Banijya News

परराष्ट्रमन्त्री खनाल र जर्मन राजदूतबिच भेटवार्ता

1
1.1K Shares

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि जर्मनीका राजदूत उडो यूजेन भोल्जबिच आज परराष्ट्र मन्त्रालयमा औपचारिक भेटवार्ता सम्पन्न भएको छ। उक्त अवसरमा राजदूत भोल्जले जर्मनीका सङ्घीय विदेशमन्त्री डा. योहान डेविड वाडेफुलको तर्फबाट मन्त्री खनाललाई परराष्ट्र मन्त्रीमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना सन्देश हस्तान्तरण गरे ।

भेटका क्रममा दुई देशबिचको दशकौँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने र कूटनीतिक सक्रियतालाई निरन्तरता दिने विषयमा सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ। छलफलका क्रममा नेपाल र जर्मनीबिचको आपसी हित, साझा चासो र द्विपक्षीय सहकार्यका विविध आयामहरूमाथि गहन समीक्षा गरिएको थियो।

नेपालको सामाजिक-आर्थिक विकासमा जर्मनीले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा आर्थिक साझेदारी, पर्यटन र जलवायु परिवर्तनका क्षेत्रमा थप रणनीतिक सहकार्य बढाउने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन्। यस भेटले नेपाल र जर्मनीबिचको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन र आपसी समझदारीलाई अझ प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

1

Scroll to Top