Banijya News

प्रभु बैंक-मर्केन्टाइल अफिस सिस्टमबीच विशेष छुटसम्बन्धी सम्झौता

1
1.0K Shares

नेपालका लागि एसर (Acer) ल्यापटप र एप्सन (Epson) प्रिन्टरको आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रा. लि. र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई विशेष सेवा सुविधा र छुट प्रदान गर्ने सम्बन्धी एक महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस सम्झौताले प्रविधिमा पहुँच बढाउन र बैंकसँग आबद्ध व्यक्तिहरूलाई सुलभ दरमा गुणस्तरीय इलेक्ट्रोनिक्स सामान उपलब्ध गराउने लक्ष्य राखेको छ।

राजधानीमा आयोजित एक औपचारिक कार्यक्रमका बीच मर्केन्टाइल अफिस सिस्टमका तर्फबाट कार्यकारी निर्देशक सुरज क्षेत्री र प्रभु बैंक लिमिटेडका तर्फबाट मार्केटिङ्ग म्यानेजर सबिन शमशेर ज.ब.रा. ले सम्झौता पत्रमा हस्ताक्षर गर्दै यस सहकार्यको शुभारम्भ गरेका हुन । सम्झौता अनुसार अब प्रभु बैंकका कर्मचारीहरूले एसरका अत्याधुनिक ल्यापटप र एप्सनका प्रिन्टरहरूको खरिदमा १८ प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्नेछन्। यसैगरी बैंकका ग्राहक महानुभावहरूलाई लक्षित गर्दै एसर र एप्सनका विभिन्न मोडलका उत्पादनहरूमा न्यूनतम ८ प्रतिशतदेखि अधिकतम १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। यो सुविधाले गर्दा ग्राहकहरूले बजार मूल्यभन्दा सस्तो दरमा विश्वस्तरीय प्रविधिको अनुभव लिन पाउने सुनिश्चित भएको छ।

आर्थिक सहजताका लागि बैंक र मर्केन्टाइलले किस्ताबन्दीको सुविधालाई पनि विशेष जोड दिएका छन्। प्रभु बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले ‘इन्स्टापे’ (Instapay) मार्फत आफूले चाहेको ल्यापटप वा प्रिन्टर सहजै किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्। यो सुविधाले गर्दा एकमुष्ठ रकम भुक्तानी गर्न नसक्ने ग्राहकहरूलाई पनि प्रविधि खरिद गर्न सहज हुनेछ। यी सबै छुट तथा सुविधाहरू नेपालभर रहेका मर्केन्टाइल अफिस सिस्टमका आधिकारिक बिक्री केन्द्रहरूबाट लिन सकिने बैंकले जनाएको छ।

बिश्वास लिन्छौं, विश्वास दिन्छौं भन्ने मूल नाराका साथ बैंकिङ्ग सेवामा सक्रिय प्रभु बैंकले आफ्ना ३६ लाखभन्दा बढी ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ। हाल बैंकले नेपालभर रहेका आफ्ना ३१२ शाखा कार्यालयहरू, २८५ एटीएम र ६८ एक्सटेन्सन काउन्टरहरू मार्फत अत्याधुनिक वित्तीय सेवा पुर्‍याइरहेको छ। यस किसिमको व्यावसायिक सम्झौताले बैंकका ग्राहक र कर्मचारीहरूको प्रविधिसँगको पहुँचलाई अझै बलियो बनाउने र डिजिटल नेपालको अभियानमा समेत इँटा थप्ने विश्वास गरिएको छ।

1

Scroll to Top