इन्धन आयातमा लगाइने कर र अप्रत्यक्ष शुल्कहरूलाई स्थायी रूपमै कटौती गर्न नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा बोल्दै उनले सरकारले हालै इन्धनको कर घटाउने निर्णय गरेकोमा त्यसलाई सर्मथन गर्दै दीर्घकालीन बनाउन वा कर प्रणालीमै पुनरावलोकन गर्न सुझाव दिएका हुन्।
इन्धनको मूल्य सस्तो र सुलभ हुँदा मात्र समग्र अर्थतन्त्र चलायमान हुने जिकिर गर्दै उनले यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताए। सांसद थापाले मध्यपूर्वमा भइरहेको युद्धका कारण विश्वभर इन्धन आपूर्तिमा समस्या देखिएको भन्दै नेपाल जस्तो भूपरिवेष्टित देशमा यसको प्रभाव अझ बढी पर्ने उल्लेख गरे। उनले भारतसँगको निर्भरतालाई मध्यनजर गर्दै आपूर्तिमा कुनै अवरोध नआओस् भन्नका लागि भारत सरकारसँग तत्काल समन्वय र सहकार्य गर्न नेपाल सरकारलाई आग्रह गरेका छन्।
इन्धनको मूल्यवृद्धिले बजार र अर्थतन्त्रमा गम्भीर असर पार्ने भएकाले आपूर्ति सुनिश्चितता नै आजको आवश्यकता रहेको उनको भनाइ छ। यसैगरी, उनले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि चर्चा गर्दै सहमति र सहकार्यको खाँचो रहेको औंल्याए। राजनीतिक दलहरूबीच संवाद र एकता कायम गर्न उनले सरकारलाई सुझाव दिएका छन्। आजको युगमा कुनै पनि द्वन्द्वले विश्वव्यापी प्रभाव पार्ने हुनाले बाह्य र आन्तरिक दुवै अवस्थालाई नजिकबाट नियालेर अघि बढ्न उनले सरकारको ध्यानाकर्षण गराए ।


