नेकपा एमालेकी सांसद सम्झना देवकोटाले बजारमा ग्यास पाउन नै मुस्किल बन्न थालेको बताएकी छिन् । राष्ट्रिय सभाको बुधवार बसेको बैठकको विशेष समयमा उनले बजारमा धेरै ग्यास कम्पनीहरू भएपनि उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न नसकेको गुनासो गरिन् । उनले ग्यास पाएपनि कम्पनीहरूले अर्को कम्पनीको सिलिण्डर साटासाट गर्न नमानेको बताइन्। केही साटेपनि अतिरिक्त पाँच सय रुपैयाँ शुल्क बुझाउनुपर्ने हुँदा उपभोक्ता थप पीडित भएको उनको भनाई छ। ग्यास कम्पनीहरूबीच समन्वय गरी उपभोक्तालाई अतिरिक्त शुल्क बिना सहज रूपमा सिलिण्डर साट्न पाउने व्यवस्था मिलाउन उनले सरकारसँग माग गरिन्।
पश्चिम एसियाको द्वन्द्वले पेट्रोलियम पदार्थ र ग्यासको मूल्यमा भएको वृद्धिले नेपालमा महँगी चुलिएको बताइन्। दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढ्दा सर्वसाधारणको भान्सा प्रभावित भएको र न्युन तथा मध्यम आय भएका परिवार प्रत्यक्ष मारमा परेको उनको भनाइ छ । उनले पश्चिम एसियामा रहेका नेपालीहरूको जीवन जोखिममा परेको उल्लेख गर्दै उनीहरूको सुरक्षाका लागि आवश्यक कुटनीतिक पहललाई गर्न पनि सरकारसंग माग गरिन्।


