Banijya News

दोस्रो त्रैमासमा साढे ४ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान

1
1.1K Shares

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक अवधिमा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार विद्युत् उत्पादनमा आएको सुधार, पर्यटकीय गतिविधिमा भएको बढोत्तरी र बैंकिङ क्षेत्रको कर्जा प्रवाहमा देखिएको सहजताले यो वृद्धिलाई सहयोग पुर्‍याएको हो।

यद्यपि, सरकारले राखेको साढे ६ प्रतिशतको वार्षिक लक्ष्य भन्दा यो दर केही कम देखिएको छ। अर्थतन्त्रका विभिन्न १८ वटा औद्योगिक क्षेत्रमध्ये विद्युत् तथा ग्यास क्षेत्रमा सबैभन्दा बढी २२.७५ प्रतिशतको उछाल आएको छ।

वित्तीय तथा बीमा क्रियाकलाप र यातायात क्षेत्रमा पनि दोहोरो अंक नजिकको सुधार देखिएको छ। तर, अर्थतन्त्रमा ठूलो हिस्सा ओगट्ने कृषि क्षेत्रमा भने धान उत्पादनमा आएको ह्रासका कारण केवल २.२१ प्रतिशतको मात्र सामान्य वृद्धि भएको छ।

अघिल्लो त्रैमासको तुलनामा हेर्दा अर्थतन्त्र २.०४ प्रतिशतले बढेको देखिए पनि निर्माण र खानी तथा उत्खनन जस्ता महत्वपूर्ण क्षेत्रमा भने संकुचन आएको छ। निर्माण सामग्रीको आयातमा आएको कमी र केही घरेलु उत्पादनमा आएको गिरावटले यी क्षेत्रलाई प्रभावित पारेको कार्यालयको विश्लेषण छ। निर्माण क्षेत्रमा करिब ०.५९ प्रतिशतको गिरावट देखिएको छ।

तथ्यांक अनुसार सार्वजनिक प्रशासन, शिक्षा र खानेपानी जस्ता सेवा क्षेत्रको वृद्धिदर निकै सुस्त छ। थोक तथा खुद्रा व्यापारमा भने ४.११ प्रतिशतको सुधार देखिएको छ, जसलाई स्वदेशी उत्पादन र आयातमा भएको बढोत्तरीले टेवा दिएको हो। २०७९/८० को न्यून वृद्धिदर पछि नेपाली अर्थतन्त्र बिस्तारै स्थिर गतिको लयमा फर्कन खोजिरहेको संकेत यसले गर्दछ।

वर्षको सुरुवाती समयमा राजनीतिक अन्योल र आन्दोलनका कारण आर्थिक गतिविधिमा केही सुस्तता देखिए पनि दोस्रो त्रैमासमा चुनावी सरकारको प्रयासले बजारलाई केही चलायमान बनाएको छ। तथ्यांक कार्यालयले २०६७/६८ देखि नै हरेक त्रैमास सकिएको ९० दिनभित्र यस्तो लेखा विवरण सार्वजनिक गर्दै आएको छ, जसले देशको वास्तविक आर्थिक चित्र प्रस्तुत गर्दछ।

1

Scroll to Top