नेपालको सेयर बजारमा सिमेन्ट उद्योगहरूको उपस्थिति बढ्दै जाने क्रममा पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको साधारण सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा औपचारिक रूपमा सूचीकृत भएको छ। चैत्र २६ गते बिहीबार नेप्से र कम्पनीबीच भएको सूचीकरण सम्झौता अनुसार कम्पनीको कुल ३ करोड ७५ लाख कित्ता सेयर दोस्रो बजारमा कारोबार हुन सक्ने गरी अभिलेखिकरण गरिएको हो।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिसेयर न्यूनतम १०० रुपैयाँ देखि अधिकतम ३०० रुपैयाँ सम्मको ओपनिङ रेञ्ज तोकेको छ। कम्पनीको पहिलो कारोबार यही रेञ्जभित्र रहेर तय हुनेछ। नेप्सेले कम्पनीको नेटवर्थ र वित्तीय विवरणका आधारमा यो सुरुवाती मूल्य सीमा निर्धारण गरेको हो।
दोस्रो बजारमा कारोबारका लागि कम्पनीले‘PCIL’ (पी.सी..आई.एल.) सिम्बोल प्राप्त गरेको छ। नेप्सेका अनुसार पाल्पा सिमेन्टको सेयर कारोबार भोलि चैत्र २७ गते शुक्रबार बिहान ११ बजेको स्पेशल प्रि-ओपन सेसनबाट सुरु हुनेछ। यदि उक्त सेसनमा तोकिएको रेञ्जभित्र सेयर मिलान भएमा नियमित कारोबार समयमा लगानीकर्ताहरूले खरिद–बिक्री गर्न पाउनेछन्।
यो सूचीकरणसँगै पाल्पा सिमेन्टको सेयर दोस्रो बजारमा प्रवेश गर्ने अर्को ठूलो सिमेन्ट उत्पादक कम्पनी बनेको छ, जसले गर्दा पुँजी बजारमा ‘रियल सेक्टर’ को उपस्थिति थप बलियो हुने अपेक्षा गरिएको छ। साना तथा ठूला लगानीकर्ताहरूले भोलिदेखि आफ्नो हितग्राही (DMAT) खातामा रहेको सेयर कारोबारका लागि योग्य भएको देख्न सक्नेछन्।


