहरूले जोड दिए । एसोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मीलगायत प्रतिनिधिले गलत हल्ला फैलाउँदा साना लगानीकर्ता आत्तिएको गुनासो गरे । “संस्थागत लगानीकर्ताका लागि बजारमा सहजताको उपाय अपनाउनुपर्यो । निजी क्षेत्रमाथिको अनुसन्धानलाई गोप्य राखिनुपर्यो । पुँजीबजार सुधार कार्यदलको सुझावहरू यथाशीघ्र कार्यान्वयन गरिनुपर्यो,” उनीहरूले भनेका थिए ।
अर्थमन्त्री डा. वाग्लेले सरकार निजी क्षेत्रविरोधी रहेको भनेर फैलाइएका अफवाहको पछि नलाग्न लगानीकतारूलाई आग्रह गरे । उनले निजी क्षेत्र र सरकार मिलेर नै अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउन सकिने विश्वास व्यक्त गरे । “बजार सुधारका लागि प्राप्त सुझावहरूमा सरकार सकारात्मक छ । सेयर बजारका सम्बन्धमा वर्तमान सरकार सबैभन्दा उदार रहेको र घोषणापत्रमै स्पष्ट धारणा राखेको छ,” उनले भने ।
उनले सरकार निजी क्षेत्रप्रति अत्यन्तै सकारात्मक रहेको र नयाँ बजेट ०४८ सालयताकै रूपान्तरणकारी तथा ऐतिहासिक हुने जिकिर गरे । नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर ल्याउनु सरकारको मुख्य प्राथमिकता रहेको उनले उल्लेख गरे । त्यसनिम्ति सुशासनका कार्य अगाडि बढाइने उनले बताए । उनले थपे, “अपराध गर्नेहरूलाई कुनै उन्मुक्ति दिइने छैन, तर कसैप्रति पनि छानीछानी प्रतिशोध साध्ने काम गरिने छैन ।”


